Logo
Logo

टुट्न सक्छ धैर्यताको बाँध




न्याय मरेको देशमा हत्या अभियोगमा जेल सजाय भोगिरहेका अपराधीहरुले राष्ट्रपतिबाट आममाफी पाउनु नौलो घटना भएन । यस अगाडि पनि टीकापुर हत्याकाण्डमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई पनि सरकारले आममाफी दिएकै हो ।

एकातिर सर्वोच्च अदालतले कानुनबमोजिम सजाय तोक्दै जाने, अर्कोतिर सरकारले आममाफी दिँदै जाने हो भने देश अपराधीकरणको जालोमा फस्ने डर हुन्छ । त्यो भन्दा पनि चिन्ताजनक कुरा सरकारको यस्तो क्रियाकलापले आम नागरिकप्रति कस्तो प्रतिक्रिया जन्माउँछ भन्ने हो ।

गणतन्त्र स्थापनापछि संविधान दिवसको अवसरमा आममाफी पाउनेहरुको सूची हेर्ने हो भने अधिकांश अपराधीहरु छन् । संविधानले आममाफीसम्बन्धी व्यवस्था अपराधीलाई छाड्न गरेको व्यवस्था होइन । संविधानकै संरक्षक राष्ट्रपतिबाट अपराधीलाई आममाफी दिएर संविधानको धज्जी उडाउने काम भएको छ । संविधान दिवस अपराधीलाई खुसीको पर्व र आम नागरिकलाई पीडाको दिवस बन्नु दुःखको कुरा हो ।

सरकारले गर्ने यी र यस्ता क्रियाकलापले आम नागरिकमा निराशा छाएको छ । हरेक वर्ग, धर्म, जाति र समुदायभित्र उकुशमुकुश वातावरण बनेको छ । कतिपय ठाउँमा धार्मिक द्वन्द्वको खतरा बढेको छ । अर्थतन्त्र चौपट छ । देश छाड्ने युवाहरुको लर्को लागेको छ । धन्न रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । नभए, दशैँ पनि मनाउन सक्ने अवस्थामा नागरिक हुँदैन थिए ।

निराशाबाटै विद्रोह जन्मिने भएकाले भविश्यमा आइपर्ने संकटलाई अहिलेदेखि नै टार्दै जानुपर्छ । दशैँको मुखमा आम सर्वसाधारण निराश छन् । तिनीहरूको निराशालाई आशामा बदल्न सकिएन भने धैर्यताको बाँध टुट्न पनि सक्छ ।

भएका सिमेन्ट, छडलगायतका उद्योगधन्दा बन्द छन् । बैंकको ऋण र ब्याज तिर्न नसकेर हरेक दिन व्यावसायीहरू कालोसूचीमा परेका छन् । बैंकको लिलामीको सूचनाले दैनिक पत्रिकाको पाना भरिएको छ । अर्थात्, नेपाल श्रीलंकाको बाटोमा अग्रसर भएको छ ।

चौतर्फी निराशा, आक्रोश र बेथितिको चपेटामा परेका नागरिक निकासको खोजीमा छन् । सरकारले नागरिकको समस्या समयमै सम्बोधन गर्न सकेन भने जनविद्रोहले निम्त्याउने खतरालाई रोक्न सक्दैन । त्यसको निशानामा सबैभन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु पर्ने निश्चित छ । तर, प्रमुख राजनीतिक दलका नेताहरुमा अझै चेत पलाएको छैन ।

हरेक द्वन्द्वमा घिउ थप्ने काम राजनीतिक दलका नेताहरुले प्रत्यक्ष, अप्रत्यक्षरुपमा गरेका छन् । राजनीतिलाई मजाक ठानिरहेका छन् । जुनसुकै प्रकारको हिंसा भड्किए पनि अन्ततः त्यसले प्रभाव पार्ने भनेको राजनीतिलाई हो । त्यसैले यो बेला सबै राजनीतिक दल नागरिकको समस्याप्रति गम्भीर बन्नुपर्छ । एकले अर्कोलाई दोष देखाएर उम्कन पाउँदैन ।

विगतका कमी कमजोरीलाई सच्याएर अगाडि बढेनन् भने नागरिकमा थप निराशा उत्पन्न हुन्छ । निराशाबाटै विद्रोह जन्मिने भएकाले भविश्यमा आइपर्ने संकटलाई अहिलेदेखि नै टार्दै जानुपर्छ । दशैँको मुखमा आम सर्वसाधारण निराश छन् । तिनीहरूको निराशालाई आशामा बदल्न सकिएन भने धैर्यताको बाँध टुट्न पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्