Logo
Logo

सामाजिक सञ्जालले निम्त्याएको विपत्ति



बूढापाखाले भन्थे- थुतुनो र … जोगाउनु । यी दुबै कुरा राम्रोसँग सम्हाल्न नसके घरबार बिग्रिन्छ । लथालिङ्ग हुन्छ । भताभुङ्ग हुन्छ । त्यही बुझेर हो क्यारे बुढापाकाले उखानै बनाए ।

अहिले यी दुई कुरासँगै सामाजिक सञ्जाल पनि ठिक ठाउँमा राख्नुपर्छ । सामाजिक सञ्जाल ठेगानमा नराखे समाज र देशै लथालिङ्ग बन्न सक्छ । यसको एक उदाहरण हो– नेपालगन्जमा भड्किएको धार्मिक सद्भाव ।

असोज ११ गते मुस्लिम समुदाय ‘मोहम्मद डे’मा रमाइरहेका थिए । त्यस दिन एक जना अल्लारे युवाले सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोस्याए । त्यो विवादित बन्यो । उग्ररूप लियो । सामाजिक सद्भाव नै भड्किन पुग्यो ।

बाँके नरैनापुरका सुनिल सिंहले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर स्ट्याटस लेखेका थिए । त्यसपछि विवाद सुरु भएको थियो । विवाद बढेपछि स्ट्याटस हटाइयो । तर, विवाद रोकिएन । झनै चर्किँदै गयो ।

सुनिल लोकप्रिय मान्छे पनि होइनन्, उनको फलोअर्स पनि धेरै छैनन् । तर, धार्मिक निन्दा गरिएको स्ट्याटसले मुस्लिम समुदाय तरङ्गित बन्यो । उत्तेजित भयो । जुलुस निकाल्यो । विरोधले उग्ररूप लियो । हिन्दू समुदायमाथि धावा बोल्यो ।

हिन्दुवादी चाहिँ के कम ! ‘के निहुँ पाउँ कनिका बुक्याऊँ’ जस्तै भयो । उनीहरू पनि उत्तेजित भए । नेपालगन्ज बन्दको आह्वान गरे । त्यसैबीच केही युवाको विवादास्पद टिकटक भाइरल बन्यो । जसमा हिन्दुप्रति गालीगलौज गरिएको छ । उक्त भिडियोले सद्भाव बिथोल्न थप बल पुर्यायो ।

प्रतिक्रिया स्वरूप हिन्दुवादीले जुलुस निकाले । दुई समुदायबीच मुठभेडको स्थिति सिर्जना भयो । सेना परिचालन गर्नुपर्ने अवस्था आयो । ‘कफ्र्यू’ नै लगाउनुपर्यो । ‘धर्मका भूत’ चढेकाहरूबाट ‘कफ्र्यू’को अवज्ञा भयो । ढुंगामुढा हानाहान भयो । झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भए । एउटा स्ट्याटसले सद्भाव बिथोल्यो । शान्ति सुरक्षा खलबलियो ।

गत भदौमा सर्लाहीको सदरमुकाम मलंगवामा यस्तै भएको थियो । हिन्दूवादीले मुस्लिम बस्तीमा तोडफोड नै गरे । दुई पक्षबीच भिडन्त भयो । त्यहाँ पनि ‘कफ्र्यू’ लगाउनुपर्याे ।
त्यस्तै धरानमा पनि सामाजिक सञ्जालकै एउटा पोस्ट विवादित बन्यो । फेसबुकमा गाईगोरुको मासु खाएर भिडियो हालेपछि हिन्दूवादी आन्दोलित भए । भदै ९ गते धरान केन्द्रित आन्दोलन घोषण गरे ।

हिन्दूवादीले प्रदर्शन गर्ने भनेपछि केही समुदायले त्यसलाई विफल पार्ने रणनीति बनायो । दुई पक्षबीच मुठभेड हुने अवस्था आयो । सम्भावित झडप र हिंसा टार्न निषेधाज्ञा लगाउनुपर्यो । व्यापक प्रहरी परिचालन गरेर धरान प्रवेश गर्ने नाका बन्द गरियो ।

धरान छिर्न नपाएपछि हिन्दूवादीले इटहरीमा प्रदर्शन गरे । केहीले एक मिनेटमा धरान सिद्ध्याइदिने धम्की दिए । जसको व्यापक आलोचना भयो । भलै, यो विषय बिस्तारै मत्थर हुँदा ठूलो दुर्घटना हुनबाट जोगियो ।

आगोको एक झिल्कोले पुरै वन सखाप पार्छ । त्यस्तै समाज सखाप पार्न एक उत्ताउलो स्टाटस भए पुग्छ । सामाजिक सञ्जाल ठेगानमा नराख्दा कस्तो परिस्थिति निम्तिन्छ भन्ने माथिका केही घटनाले प्रस्ट पार्छ ।

