Logo
Logo

युवा बेचेर चलेको देश



यही अक्टोबर सात तारिखमा हमासले इजरायलमा आक्रमण गर्याे । उक्त आक्रमणमा १० नेपाली विद्यार्थी पनि मारिए । केही घाइते भए । उक्त खबरपछि देशमा कोलाहल मच्चियो ।

कतिपय बच्नेहरू बंकरमा लुके । हारगुहार गर्न थाले । भिडियो बनाए । सामाजिक सञ्जालमा हाले । स्ट्याटस लेखे । उनीहरूको लागि एक÷एक सेकेन्डको निकै महत्पूर्ण बन्यो । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द एक’ भन्छन् । उनीहरूको त्यस्तै बन्यो– देश फर्कने ।

इजरायल पुगेका कास्की, अन्नपूर्ण गाउँपालिका–२ का सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र नै लेखे । आग्रह गरे– ‘देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमा नै रमाउनेछौँ ।’

इजरायलबाट पहिलो चरणमा २५४ विद्यार्थीको उद्धार भयो । उनीहरू शुक्रवार बिहान तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । सबै खुसी । मनै दङ्ग भयो । बिहान ६ बजे अफिस पुगेँ । पहिलो हेडलाइनसहितको समाचार बनाएँ । सात बजेको समाचार सकेपछि लागे एयरपोर्ट ।

एयरपोर्ट इजरायलबाट फर्कनेलाई भेट्न गएको होइनँ । उनीहरू त आ–आफ्नो गन्तव्य लागिसकेका थिए । दसैँ बोकेर आउनेको स्वागतको लागि पनि गएको होइनँ । गएको थिएँ, कसैको बिदाइको लागि ।

बहिनीले जापानको लागि ‘ट्रइ’ गरेको चार वर्ष भयो । कोरोना नआएको भए सायद तीन वर्षअघि बहिनीको सपना पूरा हुन्थ्यो होला । सन् २०२० को जनवरीमै एन–फोको परीक्षा तय थियो । तर, कोरोना महामारी आयो । परीक्षा रद्द । सपना तुहियो ।

ढिलै भएपनि बहिनीको सपना पूरा हुँदै थियो । जापानको उडान मध्यान्न १२ः१० बजे थियो । एयरपोर्ट समय नौ बजे । स्वदेश फर्कनेको खुसीको समाचार बनाएको केही घण्टा मात्रै भएको थियो । देश छाड्नको खुसीमा सामेल भएँ ! बहिनीलाई दसैँपछि मात्रै पठाउने सोच थियो । तर, दसैँअगाडि नै भिसा आयो ।

विमानस्थलमा विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच थियो । एकातिर उत्साहित हुँदै दसैँ मनाउन फर्किनेको भीड । अर्कातिर अमिलो मन बनाउँदै बिदाइका हाल हल्लाउनेको लर्को ।

स्वदेश फर्कनेहरूको आफन्त दङ्ग देखिन्थे । विदेशिनेमा सहिनसक्नु पीडा । आँखाको डिलमा आँसु । जबरजस्तीको मुस्कान । कस्तो विवशता ! विदेश पठाउन पाउँदा पनि खुसी ! विदेशबाट फर्काउँदा पनि खुसी ! खुसी हुनुपर्ने पनि बाध्यता ! स्वागत र बिदाइको खुसी–खुसीको कट्टेल !

भिसा नलाग्दा बहिनीको छटपटीको साक्षी छु । उनको अत्यास महसुस गरेको छु । उनको सपनाको भागीदार पनि हुँ । र, बहिनीको सुन्दर भविष्य बनाउनु मेरो कर्तव्य पनि हो । त्यसैले खुसी नै भनौँ ।

नेपाली नपुगेको र नभएको देश त विश्वमा सायदै होलान् । विशेष गरी कामकै लागि जाने गर्छन् । पछिल्लो समय स्टुडेन्ट भिसामा पनि जाने प्रचलन बढ्दो छ । तर, उद्देश्य भनेको कामै लागि हो । पैसा कमाउनु नै हो ।

देशमा बसेर पनि के गर्ने ? ‘केही गरिनस्’ भन्ने गाली कति सुन्ने ! काम गरौँ के गरौँ ? कसले दिने ? काम पाए पनि दाम छैन । विदेश जानुको विकल्प छैन । शिक्षित र दक्ष जनशक्तिले पनि मुलकभित्र रोजगारी पाउने अवस्था छैनन् ।

