
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि गरेको छ ।
आगामी शैक्षिक सत्रमा निजी शैक्षिक संस्थाहरूका लागि सीटीईभीटीले पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट र असिस्टेन्ट फार्मासिस्टको शैक्षिक शुल्क बढाएको हो ।
तीन वर्षे कार्यक्रमका लागि निर्धारित नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्र २०८०/८१ देखि लागु हुने सीटीईभीटीले जनाएको छ ।
पीसीएल नर्सिङतर्फ एक लाख ४९ हजार २३०, एचएतर्फ एक लाख १९ हजार र फार्मेसी तर्फ ८६ हजार ६६० रुपैयाँ शुल्क बढाइएको हो । पीसीएल नर्सिङको यसअघिको शुल्क चार लाख ७५ हजार रहेकोमा अब ६ लाख २४ हजार २३० रुपैयाँ भएको छ ।
त्यस्तै, एचएतर्फ यसअघिको शुल्क चार लाख चारहजार रुपैयाँ रहेकोमा अब पाँच लाख २३ हजार ८ सय २० रुपैयाँ भएको छ । फार्मेसी असिस्टेन्टतर्फ यसअघि तीन लाख ३७ हजार रहेकोमा अब चार लाख २३ हजार ६६० भएको छ ।
तोकिएको शुल्क वर्षैपिच्छे तिर्न पाउने सीटीईभीटीको व्यवस्था छ । जसअनुसार पहिलो वर्षमा ५० प्रतिशत तथा दोस्रो र तेस्रो वर्षमा २५/२५ प्रतिशतका दरले शुल्क भुक्तानी गर्नुपर्छ ।











