
काठमाडौं । नेपाल महिला चेम्वरले महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘टे«ड शो तीज स्पेशल २०२३’ को आयोजना गरेको छ । नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन तथा महिलाहरुमा उद्यमीशीलताको बिकाश गर्ने हेतुले शनिबार उक्त मेलाको आयोजना गरिएको हो ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मेलाको उद्घाटन गर्दै नेपाल महिला चेम्वर महिलाहरुको सर्वागिंण बिकाशको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको बिकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे ।
महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउँदै उनले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्वरलाइ धन्यबाद व्यक्त गरे । सो अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
नेपाल महिला चेम्वरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिए ।














