Logo
Logo

नेपाली समाजको वर्गीय संरचना र प्रधान अन्तर्विरोध


माधवकुमार नेपाल


समाजको ऐतिहासिक विकासक्रमका चरणको हिसावले नेपाली समाज २०६२–६३ को जनक्रान्तिबाट पूँजीवादी चरणमा प्रवेश गरेको छ । त्यसैले वर्तमान नेपाली समाज आधारभूत रूपमा पूँजीवादी चरित्रको समाज हो । यो वर्गीय समाज हो । तर, यहाँ वर्गीय विभेद मात्र होइन जातीय विभेद पनि चर्को रूपमा रहेको छ ।

यहाँ वर्गभित्र जात र जातभित्र वर्ग रहेको अवस्था छ । एउटै वर्गभित्र जातीय विभेद छ भने जातभित्र वर्गीय विभेद छ । यहाँ आर्थिक विभेद मात्र होइन सामाजिक र सांस्कृतिक विभेद पनि छ । लैङ्गिक, भाषिक र धार्मिक विभेद समेत छ ।

समाज पूँजीवादी चरणमा प्रवेश गरेको भएता पनि यहाँ लामो समयसम्म रहेको सामन्तवादका आर्थिक, सामाजिक र सांस्कृतिक अवशेषहरू अझै बाँकी छन् । त्यसैले वर्तमान नेपाली समाजमा पूँजीवादी शोषण उत्पीडन मात्र होइन त्यस पूँजीवादी शोषण उत्पीडनको जालोभित्र शामन्ती शोषण उत्पीडनका अवशेषहरू समेत जोडिएर रहेका छन् ।

मुलुकमा औद्योगिक पूँजी र राष्ट्रिय उद्योग व्यवसायको विकास राम्ररी हुनसकेको छैन । राष्ट्रिय पूँजीको विकास कमजोर अवस्थामा रहेको छ । केही समय यता वित्तीय पूँजी र व्यापारिक पूँजीको विकास व्यापक रूपमा भइरहेको छ । गैर बैंकिङ्ग क्षेत्रको ऋण प्रवाहको स्थिति पनि ठूलै मात्रामा रहेको छ । कृषि क्षेत्रमा भने अझै पनि परम्परागत निर्वाहमुखी उत्पादन पद्धति र श्रमको प्रचलन ठूलो मात्रामा विद्यमान छ ।

लाखौंको संख्यामा भूमिहिन तथा गरिब किसानहरू छन् । क्रान्तिकारी भुमिसुधार अहिलेसम्म हुन सकेको छैन । दर्ता नभएको तर बसोवास गर्दै आएको जमिन ठूलो मात्रामा रहेको छ । त्यस्ता जमिनमाथिको स्वामित्व सम्बन्धित बसोबासी तथा जोताहा किसानलाई प्रदान गर्ने काम हुनसकेको छैन । जमिनमाथिको स्वामित्व र वितरणको खाडल अझ विद्यमान नै रहेको छ । समाजमा रहेका सबैखाले विभेदहरू समूल रूपमा नष्ट गर्नुपर्ने आश्यकता छ ।

क्रान्ति समाज बदल्ने महाअभियान भएकाले समाजको चरित्र जस्तो छ, क्रान्ति पनि त्यस्तै चरित्रको हुन्छ । वर्तमान नेपाली समाज पूँजीवादी चरित्रको हुनाले यसलाई बदल्न गरिने क्रान्तिको चरित्र समाजवादी हुन्छ । समाजवादी क्रान्तिको प्रधान शत्रु दलाल नोकरशाही पूजीपति वर्ग हो भने यस क्रान्तिको नेतृत्वदायी एवं मुख्य बाहक शक्ति सर्वहारा श्रमजीवी वर्ग हो ।

श्रमजीवी किसान वर्ग समाजवादी क्रान्तिको अर्को मुख्य बाहक शक्ति हो । यस बाहेक शहरीय गरिब, निम्नपूँजीपति वर्ग र अन्य पेशा, व्यवसाय र तहका जनता यस क्रान्तिका भरोसा योग्य सहयोगी शक्ति हुन् । राष्ट्रिय पूँजीपति वर्ग, मध्यम पूँजीपति वर्ग, धनी किसान तथा देशभक्त, लोकतान्त्रिक व्यक्ति तथा समुह यस क्रान्तिका अस्थिर चरित्रका मित्र शक्ति हुन् ।

