
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएको भन्दै केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित ४ जनाले दयर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
हिरासतमा रहेका सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, अतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।
उनीहरुले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । चारै जनाको हकमा यसअघि एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
उक्त प्रकरणको छानबिनको जिम्मा पाएको सीआइबीले पछिल्लो समय १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका मध्ये ३ जना यसअघि अदालतको स्टे अर्डर लिएकाले हाजिरीमा छुटेका छन् । बांकी १४ जना हिरासतमै छन् ।











