Logo
Logo

‘इरिटेड’ बनाउने स्टन्ट




नेपालको राजनीतिमा ‘स्टन्ट’ अर्थात ‘नौटंकी’ खुब चल्छ । देश र जनता राजनीतिक दलको खातामा छैन, गातामा मात्रै छ । खाता परिवारवाद, आसेपासेवाद र आफन्तवादले भरिएको छ । अहिलेका लागि उदाहरण प्रधानमन्त्री प्रचण्डलाई मानौं । अरु नेता पनि त्यही ड्याङका मूला हुन् ।

त्यसैले जनताले राजनीतिलाई ‘छ्या’ भनिरहेका छन् । नेपालमा राजनीतिको नाम ‘फोहोरी खेल’ सुरु भएको वर्षौँ भयो । अहिले अत्यन्तै घिनलाग्दो भएको छ । ठूला भ्रष्टाचार काण्डमा नेताको संलग्नता ! सुन तस्करीमा नेता ! नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर बेच्ने नेता !

नारा– सुशासन, विकास र समृद्धिको । काम– भ्रष्टाचार र तस्करीको ! आफ्नो आदर्श र सिद्धान्त मःमसँगै खाइसके । सत्ता हत्याउनेबाहेक भोलिको योजना कुनै पार्टीसँग छैन ।

गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय भयो । जसले निर्वाचनअघि ‘नो नट अगेन’को अभियान चलाएको थियो । ‘नो नट अगेन’को आक्रोश र भावसँग धेरै युवा सहमत भए । तर, निर्वाचनपछि सत्ताका लागि तीनै नेताहरूको पाऊ समाउन पुगे । यससँगै ‘जुनै जोगी आएपनि कानै चिरेको’ भन्ने उखानलाई रास्वपाले एकपटक मलजल गरेको छ ।

उग्रराष्ट्रवादको स्टन्टले जनता इरिटेट भइसके । रास्वपाको स्टन्ट ‘खाए खाँ, नखाए घिच’ भन्ने खालको छ । सस्तो बेसाहाले पखाला लाग्छ, रास्वपाको स्टन्ट त्यस्तै छ । फन्डा रास्वपाको उत्तम विकल्प बनेको छ । तर, स्टन्टकै भरमा जनताको मन जित्ने कुरा दिवास्वप्ना मात्र हुनेछ ।

उदाउँदै गर्दा रास्वपालाई जनताले ‘हुने बिरुवाको चिल्लो पात’ भन्न भ्याए । तर, अहिले रास्वपा ‘स्टन्ट’ गर्नमै मस्त भएको छ । स्टन्टका लागि रास्वपालाई अरु दलले भेट्न नसक्ने देखिन्छ ।

वैकल्पिक राजनीतिक दलको रुपमा हेरिएको रास्वपा र तिनका नेताहरूमा अरुभन्दा फरक प्रवृत्ति देखिँदैन । किनकि, चुनावदेखि यहाँसम्म आइपुग्दा रास्वपासँग मुलुकलाई पार लगाउने र समृद्धिको ढोका खोल्न सक्ने कुनै योजना र कार्यक्रम छैन । बेमौसमी फन्डा र बेहुर्मतमात्रै देखिन्छ । रास्वपाको सिद्धान्त नै फन्डा भएको छ । फन्डैफन्डामा देशको चौँथो दल बनेको रास्वपा फन्डामै सबैभन्दा ठूलो पार्टी बन्ने दाउपेच गरिरहेको छ ।

भनिन्छ, ‘नयाँ जोगीले बढी खरानी घस्छ’ यो उक्ति रास्वपामा चरितार्थ भएको पाइन्छ । रास्वपा नयाँ दल हो, त्यसैले उसलाई ‘स्टन्ट’ चाहिएको छ । पछिल्लो उदाहरण हो– विदेशमा रहेका युवालाई स्वदेशमा रोजगारी, ‘ब्लू बस’ र मोबाइल क्लिनिक ।

उग्रराष्ट्रवादको ‘स्टन्ट’ले जनता ‘इरिटेट’ भइसकेका छन् । तर, रास्वपाको ‘स्टन्ट’ ‘खाए खाँ, नखाए घिच’ भन्ने खालको छ । भनिन्छ– सस्तो बेसाहाले पखाला लाग्छ । रास्वपाको ‘स्टन्ट’ त्यस्तै छ । रविका मित्र पत्रकार प्रेम बानियाँले ‘चिपेष्ट नानो कार’को उदाहरण दिँदै रास्वपाको ‘स्टन्ट’लाई यस्तै टिप्पणी गरेका छन् ।

बानियाँले सोसल मिडियामा लेखेका छन्– टाटा मोटर्सले सन् २००८ जनवरी १० मा संसारकै सस्तो भनेर एउटा कार लन्च ग¥यो, नानो कार । स्कुटर वा मोटरसाइकल चढिरहेका मध्यम तथा निम्न वर्गीय परिवारलाई कारमा अपग्रेड गराउने उद्देश्यसहित आएको यो कार यति चर्चित भयो । केही समय यसको विकल्प नै छैन भन्ने देखियो । यो कारको मूल्य १५ सय देखि ३ हजार डलर थियो । तर, दुई वर्षमै समय यस्तो भइदियो कि नानो कार चढ्नेहरूको इज्जत नै ‘सस्तोवाला’ भइदियो । नानो कार चढ्ने परिवारलाई समाजले हेर्ने दृष्टिकोण नै ‘चिपेष्टवाला’ भइदियो । र, नौ सय दिन बित्न नपाउँदै नानोको बजार चकनाचुर भयो ! टाटा मोटर्सको विरासतकै बेइज्जत ग¥यो । त्यसैले चर्चित र चिपेष्ट केही समय मात्र टिक्छ ।’

