
झापा, १६ पुस । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को बुधबार उद्घाटन गरिएको छ ।
नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए ।
मेचीनगर पर्यटन समितिको आयोजनामा काँकडभिट्टामा गरिएको कार्यक्रममा भारतका विभिन्न स्थान जाने गाडीमा नेपालका पर्यटकीयस्थलहरुका बारेमा जानकारी समेटिएको ब्यानर टाँसिएको थियो । नाका क्षेत्रमा नेपाली झण्डा राखेर सजाइएको छ ।
कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । पूर्वी नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिनका लागि काँकडभिट्टादेखि चारआलीसम्मका क्षेत्रमा होर्डिङबोर्डहरु राखिएको छ ।











