Logo
Logo

खेलकुदको दुर्दशा: उधारो पुरस्कारको चाङ्, संकटमा खेलाडी



काठमाडौं । हरेक देशले खेल क्षेत्रलाई प्रतिष्ठाको विषय बनाउँदै आएको छ । र, खेल क्षेत्रमा त्यहीअनुसार लगानी गर्छ । खेल क्षेत्रमा कुन देशले कति लगानी गरेको छ भन्ने मापन खेलाडीको प्रदर्शन र क्षमताले गर्छ ।

तर, नेपालले खेललाई न प्रतिष्ठाको विषय बनाउन सकेको छ, न त यसको विकासका लागि पर्याप्त लगानी नै । परिणामस्वरुप खेलाडी विदेश पलायन हुन बाध्य छन् । यसले खेलकुद क्षेत्रको भविष्यसमेत धराप बन्दै गएको छ ।

केही चर्चित खेलडी विदेश पलायन भइसकेका छन् भने केही आफ्नो भविष्यलाई लिएर चिन्तित् छन् ।

इमर्जिङ टिम्स् एसिया कपमा खेल्न श्रीलंका जान एक दिनअघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले खेलकुदमन्त्री डिगबाहादुर लिम्बूलाई खेलाडीको समस्या सुनाएका थिए । उनले भनेका थिए, ‘फुटबलमा जसरी खेलाडी बाहिर गइरहेका छन्, त्यस्तो नहोस् क्रिकेटमा ।’

गुनासै–गुनासो बोकेर खेलाडीहरू इमर्जिङ टिम्स् एसिया कप श्रीलंका गए । श्रीलंकामा नेपाली टिमको प्रर्दशन कमजोर देखियो । अरु देशका टिम–ए सँग पनि नेपाली सिनियर टोलीले लज्जास्पद हार बेहोर्यो ।

नेपालले पाकिस्तान–ए सँग चार विकेट र भारत–ए सँग ९ विकेटले हार्यो । यद्यपि, यूएई–एलाई भने नेपालले तीन विकेटले पराजित गर्यो । यसमा बिर्सनु नहुने के हो भने यूएईको सिनियर टोली पनि नेपालसँग लगातार हार्दै आएको छ ।

श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले खेल क्षेत्रप्रति गरिएको बेवास्ताले नैराश्यता बढेको बताएको थिए । त्यसको असर खेलमा पनि देखियो ।

खेल क्षेत्र राज्यको प्राथमिकतामा नपर्दा खेलाडीको मनोबलमात्रै घटेको छैन, खेल क्षेत्र त्याग्नेको संख्या पनि बढ्दो छ ।

केही समयअघि जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा नेपालको लक्ष्य कम्तिमा सुपर सिक्स पुग्ने थियो । तर, नेपाल छनोट खेलको समूह चरणबाटै बाहिरिन पुग्यो ।

यससँगै सन् २०१४ को टि–२० विश्वकप प्रतियोगितामा सहभागी बनेको नेपालका लागि दोस्रोपटक विश्वस्तरीय प्रतियोगितामा खेल्ने सपना टुट्यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको पाँच वर्ष हुँदा समेत नेपालको खेल जस्ताको तस्तै छ । एकदिवसीयमा मात्र होइन, टि–२० मा पनि नेपालको ब्याटिङ भरपर्दो छैन ।

महिला क्रिकेट पनि बिजोग

केही समय अघिमात्रै एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएको नेपाली महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरियो । लगातार २ खेल बर्षाका कारण स्थगित भएपछि नेपाल अभागी साबित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

नेपाल र हङकङबीचको खेल पानीका कारण रद्द भएको थियो । त्यस्तै, भारत ‘ए’सँगको खेल पनि बर्षाकै कारण रद्द भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको थियो ।

फुटबल पनि खस्कियो

यो वर्षको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो । साविक उपविजेता रहेको नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित हुँदा दोस्रो खेलमा भारतसँग २–० ले पराजित भयो । अन्तिम खेलअगावै बाहिरिँदा साफ फुटबलको उपाधि चुम्ने नेपालको सपना अधुरै रह्यो ।

दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता १४औँ संस्करणसम्म आइपुग्दा नेपालले एकपटक पनि उपाधि उचाल्न सकेको छैन । यसपटक उपाधि जित्न नसकेपनि साबिकको उपाधि रक्षा गर्नुपर्ने हो । तर, समूह चरण नै पार गर्न सकेन ।

यसअघि राष्ट्रिय टोलीबाट फुटबल खेलेका अधिकांश खेलाडी विदेश पलायन हुनुको प्रत्यक्ष असर यो पटकको प्रतियोगितामा देखियो ।

गत माघमा बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामै सीमित भयो । फाइनलमा नेपाल आयोजक बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

