Logo
Logo

नेकपा दिशाविहीन बन्नुभएन


- टिबी नेपाली


  • टिबी नेपाली

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि एउटै विमानका दुई पाइलट हुन् । उनीहरूले हाँकिरहेका विमान ‘समृद्ध नेपाल, सुखी नेपाल’ गन्तव्यमा पुग्नुपर्नेछ । पार्टी एकताको औपचारिक घोषणा गर्दै गर्दा राष्ट्रियसभाको हलबाट उनीहरूले यहीँ उद्घोष गरेका थिए । यी दुईले हाँकीरहेको विमान त्यस्तो विमान हो, जसले करिब तीन करोड नेपालीको भविष्यको मार्गचित्र कोरिरहेको छ । त्यो विमान दिशाहीन हुन गए लाखौँका सपना चकनाचुर हुने मात्र होइन, नेकपाले पाएको प्रचण्ड बहुमतसमेत खेर जानेछ । र, त्यसको सिधा असर नेपाल र नेपालीको भविष्यमा पर्नेछ । नेकपा नेतृत्वको सरकारले अहिले विकास र समृद्धिको जुन नारा लिएको छ, त्यो सफल भए सिंगो मुलुकले काचुली फेर्ने छ । त्यसैले यसको सफलता दुई पाइलटको कार्यकुशलता र इच्चाशक्ति र दुईबीचको विश्वास तथा समन्वयमा निर्धर गर्दछ । दुईतिहाइको विश्वास पाएका दुई अध्यक्षको इच्छा शक्ति, तत्परता, त्याग र कडा परिश्रमबाट मात्र त्यो सम्भव छ ।

नेपाली राजनीतिका इतिहासका पाना पल्टाउने हो भने, ०१५ सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वर प्रसाद कोइरालाले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्दै सरकार चलाएका थिए । उनीसँग दुईतिहाइ बहुमत त थियो तर, त्यसभन्दा माथि राजा महेन्द्र थिए । अर्थात, राजाको इच्छाविपरीत उनी जान सक्ने स्थिति थिएन । नभन्दै १८ महिनामै महेन्द्रले सैनिक कुमार्फत सरकार विघटन गरी पञ्चायत लादे । यतिबेला संघीय संसद्मा नेकपाको एकल प्रचण्ड बहुमत छ । सातमध्ये ६ प्रदेशमा आफ्नै पार्टीको नेतृत्वा सरकार छ । बाँकी एउटा प्रदेशमा पनि ऊ सबैभन्दा ठूलो पार्टी छ । यसरी सिंगो देश नेकपामय भएका बेला केन्द्रमा ओली प्रधानमन्त्रीको कुर्सीमा छन् । संविधानले प्रधानमन्त्रीलाई सम्पूर्ण कार्यकारी अधिकार दिएको छ । उनीभन्दा माथि वरियताका हिसावले राष्ट्रपति र उपराष्ट्रपति त छन्, तर उनीहरू संवैधानिक रूपमै सीमित छन् ।

त्यसैले सरकारका कामकारबाहीमा असजिलो पार्न सक्ने कुनै त्यस्तो शक्ति देखिँदैन । सरकार आफ्नो पार्टीको घोषणापत्र र जनतासमक्ष दिएका बाचा गर्दै समृद्धिको यात्रामा लम्कनुपर्नेछ । यति सुविधा सम्पन्न सरकारले जनताको अपेक्षा अनुसार काम गरिरहेको छ त ? यो प्रश्नको उत्तर खोज्ने हो भने सकरात्मक पाउनै सकिँदैन । नेकपाले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । एकल बहुमतको स्थिर र बलियो सरकारले त्रिशंकु संसदमा झैँ अनेक दल मिलेर बनेको गठबन्धन सरकारले गर्ने कामभन्दा फरक अनुभूति दिन सकेको छैन । जनताले नेकपालाई निर्वाचनमार्फत स्थायित्व, दिगो विकास र समृद्धिका लागि आफ्नो मत सुम्पिएका हुन् । वर्षाैंदेखि राजनीतिक नेतृत्वसँग आजित भएका नेपालीले नेकपासँग ठूलो विश्वासका साथ मत जाहेर गरेका हुन् । नेपाली कांग्रेसले लामो समय सत्तामा बस्दा आर्थिक समृद्धिको पक्षमा काम गर्न सकेन । ठीकविपरीत संविधान बनेपछि बनेको ओली नेतृत्वको सरकार ९ महिनाभित्रै जनतामा ठूलो उत्साह ल्याउन सफल भयो । दिनको संकेत बिहानले गर्छ भनेझैँ ओली सरकारले कयौँ जनपक्षीय कार्यक्रम ल्यायो । निर्वाचनका बेला तत्कालीन एमाले र माओवादीले जनतासामु विकास र समृद्धिका नारा दिए । त्यसपछि ०७५ को आमनिर्वाचनमा मतदाताले एकजुट भएर कम्युनिष्ट पार्टी रोजेका हुन् ।

