Logo
Logo

चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ : प्रधानमन्त्री


945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा विश्वास व्यक्त गरेका छन् । आइतबार बिहान आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू सहभागी थिए । नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

भ्रमण सफल बनाउन आवश्यक गृहकार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ । प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।’

सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसङ्घको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै उनले भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्