Logo
Logo

संविधानको रक्षा गर्न चार दलीय मोर्चा : अध्यक्ष नेपाल

मधेस प्रदेशस्तरीय मोर्चा घोषणा


1.2k
Shares

वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र संकटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको बताएका छन् ।

समाजवादी मोर्चाद्वारा वीरगञ्जमा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्धि मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उल्लेख गरे ।

मोर्चाका अध्यक्षसमेत रहेका अध्यक्ष नेपालले भने, ‘अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौँ ।’ देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गरे । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै उनले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताए । बलिदानीबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उनले सङ्घीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताए ।

मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको गुनासो उल्लेख गर्दै उहाँले समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको दाबी गरे । मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको जिकिर गर्दै अध्यक्ष यादवले मधेसमा सञ्चालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको बताए ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपाली विशेषतायुक्त समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यका साथ मोर्चा बनाएको बताउँदै दलाल पुँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको दाबी गरे ।

नेपालको मौलिकता र संस्कृतिमाथि भूमण्डलीकृत साम्राज्यवादी शक्तिहरुबाट हमला भइरहेको जिकिर गर्दै उहाँले मुलुकलाई सङ्कटबाट मुक्ति दिलाउन र जनताको चाहना, इच्छा पूरा गर्न आफूहरुले मोर्चा बनाएको चर्चा ग्रे ।

कार्यक्रममा जसपाका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सङ्घीयताको कार्यान्वयन भए पनि प्रदेश सरकारले अझै संविधान प्रदत्त अधिकार पाउन नसकेको गुनासो गर्दै तत्काल प्रदेश सरकारलाई संविधाले दिएको अधिकार हस्तान्तरण गर्नुपर्ने बताउ ।

मधेस प्रदेशस्तरीय मोर्चा घोषणा
समाजवादी मोर्चाले आज मधेस प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ । मोर्चाद्वारा वीरगञ्जमा शुक्रबा् आयोजित सन्देशसभामा मोर्चामा आबद्ध चारवटै दलबाट तीन÷तीन जना रहने गरी १२ सदस्यीय मधेस प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो ।

मोर्चामा माओवादी केन्द्रबाट लिलामणि पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, एकीकृत समाजवादीबाट धर्मनाथ साह, रामचन्द्र झा र सुधिर साह, जनता समाजवादी पार्टीबाट लालबाबु राउत, शैलेन्द्रप्रसाद साह र हरिनारायण यादव र नेकपाबाट सुदर्सन सिंह, विनोद सिंह र रामकुमारी सिंहलाई राखिएको छ ।

प्रदेशस्तरीय मोर्चाको संयोजक छ÷छ महिनामा फेरिने र पहिलो कार्यकालका लागि प्रदेश संयोजकको जिम्मा जसपालाई दिइएको माओवादी केन्द्रका नेता प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्