तर, निर्वाचन सम्पन्न भएर सरकार गठनको दुई वर्षको अवधिमा नेकपाले जनताको मन छुने काम गर्न सकेको छैन । बरु उल्टै सत्ता नेतृत्व गरिरहेको नेकपा सानातिना कुरामा अलमलिन थालेको छ । पार्टीभित्र गुट उपगुटहरू झाँगिन थालेको छ । अतः नेकपा उल्टो बाटोे हिँडिरहेको छ । नेताहरू स्वार्थकेन्द्रित हुन थालेका छन् । पार्टीमा संस्थागत निर्णय हुने गरेको छैन । सरकारले ल्याउने कानुनहरू जनतामा संसकित हुने खालका आइरहेका छन् । सभामुखको उम्मेदवार चयन गर्न नेकपाले महिना दिन खेर फाल्नु, एमसिसीमा पार्टी र सरकारको समान धारणा नहुनुले राम्रो संकेत दिएको छैन ।

ढिलै भए पनि नेकपाले सर्वसम्मत सभामुख चयन गर्न सफल त भएको छ । तर, महिनौँ दिन पार्टीभित्रको रमिता मतदाता र आफ्नै कार्यकतालाई देखाउनुकुनै आवश्यकताको विषय नै थिएन । दुई अध्यक्षबीचको स्वार्थ टक्करले रमितामय वातावरण बन्नु कुनै पनि हालतमा राम्रो भन्न सकिदैन । दुई अध्यक्ष एउटा कोठामा पाँच मिनेट बस्दा हल हुने विषय किन महिनौँसम्म लम्बाइयो भन्ने प्रश्न कमजोर रहन सक्दैन । निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी एक कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा जेलमा छन् । त्यससँगै रिक्त सभामुख पदमा बहुमतका आधारमा नेकपाबाटै हुने निश्चित थियो । तर, अध्यक्ष तहमा नै आ–आफ्नै स्वार्थका डम्फू बजाएकै कारण महिना दिन संसद् बैठक बन्धक बन्यो । दुई पार्टीबीच एकताको महाधिवेशन भएको छैन । तल्लो कमिटीसम्म एकता प्रक्रिया अझै टुंगो लागिसकेको छैन । तर, अहिले नै निर्वतमान एमाले र माओवादीले आ–आफ्नै अडान अघि सार्दै जानुले एकतामाथि नै प्रश्नको चिह्न भने पोतिएको छ । नेकपा नेतृत्व आफ्नो जिम्मेवारीप्रति जिम्मेवार हुनु हो भने यस्ता सानातिना कुरामा अल्झिनु हुँदैन । विशाल लक्ष्य लिएर सवार विमान यस्ता विषयमा अल्झिने हो भने त्यो गन्तव्यमा पुग्ने देखिँदैन ।

नेकपा पार्टी र नेतृत्वको सरकार पछिल्लो पटक दिशाविहीनजस्तै भएर अघि बढिरहेको छ । सगरमाथाको टुप्पोमा पुग्ने लक्ष्य राखेको पार्टी बेसक्याम्पमा नै नपुग्दै सानातिना कुरामा अलमलिन थालेको छ । यो ठीक हैन । नेकपामा दुई अध्यक्षले सभामुख चयनमा एकता देखाएर थोरै भए पनि सुखद सञ्चार त गरेका छन्, तर त्यतिले पुग्ने देखिँदैन । एउटा अध्यक्ष बालुवाटारबाट आफ्नो दाउ हेर्ने अनि अर्को अध्यक्ष भैंसेपाटीतिर भेला गर्दै हिड्नुले पनि पार्टी र सरकारलाई सही बाटोमा लैजान सक्दैन । नेपाल र नेपालीले पटक–पटक संघर्ष, त्याग बलिदानी गर्दै आएका छन् । १० वर्षे सशस्त्र जनयुद्ध, मधेस आन्दोलन, जनआन्दोलन त अहिलेका ताजा ज्वलन्त उदाहरणहरू हुन् । ती आन्दोलनहरूलाई सार्थकता दिने, देशलाई विकास र समृद्धिको दिशामा पु¥याउने जिम्मा अध्यक्षमा छ । अहिलेको आवश्यकता भनेकै समुन्नत, शान्त र समृद्ध नेपाल निर्माण गर्नु हो । त्यसका लागि नेकपा नेतृत्वको त्याग र कडा मेहेनत पहिलो आवश्यकता हो भने त्यसमा साथ दिनु सबैको जिम्मेवारी रहन्छ नै । त्यसका लागि पनि नेकपाले पार्टी कमिटी बलियो बनाउने, निर्णयहरूलाई संस्थागत गर्ने तथा सरकारका काम कारबाही प्रभावकारी बनाएर स्थायित्व, दिगो विकास र समृद्धिको सपना पूरा गर्नेभन्दा अन्य सोच्नु हुँदैन । यसैबाट नेपाल र नेपालीको उज्वल भविष्य सुनिश्चित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्