Logo
Logo

मान्छे मान्छेजस्तै बनौं !




मृत्यु उन्मुख अवस्थामा बीच सडकमै लम्पसार परेका छन्, एक युवा । उनी उठ्न सक्दैनन्, एक टकले हेरिरहन्छन् । छेउमै एउटा कालो झोला छ, झोलाभित्र छ, बाँच्ने आशा । उनी घरिघरि झोलातिर हेर्छन् । तर, आशाको पोका खोल्ने उनीसँग तागत छैन ।
   
उनलाई एक हुल मानिसले रमिता हेरिरहेका छन् । उनीहरू तस्बिर र भिडियो खिच्न मस्त छन् । र, घेरिरहेका छन्, गिद्धले सिनो कुरेजस्तै ! तर, उनीसँग ‘हा’ भनेर धपाउने न शक्ति छ, न त किनारा लाग्न खुट्टा नै चल्छ । उनी यति निरीह हुन्छन्, उनीसँग मृत्यु कुर्नुबाहेक अरु विकल्प समाप्त भइरहेको छ ।

मृत्युसँग अन्तिम लडाइँ लडिरहेका उनलाई पछाडिको भीडले पटकपटक मारेर हेरिरहेका हुन्छन् रमिता । जीवनको भीख मागिरहँदा गुञ्जिन्छ हाँसोको अट्टहास । कानमा एकोहोरो शंख बज्न थालिसक्यो । तर, ब्युँतिन सकेका छैनन्, उनी ।

यो कुनै फिल्म वा नाटकको दृश्य होइन, गत मंगलबार यस्तै हृदयविदारक दृश्य देखियो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ स्थित १६ किलोमा बस र मोटरसाइकल आपसमा ठोकियो । उक्त दुर्घटनामा दोलखा बैतेश्वर गाउँपालिका–७ का २३ वर्षीय विश्वराज श्रेष्ठ गम्भीर घाइते भए । 

यहाँ घाटमा उत्सव मनाउनेको कमी छैन । घाटमा शवसँगै बारम्बार जलिरहेको छ– मानवीयता । त्यसमा हामी घिउ थपिरहेका छौँ । उच्च शिक्षा हासिल त गर्यौँ । तर, पल्टाएनौँ मानवताको पाठ । मान्छेले मान्छेप्रति गर्ने व्यवहार, सद्भाव, दयामाया र कर्तव्य भुलिसक्यौँ ।

विश्वराजको खुट्टाबाट सडक नै रगताम्ये हुनेगरी रगत बगिरहेको थियो । सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरे । तर, त्यो भीडले सुनेन । त्यो भीड यतिसम्म निर्दयी थियो कि, कोही कसैले उनलाई बचाउने प्रयाससम्म गरेनन् ।

विश्वराज जीवनको अन्तिम अवस्थामा थिए । उनी नजिकै एक हुल मानिस थिए । तर, कसैले साथ दिएनन् । उल्टै सर्कसको जोकरजस्तो बनेर पीडामा छटपटिरहेका थिए । उनको छटपटीलाई रमितेहरूले स्मार्ट फोनमा कैद गरिरहे । 

स्थानीयका अनुसार घटनास्थलमा प्रहरी ढिला पुग्यो । उद्धारमा ढिलाइ हुँदा अस्पताल पुर्याउन नपाउँदै विश्वराजले प्राण त्यागे । रोजगारीका लागि फ्रान्स जाने कागजात बोकेर काठमाडौं हिँडेका विश्वराजको सपना त्यही विलय भयो । यदि, मानवीय सहयोग पाएको भए उनी बाँच्ने थिए । र, फ्रान्स जाने उनको सपना साकार हुन्थ्यो ।
 
सबैलाई थाहा छ– मृत्यु शाश्वत सत्य हो । र, यो पनि सबैलाई थाहा छ कि मृत्यु स्वीकार गर्न साह्रै कठिन हुन्छ । बाँच्ने रहर कसलाई हुँदैन र ? इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहलाई पनि बाँच्ने रहर थियो । 

पत्थरको मुटु भएको मान्छे भनेर कतै गाली गरिएको सुनेको थिएँ । यसपटक भने देख्न पाइयो । विश्वराज पीडामा छटपटाइरहँदा सेल्फीमा रमाइरहेका त्यो भीडमा सायद त्यस्तै मानिस थिए । र, लाग्थ्यो, यहाँ मानवता भन्ने चिज मरिसक्यो । 
 
पछिल्लो समय सबैका हातहातमा स्मार्ट फोन पुगेको छ । र, जे सुकैको होस्, जहाँसुकैको होस्, भिडियो/फोटो खिच्नैपर्ने संस्कार बसेको छ । मद्दत गर्ने संस्कार मरिसक्यो । प्रविधि आफैँमा खराब भने हुँदैन । यसको प्रयोग कसरी गरिन्छ, त्यहीअनुसार यसको प्रभाव देखिने हो ।