खेलाडी विदेश पलायन

अव्यवस्थित र अस्थिर घरेलु फुटबल संरचनाकै कारण खेलाडीले आफ्नो पेशा नै परिवर्तन गर्न थालेका छन् । राष्ट्रिय टिमबाट खेल्दाखेल्दै धेरै खेलाडी विदेश पलायन भए । ए डिभिजन लिग खेलिरहेका कतिपय खेलाडीहरू समेत खेल छोडेर विदेश उडिसकेका छन् ।

खेलमा आफ्नो भविष्य देखेका खेलाडीहरू विदेश पलायन भएका हुन् । कोही उज्ज्वल भविष्यको खोजीमा, कोही आफ्नो आधारभूत आवश्यकता पूरा गर्न खेलाडीहरू बाहिरिरहेका छन् ।

सुजल श्रेष्ठ, रन्जित धिमाल, तेज तामाङ, विशाल राई, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा, अभिषेक रिजाल, सुमन अर्याल, विमल राना, हेमन्त थापा मगर, सन्जोक राई, विवेक बस्नेत, रञ्जन विष्ट फुटबल छोडेर विदेशिकेका छन् ।

त्यस्तै, जगजित श्रेष्ठ, एलन न्यौपाने, बिमल बस्नेत, हेमन गुरुङ, अमिर श्रेष्ठ, शिव गुरुङ, नवीन गुरुङ, निरज बस्नेत, मिक्चेन तामाङ, रोहित कार्की, राजन गुरुङ, सूर्य अधिकारी, राजेन्द्र रावल, दिलेन लोक्ताम, प्रविन सैंजु, रोशन खड्का र गानदिप खड्का पनि बाहिरिएका छन् ।

भलिबलमा पनि उस्तै

क्रिकेट र फुटबलतर्फ मात्र होइन, राष्ट्रिय खेल भलिबलतर्फ पनि नेपालको प्रदर्शन दयनीय छ । किर्गिजस्तानमा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)मा नेपालले हारैहार व्यहोरेको छ । समूह चरणको सबै खेल हारेको नेपाली पुरुष भलिबलका लागि यो प्रतियोगिता सहभागितामा मात्रै सीमित रह्यो ।

बलियो मानिएको महिला भलिबलमा पनि यो पटक निराशा देखियो । गत जेठमा नेपालमै भएको काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको थियो ।

यसअघि शक्तिशाली राष्ट्रलाई सहजै पराजित गर्ने नेपाली टोली घरेलु मैदानमै काजकिस्तानसँग स्तब्ध बन्यो । लगातार दुईपटक उपाधि जितेको नेपाल यसपटक फाइनलसम्म पनि पुग्न सकेन ।

सम्बन्धित निकाय गैरजिम्मेवार

कुनै समय क्रिकेट होस् वा फुटबल, नेपालसँग प्रतिस्पर्धा गर्ने टोलीहरू विश्वकपको यात्रा गरिसकेका छन् । तर, नेपालमा भने सम्बन्धित निकायले चासो नदिँदा खेलको स्तर बढ्नुपर्नेमा झनै खस्कँदै गएको छ ।

नेपाली फुटबलको नियामक र संरक्षक बन्नुपर्ने एन्फा, नेपाल क्रिकेट संघ (क्यान)देखि सम्बन्धित खेल संघले यसमा जिम्मेवार भएको देखिँदैन ।

पदाधिकारी छनोटदेखि खेलाडी चयनमा राजनीति, आर्थिक र नीतिगत भ्रष्ट्राचार, गैह्रजिम्मेवारीपनका कारण खेल क्षेत्र लथालिंग बनेको छ । सम्बन्धित संघ, राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयकै नेतृत्वमा राजनीति मौलाउँदा खेलको महत्व बुझेका पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।

अझ खेल क्षेत्रको अभिभावक बन्नुपर्ने सरकारले यसको विकासलाई प्राथामिकतामा दिएको देखिँदैन । जसले गर्दा नेपालको खेलकुद निरन्तर ओरालो लागिरहेको छ ।

पुरस्कारको घोषणा हुन्छ तर पाउँदैन

गत चैत २ यूएईविरुद्ध जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले पुरुष राष्ट्रिय टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे । उक्त पुरस्कार घोषणाको चार महिना पुग्न लाग्यो, तर खेलाडीले पाएका छैनन् ।

त्यतिमात्रै होइन, प्रदेश सरकारहरूले घोषणा गरेका पुरस्कारसमेत खेलाडी पाएका छैनन् । त्यतिबेला बागमती, सुदूरपश्चिम, मधेश, लुम्बिनी र गण्डकी प्रदेश सरकारले खेलाडीहरूलाई पुरस्कार दिने घोषणा गरेका थिए ।

गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एशिया कपमा छनोट हुने क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको थियो । यो पुरस्कार पनि खेलाडीले पाएका छैनन् । नेपाली क्रिकेट खेलाडीले पाँच महिनाअघि जितेको त्रिदेशीय क्रिकेट शृँखलाको पुरस्कारसमेत पाएका छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशन सिंहका अनुसार विश्वकप लिग–२ को समयमा ३ सिरिज, यू–१९ टोली विश्वकपमा छनोट, महिला टोलीले मलेसियासँगको सिरिज जित्दा र नेपाली पुरुष टोलीले एसीसी प्रिमियर लिगको च्याम्पियन बन्दा पाउनुपर्ने रकम हालसम्म पाएको छैन ।

खेलकुदमन्त्री लिम्बू हौसिएर पुरस्कार घोषणा गर्ने तर प्रक्रियामा नलाग्ने हुँदा थिति बिग्रिएको बताउँछन् । सोमबारको बिदाइ कार्यक्रममा मन्त्री लिम्बूले खेलाडीको जवाफ दिनुभन्दा उल्टै प्रश्न गरेका थिए । उनले भने, ‘जितेको बेलामा नेता साथीहरू मन्त्री र प्रधानमन्त्री हौसिएर दिउँ न भनेर घोषणा गर्दारहेछ । मन त ठूलो हो, तर घोषणा गरेको रकम खै त ?’

श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहितले तोकिएको पुरस्कार नपाउँदा आफूहरू निराश भएको बताए । उनले भने, ‘पुरस्कार तोकिएको हो, तर हालसम्म पाएका छैनौँ, मन्त्रीज्यूसँग कुरा भएको छ । सायद छिट्टै हुन्छ होला ।’

बजेट घट्यो

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले बजेट विनियोजन गर्दा सबैभन्दा उपेक्षामा खेलकुद क्षेत्र परेको छ । आगामी आर्थिक वर्ष खेलकूदका लागि करिब ३८ करोडले बजेट घटाइएको छ ।

आ.व २०८०/८१ मा सरकारले खेलकुद मन्त्रालयका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब ३८ करोड कम हो । आ.व २०७९–८० मा ३ अर्ब २५ करोड २५ लाख विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षमा खेलकुद मन्त्रालयका कुनैपनि योजनाले ५० लाखभन्दा माथि बजेट पाएको छैन । बहुप्रतिक्षित मानिएको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सरकारले मात्र १ लाख रुपैयाँ बजेट छुट्टयाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आफैँले सरकारले पूर्ण रुपमा निर्माण गर्ने बचन दिएको उक्त रंगशालाका लागि विनियोजित भएको रकमले खेल क्षेत्रमा सरकारको प्राथामिकता कति छ भन्ने स्पष्ट हुन्छ ।

उपेक्षामा मन्त्रालय

गत निर्वाचनदेखि झण्डै ५ महिना खेलकुद मन्त्रालय नेतृत्वविहीन बन्यो । कुनैपनि दलले खेलकुद मन्त्रालयमा चासो राखेनन् । सरकारले पूर्णता पाउँदा बाध्य भएर कांग्रेसका डिगबहादुर लिम्बू खेलकुदमन्त्री बने ।

भौतिक संरचनादेखि खेल संघको नेतृत्व र नियामक निकाय नेपाल खेलकुद परिषददेखि खेलकुद मन्त्रालयमा राजनीतिक नियुक्ती तथा भ्रष्टाचारको शृँखला खेलकुद क्षेत्रको विकासका लागिमुख्य वाद्यक देखिएको छ । जबसम्म यसमा परिवर्तन आउँदैन, नेपाली खेलकुद टोली कुनैपनि प्रतियोगिताको समूह चरणबाटै बाहिरिरहन्छ । र, विश्वस्तरमा नेपालको सहभागिता एकादेशको कथा बनिरहन्छ ।

मन्त्रीलाई छैन समान्य ज्ञान

गत मंगलबार युनिलिभरले राष्ट्रिय महिला टिमलाई मुख्य प्रयोजन गर्ने सम्झौता गरेको थियो । सम्झौता कार्यक्रममा प्रमुख अतिथि थिए, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा त्यसको भोलिपल्ट (बुधबार)देखि अस्ट्रेलिया न्युजिल्याण्डमा हुने महिला फिफा विश्वकपका लागि नेपाली महिला फुटबल टिमलाई शुभकामना थिए ।

नेपाली महिला फुटबलको अवस्था के छ र अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको खेल के हो भन्ने जानकारी नभएको विभागीयमन्त्री कार्यक्रममा हाँसोको पात्र बने ।

विश्वकप छनोट खेलको पहिलो चरणबाटै नेपाल बाहिरिएको थियो । तर, त्यसबारे खेलकुदमन्त्रीले सामान्य ज्ञानसमेत नराख्दा उनी मजाकको पात्र बनेका हुन् । यसले पनि खेलकुद क्षेत्रमा सरकारको कति प्राथमिकता छ भन्ने पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस्