Logo
Logo

सबैका धर्म र संस्कृति स्वीकारौँ



‘म हिन्दू हुँ तर म गाईको मासु खान्छु । यसो गर्दा के म कम धार्मिक हुन्छु ?’ यो प्रश्न हो, बलिउडका चर्चित अभिनेता ऋषि कपुरको । केही वर्षअघि भारतको महाराष्ट्रमा गाई मार्न र गाईको मासु खान प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमार्फत उनले सो प्रश्न गरेका थिए ।

उनको आशय थियो– कुनैपनि व्यक्तिको खानेकुरा प्रतिको इच्छालाई धर्मसँग जोड्न हुँदैन । सो अभिव्यक्तिपछि उनको चर्को आलोचना भयो । त्यसबेला फरहान अख्तर, आयुष्मान खुराना, ऋचा चड्ढा लगायतका कलाकारले पनि गाईको मासुमा लगाएको प्रतिबन्धको विरोध गरेका थिए ।

२०७६ सालको दशैँका बेला सरकारले स्वच्छ र स्वस्थ मासु भन्दै गाईको फोटोसहितको पोस्टर सार्वजनिक ग¥यो । खसी, बंगुर, भेडा, बाख्रा र माछासँगै गाईलाई पनि पोस्टरमा राखिएको थियो । त्यसबेला सरकारको व्यापक आलोचना भएको थियो ।

२०७४ सालमा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भनेको समाचार बाहिरिएको थियो । त्यसबेला उनको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भयो । त्यसपछि आफूले यस्तो कुरा बोल्दै नबोलेको भन्दै उनले स्पष्टीकरण दिएका थिइन् ।

गाईको मासु खान पाउन पर्छ र खानु हुँदैन भन्ने विषय बारम्बार उठ्दै आएको छ । अहिले पनि यसले व्यापक चर्चा पाएको छ । सामाजिक सञ्जाल यही विषयले भरिएको छ । कसैले मासु खान पाउनुपर्छ भन्दै रोइलो गरिरहेका छन् । गौमाताको मासु खायो भनेर कसैको आक्रोश छ । गाईको मासु खानेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

जात, धर्म र संस्कारका नाममा एकअर्कामा लड्नु राम्रो होइन । सबै धर्म र संस्कारलाई संरक्षण गर्नु राज्यको दायित्व हो । यसप्रति राज्य गम्भीर हुनैपर्छ । धार्मिक अराजकताले विनाश मात्र गर्छ । त्यसैले धर्म र जातका नाममा नलडौँ । यो, देश बहुजातीय, बहुधार्मिक तथा बहुसंस्कृतिको फूलबारी हो भन्ने हेक्का राखौँ ।

गाईको मासु खान पाउनुपर्छ र खानु हँदैन भन्ने विवाद यतिसम्म चर्किएको छ कि यो विषयलाई धार्मिक एवं जातीय मुद्दासँग जोड्न थालिएको छ । धरानमा गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि यो बहसको विषय बनेको हो ।

हुन त संसारमा मान्छेले नखाएको जनावर सायदै होला । कुकर, बिरालो, भ्यागुतो र मुसादेखि सर्पसम्म खाने गरेका छन् । तीमध्ये सबैभन्दा बढी युरोप अमेरिकातिर गोरुकै मासु खाने बताइन्छ । जनसंख्याको तुलनामा हेर्ने हो भने नेपाल र भारतमा गाईगोरुको मासु कम खाने गरेको तथ्यांकहरुमा पाइन्छ ।

नेपाल र भारतमा गाईगोरुको मासु कम खानुको मुख्य कारण, धर्म हो । हिन्दूले गाईलाई गौमाताका रुपमा लिन्छन् । अर्थात् ‘आमा’ ठान्छन् । त्यसैले गाईको मासु खानु आमाको मासु खानु सरह मान्छन् ।

नेपाल हिन्दू राज्य हुँदा पनि कसै–कसैले लुकिछिपी गाईको मासु खान्थे । तर, हिन्दू धर्मावलम्बीले गाई काट्नेलाई कारबाही गर्नुपर्ने अडान छाडेका छैनन् । गाई राष्ट्रिय जनावर भएको र संविधानमै गाई काट्नु अपराध भन्ने उल्लेख भएको उनीहरुले बताउँदै आएका छन् ।