सामाजिक सञ्जालकै कारण सामाजिक तथा धार्मिक सद्भाव खलबलिँदै गएको छ । दुई धर्मीका समूहबीचको झडप बढ्दो छ । त्यसलाई साम्य पार्न सेना नै परिचालन गर्नुपर्छ । ‘कफ्र्यू’ लगाउनुपर्छ ।

धर्म रक्षाका नाममा अपराध बढेको बढ्यै छ । धर्मगुरु भनेर चिनिएकाहरूले मान्छे काट्ने ‘आदेश’ दिन्छन् । नाङ्गो खुकुरी नचाउँछन् । यस्तै हरकत गर्दा हिन्दू धर्मगुरु भनेर चिनिने आचार्य श्रीनिवास पक्राउ नै परे ।यद्यपि, गल्ती स्वीकारे र सुध्रने प्रतिबद्धता जाहेर गरेपछि धरौटीमा छुटे ।

सामाजिक सञ्जाल सामाजिक सद्भाव बिथोल्न खतरनाक ठाउँ बनेको छ । जहाँ, सामाजिक प्राणी असामाजिक बन्दै छ । सामाजिक सञ्जाललाई असामाजिक बनाएर केही एकअर्कालाई भिडाउन तल्लीन छन् । सद्भाव भड्काउँदै छन् । बेलगाम छन् । जसले जे गरे पनि हुन्छ । जे लेखे पनि हुन्छ ।

केहीको त काम नै बनेको छ, समाज भड्काउने । सामाजिक सञ्जाल गाली गर्ने चौतारी बनेको छ । सामाजिक सद्भाव भड्काउने हतियार । जति धेरै गाली, उति धेरै लाइक र कमेन्ट । त्यसैको लोभमा बौद्धिक भनिएका व्यक्तिहरू पनि तुच्छ शैलीमा प्रस्तुत हुन्छन् ।

लेख्ने बेला त्यसको असरबारे सोच्दैनन् । अरूलाई चिढ्याउन पाए पुग्यो । लक्ष्य उद्देश्य पूरा भयो । खुसी मिल्छ । युद्ध नै जितेको महसुस गर्छन् । अरूलाई लडाएर रमिता हेर्छन् । रमाउँछन् । मज्जा लिन्छन् । समाज भाँड्ने योभन्दा डरलाग्दो सङ्केत अरू केही हुँदैन ।

मान्छे सामाजिक प्राणी हो । हामी ‘सर्वश्रेष्ठ प्राणी हौँ’ भन्दै गर्व गर्छाैँ । तर, हामी ‘नीच’ बन्दै गएका छौँ । प्रविधि पनि ‘सामाजिक’ नै छ । तर, हामीलाई असामाजिक बनाउँदै लगेको छ । दलहरूले पनि धर्मलाई राजनीतिसँग जोडेका छन् । त्यसले पनि सद्भाव भड्किँदै गएको देखिन्छ ।

समाजमा चरम निराशा छ । उग्र असन्तोषको भुङ्ग्रो । त्यसैमा केही समाज दोहन गर्न तल्लीन छन् । संसारकै दरिद्र समाज बनाउने योजना छ । निराशा, कुण्ठा, आक्रोश र उत्तेजना बोकेर समाज भड्काउँदै छन् । मनोभावनाको दोहन गरिरहेका छन् । सोच र नैतिकता पतन भइसक्यो । विवेक शून्य ।

कसैलाई कसैप्रति जबाफदेही बन्नु छैन । उत्तेजनाको राँको दनदनी बालेको छ, भीड तान्ने नीति । हौवाको पछि लाग्ने जनता । समाधानका बाटाहरू कसैलाई निक्र्योल गर्नु छैन । राज्य पनि बेखर छ । आवश्यक नीति अविलम्ब गर्न सक्दैन ।

धार्मिक अतिवाद ठूलो समस्या बनेको छ । अब पनि सम्यामित नहुने हो भने उत्तेजनाको लप्कोले जलाएर खरानी बन्नबाट कसैले बचाउन सक्दैन । हामीले वास्तविक धर्म भुलिरहेको छौँ । मान्छेको धर्म ।

अहिलेको आवश्यकता भने मान्छेले मान्छेको धर्म पहिल्याउनु हो । समाज जोगाउने मूलमन्त्र पनि यही हो । त्यसलै ब्राण्डिङ गरेको धर्मको नाममा मूल धर्म नभुलौं । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गरौं । योप्रति सबै सजग बनौं ।

राज्यले पनि दीर्घकालीन हिसाबले समाधान गर्ने नीति ल्याउनै पर्छ । कफ्र्यू र निषेधाज्ञा दीर्घकालीन उपाय हुँदै होइन । सामाजिक सञ्जाललाई सद्भाव भड्काउने हतियार नबनाऔँ । सामाजिक सञ्जाल समाजमा सूचना प्रवाह गर्ने माध्यम हो । जसको सही उपयोग गर्न सिकौँ ।

प्रतिक्रिया दिनुहोस्