काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरु एमालेसँग लड्न नसकेको टिप्प्णी गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा एमालेको वागमती प्रदेश कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले मंगलबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘मैले हिजो पार्लियामेन्टमा अलिकति बोलेँ । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपिनसक्नुभयो । के गरौं, के गरौं भनेर चिथोरौंझैं लाग्यो । तर, भन्ने केभन्दा गिरीबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ, भनेर आज संसदमा कराए ।’ उनले गिरिबन्धु टी इस्टेटको कुरा गरेपनि त्यसको छानबिन गरेर देखाउन चुनौती दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘खोल न त फाइल, खोल जेल जाऊ, मैले भनिरहेको छु त । आफैं खोल, आफैं जाऊ । हामी सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौं । त्यो बाटो कहिल्यै समाएनौँ ।’ उनले माओवादी केन्द्रप्रति लक्षित गर्दै आफूहरु पाँचवटा सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी नभएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले भने, ‘पाँचवटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरुसँग । त्यसको जवाफमा गिरीबन्धु टी इस्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल ।’ ललिता निवास प्रकरणमा एमालेलाई मुछ्ने प्रयास भएपनि सत्तारुढ गठबन्धनकै नेता मुछिएपछि घटना सेलाएको उनको भनाइ थियो ।














