Logo
Logo

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिँदै


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ५ माघ । वीरेन्द्रनगरमा नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गरिने भएको छ । उक्त बुद्धमूर्ति निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले निबारदेखि ‘बुद्ध शिक्षा प्रवचन’ कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)सहित प्रस्तावना लिएर मन्त्रालयसमक्ष सहयोगको आग्रह गरेका छन् । उनले सहयोग संकलन गरेर निर्माण सम्पन्न गर्न समय लाग्ने भएकाले प्रस्तावना ल्याएर आउनेलाई विशेष अनुदानमार्फत आर्थिक सहयोग प्रदेश सरकारले उपलब्ध गराउने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सचेतक सीता नेपालीले वीरेन्द्रनगरको मुटु बुद्धपथमै बुद्ध सरोवर निर्माण गरिनु गौरवको विषय भएको बताए । धम्म देशना शुभारम्भमा धर्मगुरु प्रेमदोर्जे लामाले जिल्ला प्रहरी कार्यालयमा बुद्धमूर्तिलाई सम्मानजनक रुपमा राख्न आग्रह गरेका छन् ।
माघ ९ गतेसम्म सञ्चालन हुने ‘धम्म देशना’बाट करिब रु ५० लाख रकम संकलन हुने अपेक्षा गरिएको छ । दुई वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य लिएको बुद्ध सरोवर निर्माणमा न्यूनतम रु नौ करोडदेखि अधिकतम रु १२ करोड लागतको अनुमान गरिएको व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाया खाम्पाले बताए ।
आठ कट्ठा क्षेत्रफलमा रहेको प्रस्तावित बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा समेत निर्माण गरिनेछ । धम्म देशनाको शुभारम्भ समारोहमा करिब रु एक लाख बराबरको दान संकलन भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्