
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको दिवस भएको बताएका छन्।
संविधान दिवसको अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा आज (बुधबार) बिहान आयोजित राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवस नेपाली जनताको साझा र सिंगो राष्ट्रको राष्ट्रिय दिवस भएको बताएका हुन्।
राज्यबाट औपचारिकता मात्र नभइ जनताको तहबाट राष्ट्रिय दिवसको रुपमा दिवस मनाइरहेको भन्दै उनले यो नेपाली जनताको उपलब्धि भएको बताए।
‘यो सरकारी दिवस होइन, यो आम नेपाली जनताको दिवस हो, नेपालको उन्नति हो, नेपाली जनताको उलब्धि हो।’ उनले भने, ‘नेपालको भविष्यको गोरेटो हो यो संविधान, नेपाली जनताका मौलिक र अन्य हकहरुको प्रत्याभूति हो।’
संविधान दिवस एउटा पार्टी विशेष, विचार विशेष, जाती विशेष भूगोल विशेष, एउटा पेशा व्यवसायको दिवस नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनताको साझा उपलब्धिको साझा दिवस भएको बताए।