विश्वराज पछिल्लो एक प्रतिनिधि पात्र हुन् । यहाँ घाटमा उत्सव मनाउनेको कमी छैन । घाटमा शवसँगै बारम्बार जलिरहेको छ– मानवीयता । हामी त्यसमा घिउ थपिरहन्छौँ । पढेर उच्च शिक्षा हासिल त गर्याैँ । तर, पल्टाएनौँ मानवताको पाठ । टाउको बिनाको शरीर जत्ति नै भीमकाय भएपनि काम हुँदैन । त्यस्तै भएको छ हाम्रो शिक्षा ।

मानवले मानवप्रति गर्ने व्यवहार, सद्भाव, दयामाया साथै कर्तव्य भुलिरहेका छौं । अरुलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने बिर्सिरहेका छौँ । महँगो स्मार्ट फोन किन्यौँ । तर, कौडीको भाउमा बेच्दै छौँ मानवीयता । फालिदियौँ– दयामाया र भावना । कसैको मृत्युको छटपटी दुनियाँलाई देखाउने मनोरञ्जन जस्तै भइरहेको छ ।

मलामी जाँदा होस् या किरिया बस्दा नै किन नहोस्, आफूभित्र मृत्युको अस्तित्वलाई बोध गर्दैनौँ । हामीमा हार्दिकता मरिसक्यो । यो आधुनिकतासँगै सहयोगी मनलाई पत्थर बनाउँदै छौँ । आफूलाई नपरेसम्म पटक्कै संवेदनशील नहुने प्रवृत्ति जसरी झाँगिदैछ । त्यो मानिस विवेकशून्य बन्दैछ भन्ने संकेत हो ।

संसार जसरी विकासोन्मुख छ । मानिसहरू चन्द्रमा बस्ती बसाल्ने बहसमा पुगेका छन् । तर, यो उत्तरआधुनिकता यति निर्दही बन्दै गएको छ कि मानिसले मानिसको दुःख, पीडा नबुझ्ने हुन थालेको छ । मान्छेमान्छे बीचको असमानताले समाजलाई अधोगतितिर धकेलिरहेको छ । जसले दुनियाँमा मानवीयता सङ्कटमा पर्दै गएको छ । यसरी नै दुनियाँ मानवतारहित बन्यो भने भोलिका दिनमा अवस्था कस्तो आउला ? त्यो परिकल्पना गर्नुस् त ?

यहाँ दिनहुँजसो भेदभाव, हिंसा, अत्याचार, भ्रष्टाचारलगायत अमानवीय कर्मले छोप्दै गएको छ । भन्नलाई हामी मानिस ‘सर्वश्रेष्ठ प्राणी हौँ’ तर, हामी ‘नीच’ बन्दै गएका छौँ । मानवप्रति गरिने व्यवहार, सद्भाव दयामाया साथै कर्तव्य भुलिसक्यौँ । मान्छेले मान्छे चिन्न छाड्यौँ । सोच र नैतिकता पतन भइसक्यो । विवेक शून्य भएको छ ।
 
भोक, शोक, रोग र निद्रा सबैलाई लाग्छ । सबै प्राणीले जन्मेर एकदिन मर्नैपर्छ । तर, सर्वश्रेष्ठ प्राणी हामी नै निकृष्ट हुन थालेका छौँ । अर्काको पीडामा उत्सव मनाउन थालेका छौँ । मान्छे अरू प्राणीभन्दा भिन्न हुनुपर्ने होइन र ? बरु, पशुले आफ्नो चेतना गुमाएर धर्म, कर्म भुलेको छैन । मान्छे पशुभन्दा पनि नीच भइसक्यो । पछुतो, पीडा, छटपटी, बेचैन, अशान्ति यी कुनै कुरा पनि अनुभूत हुँदैनन् ? 


स्मार्ट मान्छेको नैतिकता र संवेदना स्मार्टफोनले दुषित बनाइरहेको छ । फोटो/भिडियोसँगै हाम्रा अमानवीय व्यवहार कैद गरिरहेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जाल आपतविपतमा सहयोग माग्ने राम्रो प्लेटफर्म बनेको छ । तर, असामाजिक बन्नाले यसले समाजमा नकारात्मक असर गरिरहेको छ । अहिलेको आवश्यकता भने मान्छेले मान्छेजस्तै बन्नु हो, अर्थात मान्छेले मानवीयता बचाउनुपर्छ । संसार जोगाउने मूलमन्त्र पनि मानवीयता नै हो ।

प्रतिक्रिया दिनुहोस्