हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पानी बेचेर देशको समृद्धि हासिल गर्न सकिने बताएका छन् । पार्टीको मेची–महाकाली अभियानअन्तर्गत शुक्रबार हेटौंडामा आयोजित कोणसभामा उनले यस्तो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले खाडीका केही मुलुक तेल बेचेर धनी बनेको र नेपालले पानीलाई अन्तर्राष्ट्रिय बजारमा बेचेर समृद्धि हासिल गर्न सकिने बताए । उनले नेपाललाई आर्थिकरूपमा बलियो बनाउन पानी तथा पर्यटनको महत्त्वपूर्ण भूमिका हुने बताए । अब देशले पर्यटन उद्योगमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष नेपालले भने, ‘हाम्रो देशमा चितवनदेखि कोशीटप्पु, पशुपतिदेखि मुक्तिनाथसम्मका थुप्रै पर्यटनका क्षेत्रहरू छ्न् । त्यसलाई उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्न सक्छौँ ।’ पार्टी देशको हितको लागि स्थापना भएको भन्दै सबै मिलेर त्यसका लागि काम गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।














