Logo
Logo

निरंकुशता उन्मुख हर्कका हरकतहरू



प्रश्न सुरुवात हो । र, अन्त्य पनि । यदि, प्रश्नै गर्न नपाउने हो भने ढुंगा र मान्छेमा के फरक ? जब, कसैले ‘तिम्रो नाम के हो ?’ भनेर प्रश्न गर्छन्, त्यसपछि मात्रै एकअर्कामा चिनजान हुन्छ । हरेक कुराको सुरुवात प्रश्नबाटै हुन्छ ।

प्रश्न निचोड पनि हो । कयौँ प्रश्नको उत्तरले मात्रै निष्कर्ष निस्किन्छ । प्रश्न योग्यता जाँच्ने एक विधि पनि हो । प्रश्नको हल कसले कसरी गर्छन् ? त्यो उनको योग्यता भरपर्छ । सर आइज्याक न्युटनले ‘स्याउ बोटबाट किन भुइँमै खस्छ’ भन्ने प्रश्न आफैंलाई नसोधेको भए के गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लाग्थ्यो ?

तर, शासकका लागि भने प्रश्न ‘हाउगुजी’ बन्न थालेको छ । उनीहरू प्रश्नबाट सधै भाग्ने प्रयत्न गरिरहेका हुन्छन् । कसैले प्रश्न गरेको मन पर्दैन । गत शनिबारमात्रै प्रश्न गर्दा धरान उपमहानगरपालिका–१५ का अशोक लिम्बू थुनिए ।

धरान डेँगुको हटस्पट बनेको छ । सम्बन्धित निकायले चासो नलिँदा प्रत्येक घरमा डेँगुका बिरामी छन् । अस्पताल भरिभराउ छ । यो वर्षमात्र धरानमा डेँगुबाट ११ जनाको मृत्यु भइसकेको छ । २४ हजारभन्दा बढी संक्रमित छन् । डेँगुले महामारीको रुप लिएको छ ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङ डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानमा छन् । खानेपानीको लागि भौतिरहँदा डेंगु नियन्त्रणमा उनले ध्यान बेलैमा जान सकेन । डेँगुको हटस्पट बनेपछि चलाएको अभियान प्रभावकारी हुन सकेन । उपमहानगरले निःशुल्क परीक्षण गरेको छ । तर, उपचारको सेवा दिन सकेको छैन । निम्न आय भएकाले उपचार पाएका छैनन् । यसै विषयमा मेयर साम्पाङलाई प्रश्न गर्दा अशोक प्रहरी हिरासत पुगे ।

हर्क साम्पाङ झण्डै एक दशकसम्म सामाजिक अभियन्ता थिए । त्यसबेला उनले जवाफदेही निकायलाई कडा प्रश्न गर्थे । तर, मेयर बनेपछि उनी प्रश्न सुन्न नसक्ने भए । आफूलाई प्रश्न गर्नेहरुलाई थुन्न थालेका छन् । हर्कका हर्कतहरू निरंकुशतातर्फ उन्मुख छ ।

साम्पाङ झण्डै एक दशकसम्म सामाजिक अभियन्ता थिए । त्यसबेला उनले जवाफदेही निकायलाई कडा प्रश्न गर्थे । तर, मेयर बनेपछि उनी प्रश्न सुन्न नसक्ने भए । आफूलाई प्रश्न गर्नेहरुलाई थुन्न थालेका छन् ।

शुक्रबार साँझ लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै मेयर साम्पाङको टोली माइक बोकेर धरान–१५ पुगेको थियो । सोही क्रममा अशोकले ‘मान्छे डेँगुले बिरामी छ तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने ?’ भन्दै प्रश्न गरेका थिए ।

अशोकको त्यो प्रश्न साम्पाङलाई पचेन । त्यसपछि उनले अशोकलाई पक्राउ गर्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रहरीले उनलाई पक्राउ गरी शुक्रबार साँझ इलाका प्रहरी कार्यालय पु¥यायो । अशोकलाई एकदिन हिरासतमा राखेर रिहा गरियो । अशोकमाथि अराजकता फैलाएको मेयर साम्पाङको आरोप छ ।

प्रश्न गर्दा अराजक हुने भए सबैभन्दा बढी अराजक मेयर साम्पाङ नै हुन् । उनले अशोकको भन्दा कडा प्रश्न निरन्तर १० वर्षदेखि गर्दै आएका छन् । प्रश्न गर्दा गर्दै उनी जवाफ दिने ठाउँमा पुगेका हुन । सायद साम्पाङलाई पनि यी कुरा मनन होला ।

जनप्रतिनिधि शासक होइन, नागरिकका सेवक हुन् । यो बुझ्न अति आवश्यक छ । जनताको भोटबाट मेयर बनेपछि ठूलो मान्छे भइयो भन्ने साम्पाङले भूल्नु हुँदैन । दलबाट चुनिएका जनप्रतिनिधि शासक बनेकै करण धरानले यसपटक स्वतन्त्रलाई चुनेका हुन् । यसको पनि साम्पाङले हेक्का राख्नुपर्छ ।

शासक बन्दैमा नगरको रूपान्तरण र विकास हुने होइन । यसले उल्टै दुर्घटना र विद्रोह निम्ताउँछ । त्यसैले शासकभन्दा सेवकका रुपमा प्रस्तुत हुनुपर्छ । मेयर साम्पाङले केही राम्रा कामहरू पनि गरेका छन् । तर, उनको अराजक शैली र शासक बन्ने मोहले राम्रा कामहरु ओझेल पर्दै गएको छ । पछिल्लो समय कामको भन्दा उनको अराजकता शैलीको बढी आलोचना हुन थालेको छ ।

