Logo
Logo
कला

‘लेखेरै मज्जाले जीवन चलाउन सकिन्छ’



गीतकार जया ओझा । एक दशकअघिसम्म जयाको परिचय यतिमै काफी थियो । तर, दिन, महिना र वर्षसँगै उनको परिचय पनि बढ्दैगयो । आजकल उनी गीतकारसँगै साहित्यकार, फिल्म लेखक र अधिवक्ताका रुपमा चिनिन्छन् । प्राध्यापकसमेत रहेकी जयाको हालैमात्र ‘रुमानी’ उपन्यास सार्वजनिक भएको छ । जुन उनको तेस्रो उपन्यास हो । यसअघि जयाले ‘आवरण’ र ‘अनुराग’ उपन्यासकृति पाठकको हातमा पुगिसकेको थियो ।

नुवाकोट विदूरकी जया ०६३ सालदेखि नियमित लेखनमा छिन् । प्रेम, विद्रोह, संघर्षका विषयमा कलम चलाउँदै आएकी जयाले २०६३ मा ‘कदम’ नामक गीति एल्बम ल्याएकी थिइन् । त्यहीँबाट औपचारिकरुपमा साहित्य तथा गीति लेखनमा कदम चालेकी जयाका एक सयभन्दा बढी गीत रेर्कड भइसकेको छ । जया नाटक पनि लेख्छिन् । सानैदेखि गीत लेखनमा रुची राख्दै आएकी जया भन्छिन्- लेख्न पाएँ भने मलाई केही चाहिँदैन ।’ साहित्यकार, प्राध्यापक तथा अधिवक्ता जया ओझासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज दिनचर्या कसरी बितिरहेको छ ?
लेख्ने, साथीहरुसँग भेटघाट गर्ने, कलेजमा अध्यापन र गराउने र बेला बेला अदालत जाने । यसरी नै दिनहरु वितेको थाहै नहुने रहेछ ।

अदालतचाहिँ केका लागि जानुहुन्छ ?
अधिवक्ता भएकाले अकालत गर्न जान्छु । अहिले पनि केही सम्बन्धविच्छेदका केशहरु हेरिरहेकी छु । मैले वकालत गर्न थालेदेखि बढीजसो सम्बन्धविच्छेदका केशहरु बढी हेरेकी छु ।

हिजोआज के लेख्दै हुनुहुन्छ ?
गजल बढी लेख्छु । पछिल्लो समय गीतचाहिँ लेखेकी छैन । र, मेरो केही दिनअघिमात्र नयाँ उपन्यास ‘रुमानी’ सार्वजनिक भएको छ । केही सिरियलहरु पनि लेखिरहेकी छु ।

गीत लेख्न किन छोड्नुभयो ?
२०७२ सालको भूकम्पदेखि मैले गीत लेखेकी छैन । ०७२ सालमा भूकम्प गएको दिन बिहान एउटा गीत लेखेकी थिएँ । त्यसयता अहिलेसम्म गीत लेखेकी छैन किनकि भूकम्पछि मेरो मन बैचेन भयो । भूकम्पले घर भत्कियो, सँगै मेरो मन पनि भत्कियो । त्यो समय झण्डै डिप्रेशनमा गएँ । र, फिल्म र लेखन क्षेत्र नै छोड्ने मनशायले त्यतिखेर टियु आयोगमा फर्म भरेकी थिएँ । त्यसैबेला एन्टेना फाउण्डेशनले देशव्यापी नाटक लेखन प्रतियोगिताका लागि आह्वान गरेको थियो । केही साथीको करले मैले उक्त नाटक लेखनमा सहभागी भएँ । ‘खुला आकाश’ शीर्षकको दुई मिनेटको नाटक टप पाँचमा पर्न सफल भयो । एन्टेना फाउण्डेशनले पैसा पनि राम्रो दियो । त्यसपछि लेखेर पनि बाँच्न सकिने रहेछ भन्ने लागेर टियु आयोगमा परीक्षा दिन छाडेर पुनः लेखनमै फर्किए । तर, गीतचाहिँ त्यसयता लेखेकी छैन ।

अहिले कस्तो लागिरहेको छ, लेखेर बाँच्न सकिने रहेछ ?
मज्जाले सकिन्छ । तर, फिल्म मात्र लेखेरचाहिँ बाँच्न सकिन्न किनकि फिल्म लेख्दा कतिपयले पैसा नै दिँदैन । साहित्य अर्थात गीत गजल, नाटक लेखेर बाँच्न सकिने अवस्था छ । संस्थागत रुपमा लेखनमा आवद्ध हुन सकियो भने राम्रो हुन्छ ।