रोजगारी नपाएपछि विदेश पलायन हुने युवाको संख्या ठूलो छ । ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । हामीसँग बेच्नको लागि युवाबाहेक अरू नै छ र ? अर्थतन्त्र युवा बेचेरै चलेको छ । अर्थात् रेमिट्यान्सले धानेको छ ।

समृद्धिको पहिलो सर्त हो, रोजगारी । तर, यहाँ रोजगारी समस्या बढ्या–बढ्यै छ । प्रतिवर्ष करिब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गर्छन् । तर, अधिकांशले रोजगारी पाउँदैनन् । रोजगारी नपाउनेहरू हल्लिएर बस्छन् । केही विदेश पलायन हुन्छन् । युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनेको छ ।

मुलुक सप्रिन्छ भन्ने आशा नै नभएपछि सबैलाई विदेश जाऔँ भन्ने लागेको छ । देश छोड्नेमा चिकित्सक, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, नर्स, कृषि विज्ञ, प्राध्यापकदेखि भौतिक शास्त्र, रसायनशास्त्र, जीवविज्ञानलगायतका विषय पढेका जनशक्तिको लर्को छ ।

योभन्दा पनि महत्त्वपूर्ण युवा पलायनको तीव्रता मत्थर हुने छाँटकाँट छैन । यहाँ बस्ने पनि पछुताएका छन् । कोही आफ्नो भविष्यसँग आश्वस्त छैनन् । सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिँड्न तम्तयार छन् । गाउँघरमा बुढापाका र केटाकेटी मात्रै । विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या पनि घट्दो छ ।

कुन मुलुकमा कति बेला के कस्ता आपत् आइलाग्छ भन्न सकिँदैन । जहाँ पनि जोखिम नै छ । यसअघि पनि कोरोनाले विभिन्न देशमा नेपाली आपतमा परेका थिए ।

राजनीतिप्रति युवाको आशा हराएको छ । मुलुक बन्दै छ भन्नेमा विश्वस्त हुन सकेका छैनन् । देश चलाउने शासक र प्रशासकका सन्तान पनि देशमा छैनन् । उनीहरूलाई पनि देशमै सन्तान राखेर भविष्य बिगार्नु छैन !

यहाँ आम्दानी र खर्चको मेलमिलाप हुन सकेको छैन । सामानको मूल्य बढेको बढ्यै छ । मान्छेको मूल्य बढ्दैन ! विदेश नगई घरपरिवार चलाउनै कठिन पर्ने स्थिति छ । जागिर गरेर घर, गाडी जोडौँ, छोराछोरी राम्रोसँग पढाऔँ भन्न सकिने स्थिति छैन ।

लोकतन्त्र बहालीपछि विकासमा फड्को मार्ने अपेक्षा थियो । तीन तहका सरकार बनेपछि देशले कोल्टे फेर्ने आशा । राजनीतिक दलहरूले पनि त्यहीँ सपना देखाएका थिए । तर, राजनीतिक अस्थिरता झनै बढ्यो । पहुँचवालाहरूकै हालीमुहाली बढ्यो । जसले गर्दा देश छाड्नेको लर्को लाग्यो ।

वैदेशिक रोजगार स्थायी समाधान होइन । स्थायी समाधान स्वदेशमै हो । स्वदेशी माटोमा फलाउनुपर्याे । रेमिट्यान्समा लोभ गर्नु भएन । रेमिट्यान्स भित्रियो भन्दै खुसी हुनै पर्दैन । कति रकम बाहिरिइरहेको छ भन्ने पनि ख्याल गर्नुपर्छ ।

नेपालमै केही गरेर बस्नुपर्छ भन्ने सोच भएका युवाको संख्या न्यून छ । केही व्यवसाय सुरु गर्दा पनि ‘झोले’ र ‘टोले’ नपाली सुखै हुँदैन । त्यसैले लगानी गर्ने वातावरण राज्यले बनाइदिनुपर्छ । देशभित्रै कामको अवसर सिर्जना गर्नुपर्छ । आशा देखाउन हतारोसाथ काम थाल्नुपर्छ ।

देशको मुहार फेर्नको लागि युवा जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ । मुलुकको विकास र समृद्धिको मुख्य आधार युवा शक्ति हो । त्यसैले दिनहुँ पलायन हुने युवालाई रोक्न राज्यले पहल थाल्न अबेला भइसक्यो । जसले गर्दा देश भड्ँखालोमा पर्दै गइरहेको छ । यसप्रति शासक, प्रशासक, राजनीतिक दहरूका साथै आमनागरिक गम्भीर बन्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्