हुन त रविका आफ्नै बाध्यता छन् । काम गरेर देखाऊँ, ठाउँमा छैनन् । चुप लागेर बसौँ, ‘भाइरल म्यान’को लत बसेको छ । सदनमा खरो रुपमा उत्रिँदा, प्रक्रिया नै नपुग्ने । अरुको विरोध गर्दा आफैँ खुइलिने ! त्यसैले नयाँ दल, नयाँ फन्डा रास्वपाको अहिलेको उत्तम विकल्प हो ।

दोस्रोपटक सांसद निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा अघिल्लो मंगलबार रविले एक सय जनालाई रोजगारी व्यवस्था गरेको घोषणा गरे । उनले सामाजिक सञ्जालमार्फत आह्वान नै गरे । तर, रविको उक्त आह्वानलाई ‘स्टन्ट’ भन्दै आलोचना भयो । अहिले रविले ‘अर्को लेभलको स्टन्ट गरेको’ आलोचना भइरहेको छ ।

दैनिक सयौँ नेपाली अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेर विदेशिरहेका छन् । परीक्षा सकिएपछि यादस्वरूप विद्यार्थीले सर्टमा ‘खाँडीमा भेटौला’ भनेर लेखिरहेका छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

सरदर दैनिक दुई हजार भन्दा बढी वैधानिक च्यानलबाट वैदेशिक रोजगारमा जान्छन् । ६० लाख युवा वैदेशिक रोजगारमा भएको बताइन्छ । एक सयको कोटामा एक हजार जनामात्रै आएमा बाँकीले के गर्ने ?

रास्वपाका सभापति रविले खुलाएको ‘भ्याकेन्सी’ विदेशबाट फर्किन चाहनेहरूका लागि भनिएको छ । त्यसो हो भने पहिला विदेश जानैप¥यो । अनि मात्र आवेदनका लागि योग्य हुने ! गाउँमा गाईभैँसीको मही फालेर कोक खाएजस्तो !

विदेशमा रहेकालाई बोलाउनुभन्दा यहाँ भएका बेरोजगारीलाई रोजगारी दिनु उत्तम होइन र ? देश परिवर्तन गर्छु भनेर राजनीतिमा उदाएका दलले यस्तो लोकप्रियता भन्दा पनि रोजगारीको दीर्घकालीन उपाय खोज्नु उत्तम होइन र ?

रवि सांसद निर्वाचित जिल्ला चितवनका किसान कहिले कुखुरा, कहिले अण्डा, कहिले दुध त कहिले तरकारीले उचित बजार नपाएर सडकमा फालिरहेका छन् । त्यसलाई बजारीकरण गर्नेबारे रविले अहिलेसम्म चासो किन दिएनन् ? तिनै किसानका लागि बजार व्यवस्थापनका लागि पहल गरिदिए हुन्थ्यो नि ।

उद्योगधन्दा भएको व्यक्तिले रोजगारी दिन्छु भन्नु स्वाभाविक हो । राजनीतिक दलले प्रचारबाजीका लागि ‘रोजगारी दिन्छु’ भन्नुको अर्थ के हो ? रविको जागिर लगाइदिने काम र अन्य नेताले गरेको कार्यकर्ता भर्तीमा के फरक छ ?

सय दिन पुगेकै अवसरमा रविले ‘ब्लू बस’ र ‘मोबाइल क्लिनिक’ सञ्चालनमा ल्याए । त्यो पनि विवादित छ । कानुन बनाउने थलोमा पुगेका रविले कानुनकै उल्लंघन गरेका छन् । उनले कानुनी प्रक्रिया नै पूरा नगरी सवारीको रंग फेरेका छन् । तीव्र आलोचना भएपछि उक्त रंग परिवर्तन गरिएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्न बाध्य भयो । यस्तै, बस सञ्चालन गर्नलाई एउटा नेताले आयस्रोत खुलाउनुपर्छ कि पर्दैन ?

यो ‘पुरानो बोतलमा नयाँ रक्सी’ भनेजस्तै भएन र ? चाहेभन्दा बढी ‘स्टन्ट’कै कारण वैकल्पिक राजनीतिक शक्तिको रुपमा मानिएको रास्वपाको बाटो बन्द हुँदै गएको छ । रविको फनडाले ‘देश खाएर शेष भएका’ भनिएकाहरूको पनि चिन्तन जनताको आँखामा ‘फेक पपुलर’ देखिने बाहेक अरु होइन भन्ने प्रष्ट हुँदैछ । साथै, रास्वपा वैकल्पिक राजनीति होइन, ‘पानीको फोका’ जस्तै हुँदै गएको छ ।

राजनीतिमा ‘स्टन्ट’ पूरानो भइसक्यो । ‘अरूभन्दा हामी फरक छौँ’ भन्दै ‘नेक्स्ट लेबल’को स्टन्ट देखाएर अहिलेको जमानामा भ्रम चिर्न मुश्किल छ । ‘स्टन्ट’कै भरमा जनताको मन जित्ने दिवास्वप्ना जसले देख्छ, उ सकिँदैछ भनेर बुझनलाई गाह्रो छैन ।

प्रतिक्रिया दिनुहोस्