Logo
Logo

प्रदेश-३ को राजधानी हेटौंडा घोषणा, नाम ‘बागमती’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ पुस । अन्ततः प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा नै भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ ।
सभामुख सानुकुमार श्रेष्ठका अनुसार सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतका प्रस्ताव पास गरेको हो ।
यसअघि प्रदशे ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल कायम गर्ने प्रस्ताव आएको थियो, जसमा ३ मत प्राप्त भएको छ । साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले धुलिखेलका पक्षमा मतदान गरेका थिए । काभ्रेको विपक्षमा १०१ मत परेको थियो । प्रदेशसभामा ११० सांसद छन् ।
घ नम्बर प्रदेशको स्थायी राजधानीका लागि शनिबार २ वटा प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको हो ।
यसअघि नेकपाभित्र असहमतिका कारण दुई वर्षदेखि प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेको थिएन । प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र सांसद छन् ।
यस्तै, प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको छ ।
बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन् ।
स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रदेश ३ को राजधानी मकवानपुर, काभ्रे, भक्तपुर, चितवन र नुवाकोट उपयुक्त रहेको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्