तर, केही आदिवासी जनजातीले भने गाईलाई राष्ट्रिय जनावर अस्वीकार गर्दै आएका छन् । राष्ट्रिय जनावर फेरेर सबैलाई मान्य हुने जनावर बनाउनुपर्ने माग बारम्बार उठ्ने गरेको छ । हिन्दू धर्मकै कारण गाईलाई राष्ट्रिय जनावर बनाएको उनीहरूको ठहर छ । यस समुदायले गाईलाई निरंकुश शासकको प्रतीकको रुपमा समेत लिने गरेका छन् ।

धरानमा गोरुको मासु खाएपछि समाज तरंगित भएको छ । यही भदौ ९ गते हिन्दू धर्मावलम्बीले धरानमा सद्भाव ¥याली निकाल्ने घोषण गरेका थिए । तर, त्यसको प्रतिकारमा अर्को पक्ष उत्रने भएपछि धरानमा निषेधाज्ञा लगाइएको थियो ।

निषेधाज्ञा लगाएपछि हिन्दू धर्मावलम्बीले इटहरीमा ¥याली निकालेका थिए । तर, सद्भाव ¥याली उत्तेजित थियो । उनीहरूले ‘धरान सिध्याउन एक मिनेट लाग्दैन’ भन्नेजस्ता अराजक नारा लगाएका थिए ।

अहिले गाईलाई माता मान्ने हिन्दू र गाईको मासु खानेले एकअर्कालाई स्वीकार गर्न तयार छैनन् । यस्तो हठले सहअस्तित्वलाई निषेध गर्छ । पछिल्लो स्थितिलाई नियाल्दा समाजिक सदभाव बिथोल्थे सम्भावना बढेको छ ।

किरात राई भित्रका केही समुदायले पितृलाई गाईगोरुको मासु अनिवार्य चढाउनु पर्दछ । मर्दा गाईगोरुको हड्डी अनिवार्य चाहिन्छ । त्यस्तै लिम्बू समुदायमा पनि केही पूजामा अनिवार्य गोरुको बलि दिएर टाउको राख्ने प्रचलन थियो । तर, राज्यले गोरु काट्न नदिएपछि प्रतिकात्मक रुपमा राँगाको टाउको राख्ने गरेको छ ।

हाम्रो समाज परापूर्वकालदेखि मिलेर बसेको समाज हो । एउटा धर्मभित्रको मात्र कुरा होइन, हिन्दूका हरेक चाडमा अरु समुदायले पनि मनाउने चलन छ । हिन्दू धर्मालम्बीहरु पनि अरुको पर्वमा रमाउने गरेका छन् । यस्तो समाजमा बसेका हामी मासुको विषयमा लडेको पटक्कै शोभनीय हुँदैन ।

हरेक गाउँमा गाईगोरुको मासु खाने समुदाय होलान् । उसले लुकेर खाला । तर, खुलमखुल्ला चोकमा गाईगोरु ढाल्न सक्दैन किनकि, उ सामाजिक सद्भाव खल्बल्याउन चाहँदैन ।

सुँगुरको मासु नखाने र मासुमाथि कडा प्रतिबन्ध लगाएका मुस्लिम देशहरूले समेत अरू समुदायको लागि मासु खाने अधिकार दिएको छ । तर, धार्मिक सहिष्णुता नखल्बलियोस् भनेर सुँगुर खानेहरूले प्रचार गर्दैनन् ।

धर्मनिरपेक्ष देशमा कुनै धर्मलाई सानो वा ठूलो बनाइराख्न जरुरी छैन । अरूको धर्ममा आँच आउने गरी बोल्नु पनि ठिक होइन । समाजमा बसेपछि एकअर्काको संस्कारलाई स्वीकार गर्नुपर्छ । हरेकले अर्काको इज्जत गर्न सकियो भने समाज मिलेरै बस्नेछ ।

जात, धर्म र संस्कारका नाममा आफू आफूँ लड्नु राम्रो होइन । सबै धर्म र संस्कारलाई संरक्षण गर्नु राज्यको दायित्व हो । तर, एउटाको रक्षाका नाममा अर्काको विनाश पनि गर्न पाइँदैन । यसप्रति राज्य गम्भीर हुनुपर्छ ।

राजनीतिक, धार्मिक अराजकताले कसैलाई फाइदा हुन्न । जसले विनास मात्र गर्छ । त्यसैले धर्म र जातका नाममा एकाआपसमा नलडौँ । बहुजातीय, बहुधार्मिक तथा बुहसांस्कृतिकले सम्पन्न फूलबारी हो, यो देश भन्ने हेक्का राखौँ ।

प्रतिक्रिया दिनुहोस्