Logo
Logo

जस्तो देउवा उस्तै कांग्रेस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ पुस । पार्टी कब्जा गरी आगामी महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले नै विधानविपरीत हर्कत गर्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र कलह चर्किएको छ । सभापति देउवासँगै पार्टीभित्र अनेक गुट चलाइरहेका नेताहरू पनि महाधिवेशनलाई आफ्नो पक्षमा पार्न संघर्षमै उत्रिएका छन् । नेताहरूका गुटगत चलखेल तथा एक अर्कालाई सिध्याउन भइरहेका हानथापले कांग्रेस पार्टी संकटमा पर्दै गएको छ । उसै पनि गत निर्वाचनको परिणामले थलिएको कांग्रेस आन्तरिक कलहका कारण झन कमजोर बनेको छ । कांग्रेसभित्र यतिबेला गैरप्रजातान्त्रिक गतिविधि र छलछाम उत्कर्षमा देखिन्छ । देउवाको असक्षम नेतृत्व तथा अन्य स्वार्थी नेताका कारण लामो राजनीतिक संघर्षको इतिहास बोकेको पार्टी जरैदेखि ढल्ने अवस्थामा पुगेको टिप्पणी निष्ठावान कांग्रेस कार्यकर्ताले गर्न थालेका छन् ।

कांग्रेस अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थाबाट गुज्रन बाध्य भइरहेको छ,’ पौडेल पक्षका एक केन्द्रीय सदस्य भन्छन् । हुन पनि चार वर्षअघिको महाधिवेशनले दिएको म्यान्डेट र विधानमा गरिएको व्यवस्थाअनुसार गर्नुपर्ने कयौँ विभाग गठन हुन सकेका छैनन् ।

आन्तरिक व्यवस्थापन र भागबन्डमा अल्झिँदा कांग्रेसले न महाधिवेशनको क्यालेन्डर बनाउन सकेको छ, न पार्टीको संरचनाको टुंगो लागेको छ । विधानतः आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने भए पनि जसरी हुन्छ महाधिवेशन पर धकेल्न सभापति देउवा लागेको आरोप रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुटले लगाउँदै आएका छन् । पार्टीको महाधिवेशन नै गरिसक्नु पर्ने बेला सभापति देउवाले विभाग गठन र संरचनालाई पूर्णतासमेत दिन सक्नु भएन । त्यसैले कांग्रेस अहिले इतिहासकै सबैभन्दा कमजोर अवस्थाबाट गुज्रन बाध्य भइरहेको छ,’ पौडेल पक्षका एक केन्द्रीय सदस्य भन्छन् । हुन पनि चार वर्षअघिको महाधिवेशनले दिएको म्यान्डेट र विधानमा गरिएको व्यवस्थाअनुसार गर्नुपर्ने कयौँ विभाग गठन हुन सकेका छैनन् । ‘आन्तरिक विवाद समाधान गर्न नसकेपछि हाम्रो पार्टीको केन्द्रीय कार्य समिति बैठक केही दिनदेखि लगातार अनिर्णयको बन्दी बनेको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले दृष्टिसँग भने, ‘पार्टीभित्र विभिन्न खाले स्वार्थी समूह क्रियाशील छन्, तिनकै कारण सिंगो पार्टी सखाप बन्दै गएको छ ।’

भातृ संस्था निष्कृय, संरचना सून्य

पार्टीका महत्वपूर्ण अंग मानिने भातृसंस्थाहरू विघटन भएर निष्कृय अवस्थामा पुगेको वर्षौं भइसकेको छ । केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग नेतृत्वविहीन छन् । कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, परम्परागत जिल्ला समिति र केन्द्रीय समितिकबाहेक अरू संरचना बन्न सकेकै छैन । त्यहाँ पार्टीभित्रको गुटबन्दीको चर्को लडाइँ छ । लडाइँ, क्रियाशील सदस्यता वितरणमा पनि छ । क्रियाशील सदस्यता वितरणको टुंगो पनि अझै लागेको छैन । अघिल्लो वर्षको पुसमा काठमाडौंमै सम्पन्न महासमिति बैठकबाट पार्टीको विधान पारित भए पनि गुटगत कलहले त्यसको कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो समय स्पष्टै रूपमा देउवा एउटा पक्षमा र पौडेल–सिटौला अर्को पक्षमा खुलेरै संघर्षमा उत्रिएका छन् । देउवाले आह्वान गरेको केन्द्रीय कार्य समितिको बैठक पौडेल–सिटौला पक्षबाट लगातार भएको बहिस्कार त्यसैको एउटा उदाहरण हो । आगामी महाधिवेशनलाई लक्षित गरी देउवाले आफू अनुकुल निर्णय गराउने देखेपछि पौडेल–सिटौलाले लगातार बैठक बहिस्कार गरेका हुन् । तत्काल महाधिवेशनको सम्पूर्ण कार्यतालिकासहितको कार्यक्रम सार्वजनिक गरेपछि मात्रै बैठकमा भाग लिने उनीहरूको माग थियो । सुरुका केही दिन देउवाले बेवास्ता गरेर पेल्दै अघि बढ्ने सोच देखाए पनि देउवाले अन्ततः आफूलाई थप असजिलो हुने ठानेर पौडेल पक्षसँग वार्ता र सहमतिको हात अगाडि बढाएका छन् । तर, सिटौला पक्षलाई भने तत्काल देउवाले बेवास्ता गरेका छन् ।

स्वार्थ हावी हुँदा सहमति टाढिँदै

पार्टीभित्र संघर्ष बढ्दै गएपछि सहमतिको प्रयास पनि नभएका होइनन् । देउवा र पौडेललाई एक ठाउँमा ल्याएर सहमति गराउन दुवै पक्षका नेताले पटकपटक प्रयास गरे पनि सफलता मिलेको छैन । पार्टीलाई विधि, प्रक्रिया र पद्धतिका आधारमा चलाउनुपर्ने, सहमतिमा सर्वस्वीकार्य नयाँ नेतृत्व चयन गरी बलियो पार्टी बनाउनुपर्ने भन्दै आन्तरिक कसरत गर्दै आएका नेता अर्जुननरसिंह केसीले पनि पार्टीभित्र सबै विषयमा प्याकेज सहमतिको प्रयासका लागि भूमिका खेलेको बताइन्छ । विवाद समाधानका लागि सोमबार दिउँसोसमेत छलफलको आयोजना गरिएको थियो । तर, यो समाचार तयार पार्दासम्म विवाद मिल्न सकेको छैन । ‘हामी सहमतिको प्रयास गरिरहेका छौँ । सबै विषयमा छलफल चलिरहेको छ । पार्टीलाई बलियो कसरी बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यानकेन्द्रित छ,’ नेता केसीले दृष्टिसँग भने, ‘विधानको पूर्ण कार्यान्वयन, महाधिवेशनको सुनिश्चितता र सुदृढ पार्टी निर्माणको अभिष्ट पूरा गर्न हामी लागिपरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्