काठमाडौं । मुलुक रूपान्तरणका एजेण्डा राष्ट्रलाई सुनाउन र आम जनताका सुझाव लिन एकीकृत समाजवादीले सुरु गरेको मेचीदेखि महाकालीसम्म समाजवादी जागरण अभियानको तेस्रो दिन मंगलबार मधेसमा ६ सभा भएको छ ।
सप्तरीको छिन्नमस्तामा र सिरहाको भगवानपुरमा ठूलो सभा भएको छ । सिरहा सदरमुकाममा आमसभा भएको छ । सिरहाको बन्दीपुर, सप्तरीको चन्ही चौक र धनुषााको यदुपुवामा कोणसभा भएको छ ।
रोजगारी, सुशासन र समृद्धि भन्ने नाराका साथ अभियान जारी छ । नेताहरूले अभियान रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन भएको बताएका छन् । मुख्यगरी कृषिको आधुनिकीकरणतर्फ रोजगारी कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
छिन्नमस्ताको सभालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले समाजवादी अभियान निरन्तर जारी रहने बताए । नेपालले भने, ‘समाजवाद ल्याउन अब लाग्नुपर्छ । हामी तपाईँहरूका कुरा सुन्न आएका छौँ । एकीकृत समाजवादीले समाजवादी यात्राको अगुवाइ गरेको छ ।’
सभाहरूमा हजारौँको उपस्थिति रहेको र सयौँ जना पार्टी प्रवेश गरेको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए । ‘अभियान सुरु भएको तेस्रो दिनसम्म हजारभन्दा बढी प्रवेश गरे’ खतिवडाले भने । एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका प्रवेश गरेको उनले बताए । स्वतन्त्र नागरिक पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् ।
रोजगारी, समृद्धि र सुशासनको नाराका समाजवादी जागरण अभियान आइतबारबाट सुरु भएको हो । झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान मंगलबार साँझ जनकपुर पुगेको छ ।
आगामी १० वर्षमा श्रम गर्न सक्ने सबै नेपालीलाई रोजगारी दिने तथा समृद्धि र समाजवादको आधार तयार पार्ने एकीकृत समाजवादीले जनाएको छ ।