Logo
Logo

प्रदेश ३ को नाम र राजधानीबारे दुई प्रस्ताव


- दृष्टि न्युज/संवाददाता


हेटौंडा, २६ पुस । प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता भएको छ । शनिबार प्रदेशको नामका लागि एक र प्रदेश राजधानीका लागि दुई प्रस्ताव दर्ता भएको हो ।
प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार समय तोकेकोे थियो । प्रदेशको नाम ‘बागमती’ राख्ने सबै दलका सांसद सहमत भएका छन् ।
‘प्रदेश ३ को नाम बागमती राखियोस्’ भनी नेपाली कांग्रेसका ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाको प्रस्तावमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझाका रमेश पौडेल र शोभा शाक्य समर्थक गरेका छन् । उक्त नाममा नेमकिपाले पनि समर्थन जनाएको छ ।
त्यस्तै, प्रदेश राजधानीका लागि दुईवटा प्रस्ताव दर्ता भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा र विवेकशील साझाका सांसद रमेश पौडेलले धुलिखेललाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेका छन् । मुख्यमन्त्री डोरमणिको प्रस्तावमा इन्द्रबहादुर बाँनिया, रिता माझी र रिना गुरुङले समर्थन जनाएका भने रमेशको प्रस्तावमा सांसद शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहेको छ ।
सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन् ।
यसअघि राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहहरु मतभेद थियो । पार्टी केन्द्रको लबिङ र तीब्र दबावपछि आइतबार बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले हेटौंडालाई प्रदेश राजधानी बनाउन सहमति जुटाएको थियो । दर्ता भएका प्रस्तावमाथि छलफल गरेर प्रदेशको नाम र राजधानीबारे निर्णय गरिने नेकपामा एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्