विश्व कम्युनिष्ट आन्दोलन, समाजवादी आन्दोलन, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलन, लोकप्रिय जनवादी आन्दोलन, पर्यावरण, शान्ति र मानव अधिकारवादी आन्दोलन समाजवादी क्रान्तिका मित्र शक्ति हुन् ।

नेपाली समाज ऐतिहासिक विकासक्रमको हिसावले सामन्तवादी चरणबाट पूजीवादी चरणमा प्रवेश गरेको हुनाले यसको वर्गबनौट वा वर्गीय संरचनामा परिवर्तन हुनु स्वभाविक हो । वर्तमान नेपाली समाजको वर्गबनौट र वर्गीय संरचनाको अवस्थालाई हेर्दा शहरमा दलाल नोकरशाही पूँजीपति वर्ग, राष्ट्रिय पूँजीपति वर्ग, मध्यम तथा निम्नमध्यम पूँजीपति वर्ग, शहरीया गरिब वर्ग र श्रमजीवी मजदुर वर्गहरू छन् भने ग्रामिण क्षेत्रमा धनी किसान, मध्यम तथा निम्नमध्यम किसान र गरिब किसान तथा भूमिहिन ज्यालादारी श्रमजीवी वर्ग रहेका छन् । यी सवै वर्गहरूका बिचमा विभिन्न प्रकारका अन्तर्विरोधहरू कायम छन् ।

दलाल नोकरशाही पूँजीपति वर्ग र राष्ट्रिय पूँजीपति वर्गबीच, दलाल नोकरशाही पूँजीपति वर्ग र श्रमजीवी मजदुर वर्गबीच, धनी किसान वर्ग र मध्यम किसानबीच, धनी किसान वर्ग र भूमिहिन गरिब किसान तथा ज्यालादारी श्रमजीवी वर्गहरूबीच अन्तर्विरोधहरू व्याप्त छन् । यी सबै अन्तर्विरोधहरूमध्ये दलाल नोकरशाही पूँजीपति वर्ग र आम श्रमजीवी वर्गबीचको अन्तर्विरोध वर्तमान नेपाली समाजको आधारभूत अन्तर्विरोध हो ।

नेपाल एक स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न मुलुक हो । यो विश्व समाजको अभिन्न अङ्ग पनि हो । यो वाह्य जगतसँग पनि जोडिएको छ । यसका वाह्य सम्बन्ध पनि छन् । यहाँ वाह्य एवं वैदेशिक लगानी पनि छ । वाह्य शक्तिहरूसँगका सम्बन्ध र अन्तर्विरोधहरू पनि छन् । ती सम्बन्ध र अन्तर्विरोधहरू मित्रतापूर्ण मात्र होइन शत्रुतापूर्ण पनि छन् ।

विश्व साम्राज्यवाद नेपाली समाजको स्वतन्त्र विकास र समाजवादी क्रान्तिको वाधक भएको हुनाले यससँग नेपाल राष्ट्रको अन्तर्विरोध आधारभूत अन्तर्विरोध हो । त्यसैगरी प्रभुत्ववाद पनि नेपाली समाजको स्वतन्त्र विकास र समाजवादी क्रान्तिको वाधक भएको हुनाले यससँग नेपाल राष्ट्रको अन्तर्विरोध पनि आधारभूत अन्तर्विरोध नै हो ।

माथि चर्चा गरिएका आधारभूत अन्तर्विरोधमध्ये दलाल नोकरशाही पूँजीपति वर्ग र आम नेपाली श्रमजीवी वर्गबीचको अन्तर्विरोध आन्तरिक आधारभूत अन्तर्विरोध हो भने साम्राज्यवाद र प्रभूत्ववादसँगका अन्तर्विरोध वाह्य आधार भूत अन्तर्विरोधहरू हुन् । यी तीन प्रकारका आधारभूत अन्तर्विरोधमध्ये वाह्य अन्तर्विरोध प्रधान रहेको अवस्था अहिले होइन । त्यसैले आन्तरिक आधार भूत अन्तर्विरोध अर्थात दलाल नोकरशाही पूँजीपति वर्ग र आम नेपाली जनताबिचको अन्तर्विरोध वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध हो ।

