Logo

चार वर्षदेखि आयुर्वेद औषधालय चिकित्सकविहीन


Published On : 29 January, 2020

 

जुम्ला, १५ माघ । आयुर्वेद औषधालय चार वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मंसिरमा सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायीरूपमा आएपनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेको हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
अहिले वैद्य गोर्खबहादुर रावतकोे भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने गरेको आयुर्वेद वैद्य रावतले बताए ।
औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको उनले बताए । उनले भने, ‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन । उनले आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गर्दा समेत अहिलेसम्म सुनुवाइ नभएको बताए ।
वैद्य रावतका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । उनले भने, ‘त्यसैले पनि डाक्टर पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ तर, पनि विभागले सुनुवाइ गरेको छैन । अहिले कर्णाली प्रदेशले प्रदेशभरि जिल्लामा पुग्ने गरी आयुर्वेद औषधालयका लागि डाक्टरसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ’, उनले भने, ‘अब डाक्टर आउने सम्भावना बढेको छ ।’

मानवअधिकार आयोगद्वारा अनुगमन

आयुर्वेद औषधालयमा राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय जुम्ला, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पत्रकारलगायतको टोलीले अनुगमन गरेको छ ।
औषधालयमा पटकपटक औषधि र स्वास्थ्यकर्मीको अभाव भएको सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानवअधिकार आयोग, कर्णाली प्रदेश कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र खत्री, पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईलगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आयुर्वेद औषधालयमा औषधि पर्याप्त भए पनि दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या देखिएको आयोग प्रदेश कार्यालय जुम्लाका निमित्त प्रमुख नरेन्द्र खत्रीले बताए । उनले भने, ‘यो औषधालयमा विगत चार वर्षदेखि डाक्टर दरबन्दी रिक्त नै रहेको छ । दरबन्दी पदपूर्तिका का लागि कार्यालयले पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको बुझिन आएको छ ।’

यहाँ डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि अभावले बिरामीको उपचारमा समस्या देखिएको पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताए । बिजुली नभएका कारण आवश्यक उपकरण पनि प्रयोगविहीन भएको औषधालयका वैद्य गोर्खबहादुर रावतले बताए । उनले उपकरण प्रयोगमा नआएरै सबै पुराना भएको समेत बताए ।
चालु आवमा रु चार लाख ९० हजारको औषधि खरिद गरेकाले औषधि पर्याप्त नै छ तर आवश्यक दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या हुने गरेको जनाएको छ । पहिलो संघीय सरकारअन्तर्गत कर्णाली अञ्चल आयुर्वेद औषधलायको रुपमा रहेको कार्यालयलाई अहिले कर्णाली प्रदेशअन्तर्गत जनस्वास्थ्य कार्यालय जुम्ला, आयुर्वेद औषधालय शाखाका रुपमा रहेको छ ।
स्थायी कर्मचारीका रुपमा एक जना वैद्य र एक जना कार्यालय सहयोगी मात्र छन् । तीन जना करार सहयोगी कर्मचारी रहेका छन् । औषधालयमा हिउँदे सिजनमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गराउनका लागि आउँछन् भने वर्षा सिजनमा ५० देखि ६० बिरामी आउने गर्दछन् । धेरैजसो अमलपित्त, श्वासप्रस्वास, कमलपित्त, स्त्रीरोग, पाइल्स, बाथ, मुत्रविकार, छालासम्बन्धीका बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रस्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्