एक समय साम्पाङ एक अभियान्त थिए । तर, अब उनी त्यही शैलीमा प्रस्तुत हुन मिल्दैन । मेयर स्थानीयको सेवा, सार्वजनिक हित र नागरिक सहभागिताको प्रत्याभूतिकर्ता हुन् । स्थानीय जनताका आशा र भरोसाका बिम्ब हुन्, र हुनुपर्छ ।

अभियन्ता हुँदा जसरी प्रश्न गर्थे, जसरी औँला उठाउँथे । अहिले उनीमाथि त्यही प्रश्न फर्किएको मात्रै हो । उनीमाथि औँला उठ्नु स्वभविक हो । औँला उठाउनेहरूलाई चित्तबुझ्दो जवाफ दिनु उनको दायित्व हो । प्रश्नकर्तालाई जवाफ दिने हो । जेल हतकडी लगाएर थुनाउने होइन ।

मेयर साम्पाङलाई पदको गरिमा छैनन् नै । तर, आफ्नो जिम्मेवारी भने ख्याल राख्नुपर्छ । साम्पाङलाई अहिले पनि लाग्दो हो, ‘म एक अभियन्ता ।’ तर, उनलाई धराने जनताले पाँच वर्षको लागि धरान जिम्मा लगाएका छन् । जसले धरानलाई जिम्मा लगाए, उनीहरुलाई साम्पाङमाथि प्रश्न गर्ने अधिकार छ । कुनै पनि बाली रोपेरमात्रै हुँदैन । त्यसलाई स्याहार्नु पर्छ । गोडमेल गर्नुपर्छ । मल र पानी लगाउनुपर्छ । जनप्रतिनिधिलाई प्रश्न र खबरदारी गर्नु पनि बाली सह्यार्नुजस्तै हो ।

एकथरी मानिसले काम गर्नेलाई गर्न दिऊँ, अवरोध नगरौँ, भाँजो नहालौं भन्ने गरेका छन् । तर, बालीनाली हौसियो भने बोटमात्रै ठूलो हुन्छ । फल लाग्दैन । बेलैमा छाँटकाँट गरे सप्रिन्छ । प्रश्न पनि छाँटकाँट गर्नु नै हो । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

हुन त, नेपालमा शासक उत्तरदायित्व बहनबाट पन्छिने प्रवृत्ति नै छ । यहाँ अधिकांश जनप्रतिनिधि आफ्नो दायित्व बोध गर्दैनन् । जिम्मेवार व्यक्ति पन्छिने हो भने प्रश्न कहाँ राख्ने ? प्रश्न गरिएन भने नेतृत्व मैमत्त हुन्छन् । जनता हेरेको हेर्यै । जनताको मतबाट निर्वाचित भएकाहरुमा उत्तरदायित्व हुनैपर्छ । जब, राजनीतिककर्मीले प्रश्न सुन्दैन । लोकतन्त्र पनि सकिन्छ । प्रश्न गर्दैमा जेल जानुपर्ने लोकतन्त्रमा कल्पना गर्न सकिँदैन ।

जनप्रतिनिधि भनेका जनताका दुःख सुखका सारथी हुन् । उनीहरू जनतामाझ भोट माग्न जाँदा आफूलाई जनताको सेवककै रुपमा उभ्याउँछन् । गाउँदेखि शहरसम्मको विकास, सुशासन र समृद्धि तिनै जनप्रतिनिधिसँग जोडिएको हुन्छ ।

अझ स्थानीय तहको जनप्रतिनिधि जनताको सबैभन्दा नजिकको साथी हुन् । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार हो । जनताले आफ्नो दःुख र समस्या सुनाउने पनि स्थानीय सरकारलाई नै हो । तर, जनताको मतबाट सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका जनप्रतिनिधि शासक बन्ने प्रयास देशकै लागि दूरभाग्य हो ।

मेयर जित्नासाथ साम्पाङले ‘श्रम संस्कृति’ अभियान चलाएर काकाकुल धरानेलाई पानी खुवाए । वाहीवाही पनि पाए । तर, छुद्र व्यवहारले उनको लोकप्रियताको ग्राफ घटेको मात्रै छैन, स्वतन्त्र पनि उही ड्याङको मूला भन्ने आभास हुन थालेको छ ।

प्रश्नसँग डराउने जनप्रतिनिधि हुनै सक्दैन् । त्यो तानाशाह हो । बोलीले जवाफ दिन नसके कामले जवाफ दिने हो । संविधानले वाक स्वतन्त्रता दिएको छ । प्रश्न गर्नेलाई जेल पु¥याउनु भनेको आफ्नै कमजोरी स्विकार्नु हो ।

नेपालीमा उखान नै छ– ‘रात रहे अग्राख पलाउँछ’ । मेयर साम्पाङ पनि समयमै नसुध्रिए भोलि प्रश्नहरूको भारीले थिचिँदै जानेछन् । त्यो भारी साम्पाङका लागि महँगो सावित हुनेछ । अहिले जसरी समाजिक सञ्जालमा आवश्यकताभन्दा बढी सक्रियता देखाउँदा साम्पाङलाई त नभनौँ, एउटा जनप्रतिनिधिको साख गिर्दैछ, त्यो साम्पाङले मनन गर्नु जरुरी छ । एक व्यक्तिको आचरणका कारण जनप्रतिनिधिको गरिमामाथि नै प्रश्न उठ्ने अवस्था आउनु दिनु हुँदैन । त्यसैले धराने मेयर साम्पाङले जनताका हरेक प्रश्नको जवाफ दिनुपर्छ, दिनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्