यतिबेला नेपाली समाजमा व्याप्त शोषण उत्पीडनको मूल रूप दलाल नोकरशाही पूँजीवादी शोषण उत्पीडन भएको हुनाले पनि दलाल नोकरशाही पूँजीपति वर्ग र आम नेपाली जनताबिचको अन्तर्विरोध नै वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध हो ।

दलाल नोकरशाही पूँजीपति वर्गको हितमा काम गर्ने प्रतिनिधि कुनै एउटा राजनीतिक दलमा मात्र नभएर विभिन्न दल र सङ्गठनमा हुन सक्छन् । यसका अनेक गुट अनेक दलमा हुन सक्छन् । त्यसैले कुनै एउटा राजनीतिक दललाई दलाल नोकरशाही पूँजीपति वर्गको राजनीतिक प्रतिनिधि घोषणा गर्नु र उक्त राजनीतिक दलसँग आम नेपाली जनताको अन्तर्विरोध वर्तमान नेपाली समाजको प्रधान राजनीतिक अन्तर्विरोध हो भन्नु उपयुक्त हुँदैन ।

प्रधान अन्तर्विरोधको सवाल रणनीतिक सवाल मात्र नभएर कार्यनीतिक सवाल समेत हो । यो क्रान्तिको चालु अवस्थामा प्रहारको निशानासँग सम्बन्धित सवाल हो । हाम्रो अहिलेको कार्यनीति जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक– सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने हो । यस कार्यमा वाधक बन्ने राजनीतिक तत्व नै यतिबेला प्रहारको प्रमुख निशाना हो ।

यतिबेला एकातिर नेपाली समाजलाई अग्रगमन तथा प्रगतिशील दिशामा अघि बढाउन प्रयत्न भईरहेको छ भने अर्कोतिर पश्चगमन तथा प्रतिगमनतर्फ धकेल्न खोज्ने प्रवृत्तिले शीर उठाउने खतरा पनि छ । त्यसैले अहिले जनता, राष्ट्र र लोकतन्त्र विरोधी नीति र कामहरू जनताको सङ्घर्षका प्रमुख निशाना हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी राजनीतिक तत्व एवं शक्ति र वर्तमान नेपाली समाजलाई समाजवादतर्फ अगाडि बढाउन चाहने आम नेपाली जनताबिचको अन्तर्विरोध वर्तमान नेपाली समाजको प्रधान राजनीतिक अन्तर्विरोध हो ।

प्रधान अन्तर्विरोधको सवाल क्रान्तिको तात्कालिक मुख्य कार्यभारसँग पनि सम्बन्धित सवाल हो । आजको मुख्य कार्यभार संविधानको रक्षा र विकास गर्दै समाजवादी रूपान्तरणको आधार तयार गर्नु हो । यस कार्यभारको अवधिभर दलाल नोकरशाही पुँजीवादसँग नेपाली जनताको अन्तर्विरोध प्रधान रहन्छ । राजनीतिक रूपमा दलाल पुँजीवाद विभिन्न राजनीतिक पार्टी, समूह वा प्रवृत्तिका पुनरुत्थानवादी, दक्षिणपन्थी, अवसरवादी नीति र प्रवृत्तिहरूमा प्रकट हुन्छ ।

मुलुकका नयाँ वा पूराना सबै पार्टीहरूसँग हाम्रो सम्बन्ध दलाल पुँजीवादबारे उनीहरूको दृष्टिकोणमा भरपर्छ । कतिपयले मुलुकको समाजवादी रूपान्तरणको कुरा गर्छन् तर जनक्रान्तिका उपलब्धी, वर्तमान संविधानको रक्षा र विकासप्रति उनीहरूको दृष्टिकोण गलत छ भने कतिपयले संविधानको रक्षा र विकासको पक्षमा आफुलाई उभ्याएका छन् तर मुलुककको समाजवादी रूपान्तरणप्रति नकारात्मक दृष्टिकोण राख्छन् । त्यस्तै कतिपय ती दुवै विषयमा नकारात्मक वा अस्पष्ट छन् ।

नेकपा (एकीकृत समाजवादी) संविधानको रक्षा, निकास र समाजवादी रूपान्तरणका मुद्दाहरूमा ती राजनीतिक दलहरूका दृष्टिकोण अनुसार एकता र सङ्घर्षको सम्बन्ध राख्दछ ।

(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको जारी छैटौं बैठक (२०८० भाद्र ५– ७) मा अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको अंश)

प्रतिक्रिया दिनुहोस्