Logo
Logo

नक्कली नागरिकतामा मुछिए


- दृष्टि न्युज/संवाददाता


धनगढी, ८ पुस । लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिको कार्यालय सचिवको रुपमा काम गर्दै आइरहेका हरि न्यौपानेको नामले चिनिने दण्डपाणि न्यौपानेको नेपाली नागरिकता नक्कली भएको खुलेको छ । भारतको सिक्किममा जन्मेका हरि नामले चिनिने हाल नेपाली नागरिकतामा दण्डपाणि न्यौपाने उल्लेख गरिएका न्यौपानेलाई नेपाली नागरिकता प्रदान गर्ने कार्यमा लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिका मठाधिस स्वामी देवराज आचार्य (विष्ट)को मुख्य भूमिका रहेको पत्ता लागेको छ ।

न्यौपाने बाल्यकालदेखि नै भारतको सिक्किमबाट आफ्ना दाजु र भाइका साथमा कैलालीको धनगढीमा आएको स्रोतले बताएको छ । न्यौपानेलाई नेपाली नागरिकता प्राप्तिका लागि नेपाली बाबुआमाबाट जन्मिएको तर, आमाबुबा नभएको बेसहारा नेपाली भएको मुचुल्का बनाएर नेपाली नागरिकता प्रदान गरिएको तथ्य फेलापरेको हो ।

न्यौपानेले प्राप्त गरेको नेपाली नागरिकता प्रमाणपत्र ६७–०१–०७–०९४२० रहेको नेपाली नागरिकता २०७०÷११÷१२ गते जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्राप्त गरेको हो । हरि न्यौपाने नामले चिनिने हालको दण्डपाणि न्यौपाने भारतको सिक्किममा आमा कुलमाया न्यौपानेको छोराका रुपमा जन्मिएको बताइन्छ ।

न्यौपानेका चार भाइ रहेको पनि थाहा भएको छ । एक जना भाइ आमा कुलमाया न्यौपानेसँगै सिक्किममा छन् भने दाजु दामोदर न्यौपाने, कान्छो भाइ ओमप्रकाश न्यौपाने हाल नेपालमै रहेको बताइएको छ । स्रोतका अनुसार तीनवटै भाइले नेपालबाट नागरिकता प्राप्त गरिसकेको बताइएको छ । हरि यौपानेको नामले चिनिने दण्डपाणिलाई नेपाली नागरिकता प्रदान गर्दा लक्ष्मीनारायण मन्दिरका मठाधिस देवराज विष्ट (आचार्य) आमाबुबा अर्थात् संरक्षक बनेको तथ्य फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्