अहिलेसम्म कति नाटक र फिल्म लेख्नुभयो ?
अहिलेसम्म आठ वटा नाटक लेखेकी छु । पहिलोपटक २०६१ सालमै ‘उ सहिद होइन रे’ रेडियो नाटक लेखेकी थिएँ । त्यो जनयुद्धकालीन कथा थियो । त्यसपछि महिला बेचबिखनविरुद्धको कथामा ‘चमेलीको पुकार’लगायतका नाटक लेखेँ । हालैमात्र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको भ्रुणहत्या सम्बन्धी नाटक प्रतियोगितामा म प्रथम भएँ । फिल्मचाहिँ ‘कबज’, ‘ब्रास्लेट’ र ‘माई लव’ मात्र हो । रिलिज नभएको फिल्मको त के कुरा गर्नु ।

फिल्म वा नाटक लेख्दा पात्र चयन कसरी गर्नुहुन्छ ?
कथाको अवस्था हेरेर पात्र चयन गर्छु । फिल्म होस् वा नाटक समाजमै घटिरहेका घटनमा आधारित हुन्छ । तर, समाजमा घटेका र घटिरहेका सत्य घटनालाई फूलबुट्टा भर्नुपर्ने हुन्छ । विषयवस्तु सानो भएपनि काल्पनिक पात्र चयन गर्छु किनकि सत्य घटनालाई जस्ताको तस्तै लेखियो भने त्यो समाचार जस्तो बन्छ । फिल्म वा नाटक भनेको मनोरञ्जन पनि हो । जसमा मनोरञ्जनसँगै सन्देश पनि हुनुपर्छ ।

गीत तथा साहित्य लेखनमा कसरी प्रभावित हुनुभयो ?
सानैदेखि मलाई गीत लेखनमा रुची जागेको हो । स्कले जीवनमा रेडियो सुन्थेँ । रेडियोमा गीत र गीतिकथाहरु सुन्थेँ । रेडियोमा फरमाइस गरी गरी नाटक र गीत सुन्थे । त्यतिबेलैदेखि गीत लेख्न थालेकी हुँ ।

पहिलो गीत कहिले रेकर्ड गर्नुभएको थियो ?
२०६१ सालमा रेकर्ड भएको थियो । गायिका शर्मिला गुरुङले ‘माइती’ नामक अफ्नो तीज एल्बमका लागि मेरो गीत गाउनुभएको थियो । त्यो गीत पनि मैले दिएको होइन, कसैमार्फत उहाँले मेरो गीत पाउनुभएछ । शर्मिला दिदीलाई त अहिलेसम्म भेटेकी नै छैन । त्यो एल्बमचाहिँ मलाई हात परेको थियो । अहिले पनि म सँग छ ।

तपाइँको पहिलो गीति एल्बम कुन हो ?
‘कदम’ हो । २०६३ सालमा उक्त एल्बम ल्याएकी हुँ । जुन एल्बममा १० वटा गीत र गजल समावेश गरेकी थिए । त्यो समयमा ‘कदम’का गीत तथा गजललाई श्रोता दर्शकले रुचाएका पनि थिए । जसले मलाई गीत लेखनमा हौसल र प्रेरणा मिल्यो ।

गीत गजल वा फिल्म लेखनमध्ये तपाइँको प्राथमिकता कुनलाई हो ?
साहित्यका प्राय सबै विधामा कलम चलाउँछु । उपन्यास पनि लेख्छु । तर, पछिल्लो समय फिल्म लेखनलाई प्राथमिकता दिएकी छु । जसमा टेलिसियलहरु पनि पर्छन् । अहिले कविता र गीतबाहेक साहित्यका सबै विधामा कलम चलाउँदै आएकी छु ।

लेखनसँगै अध्यापन र वकालत पनि गर्नुहुन्छ । समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
अहिलेसम्म व्यवस्थापन गरिरहेकी छु । मैले घर परिवारलाई समय दिएको छैन । मेरो पूरा समय लेखन, अध्यापन र वकालत नै हो । चार वटा कलेजमा अध्यापन गराउँछु । लेख्न पाएपछि मलाई अरु केही चाहिँदैन ।

प्रतिक्रिया दिनुहोस्