काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको बताएका हुन् ।

शुक्रवार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उहाँले सो मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो समेत गरे ।
उपकुलपति बाँस्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरूले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गरे । उनले विश्वविद्यालय राजनीतिक भागबन्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्याउनु भयो ।
उपकुलपति बाँस्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरूलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।














