Logo
Logo

भिजनको दरिद्रता र अन्योलको यात्रा


- माथवरसिंह बस्नेत


  • माथवरसिंह बस्नेत

नेपालका कम्युनिष्ट र कांग्रेस दुवैथरि ्यत्तिखेर सत्ता र प्रतिपक्षको भूमिकामा किन असफल भइरहेका छन् ? कसले उनीहरुलाई आफ्ना काम गर्नबाट रोकिरहेछ ? त्यसको खोज र अनुसन्धान गर्न जुटेका जस्ता देखिएका त छन्, तर त्यस्तो गुणार्थ पत्ता लगाउने भिजन भने फेला पार्न सकिरहेका छैनन् । कम्युनिष्ट, कम्युनिष्टजस्ता छैनन्, उनीहरु विचार अधिनायकवादी बोक्ने, अनि, प्रजातन्त्रवादीजस्ता देखिन खोज्ने अभिनय गर्ने गरिरहेका छन् । कांग्रेस, कांग्रेसजस्तो छैन, मुखमा समाजवादी नारा, चरित्र अराजकतावादी र संगठनात्मक संरचनामा कम्युनिष्टको फोटोकपी गरेपछि उसलाई आफ्नो अस्तित्व जोगाउने संकट उत्पन्न हुने नै भयो । राजनीतिबाट आदर्श, सिद्धान्त र चरित्र हराएपछि जे हुन्छ, अहिले मुलुकका दुवै प्रमुख पार्टी त्यही नियति झेल्न अभिशप्त छन् । उनीहरुका नेता त्यही वास्तविक कुराको चुरो पत्ता लगाउन नसकेर कार्यकर्ता र जनताका आक्रोशका शिकार बन्नपुगेका छन् । अन्योलका बेला अँध्यारोबाट उज्यालोतिर लाग्न दिशाबोध गराउने भिजन हो, त्यही हराउन पुगेकाले यो अवस्था उत्पन्न भएको हो ।

माथवरसिंह बस्नेत

कांग्रेसभित्र पनि आदर्श र सिद्धान्तको जस्तो अनिकाल अहिले छ, त्यस्तो खरेडी पंचायतकालमा थिएन । नेतादेखि कार्यकर्तासम्म सबैलाई स्पष्ट थियो, कांग्रेसको चरम लक्ष प्रजातन्त्रको पुनस्र्थापना हो । २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा जनताले क्रान्ति गरेर राणा शासन मात्र फालेका थिएनन् प्रजातन्त्र पनि ल्याएका थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले त्यही प्रजातन्त्र, बलपूर्वक अपहरण गरेर निर्दलीय पंचायत व्यवस्था लादेकाले त्यो व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना कांग्रेसको राजनीतिक लक्ष बन्नपुगेको थियो । त्यसमा कुनै पनि स्तरका नेता तथा कार्यकर्तालाई शंका र द्विविधा थिएन ।

कांग्रेस र कम्युनिष्टका नेताहरु आफूलाई सबैभन्दा ठूला लोकतन्त्रवादीको भएको दावी त गर्छन्, तर लोकतन्त्रको परिभाषा के हो, त्यसको उद्गमस्थल कुन हो र किन र कसरी त्यो यहाँ आयो ? त्यसले कम्युनिष्ट आदर्श र प्रजातान्त्रिक सिद्धान्तभन्दा उत्कृष्ट परिणाम कसरी दिन्छ, त्यसको व्याख्या र विवेचना गर्दैनन् । कम्युनिष्टले माक्र्सवादी सिद्धान्तको लेनिनवादी र माओवादी प्रयोगका बीचको आधारभूत भिन्नता र नेपाली यथार्थमा त्यसको प्रयोगको स्वरुप कस्तो हुनुपर्छ भन्ने विषयमा बहस र छलफल चलाएको देखिएको छैन । त्यस्तो छलफलविना एक कम्युनिष्ट कार्यकर्ताले आफ्नो गन्तव्य कुन हो र त्यो गन्तव्यमा पुग्न गर्ने क्रान्ति कस्तो हुने हो, त्यसको बाटो प्रष्टसित कसरी बोध गर्न सकोस् ! बरु, निरंकुश पञ्चायतकालमा सीमित रुपमै सही त्यसको सैद्धान्तिक पक्षमा खुलेर छलफल हुने गथ्र्यो । पार्टी प्रतिवन्धित थियो र पत्रपत्रिका पनि सीमित थिए । तैपनि अन्यत्र त्यस्तो विचारविमर्श चलाउन नसके पनि जेलमा उनीहरु आपस्तमा सघन बहस चलाउँथे र नेतृत्व तहदेखि विद्यार्थी यूनियनसम्म त्यसलाई फैलाउँथे । त्यसबाट उनीहरुलाई आफ्नो लक्ष कम्युनिष्ट राज्यसत्ता कायम गर्नु हो । त्यो भनेको कम्युनिष्ट पार्टीको मातहतमा सरकार र सेना चल्नु हो । त्यसमा उनीहरुलाई कुनै शंका र द्विविधा थिएन ।

त्यस्तै कांग्रेसभित्र पनि आदर्श र सिद्धान्तको जस्तो अनिकाल अहिले छ, त्यस्तो खरेडी पंचायतकालमा थिएन । नेतादेखि कार्यकर्तासम्म सबैलाई स्पष्ट थियो, कांग्रेसको चरम लक्ष प्रजातन्त्रको पुनस्र्थापना हो । २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा जनताले क्रान्ति गरेर राणा शासन मात्र फालेका थिएनन् प्रजातन्त्र पनि ल्याएका थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले त्यही प्रजातन्त्र, बलपूर्वक अपहरण गरेर निर्दलीय पंचायत व्यवस्था लादेकाले त्यो व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना कांग्रेसको राजनीतिक लक्ष बन्नपुगेको थियो । त्यसमा कुनै पनि स्तरका नेता तथा कार्यकर्तालाई शंका र द्विविधा थिएन ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलन अघिसम्म पनि कांग्रेस र कम्युनिष्ट आफ्ना भिजनमा प्रष्ट थिए, त्यसैले एक अर्काप्रति असहिष्णु र आक्रमक पनि थिए । यद्यपि कांग्रेस र कम्युनिष्टका केही समूहका बीचमा २०४२ को सत्याग्रहदेखि नै सहकार्य र सहयात्राको प्रयास भएको थियो– कार्यगत एकताका नाममा । तथापि, कम्युनिष्ट पार्टीको एक प्रमुख घटक माले, त्यसबाट अलग भएकाले त्यो प्रयोग जति प्रभावकारी हुनुपर्ने थियो, त्यत्ति हुन सकेन । तैपनि कांग्रेस र कम्युनिष्टमा बैचारिक मतभेदका बावजूद साझा उद्देश्यका लागि मुख्य शत्रुका विरुद्ध संयुक्त हुने प्रयासको प्रारम्भ त्यही बिन्दुबाट भएको हो, जसले २०४६ को संयुक्त जनआन्दोलनको पृष्ठभूमि तयार पार्ने काम गरेको थियो ।

नेपालको राजनीतिक रंगमञ्चमा उदाएका राजनीतिक पार्टीहरुमा नेपाली कांग्रेस र नेकपा एमाले मात्र भिजन र लक्ष लिएर आएका र विश्वव्यापी विचार र सिद्धान्तले संरक्षण प्रदान गरेका पार्टी हुन् । अरु सबै तिनका प्रतिक्रियामा जन्मेका र आफ्नो भूमिका निभाइसकेपछि बिसर्जित भएका र हुने पार्टी हुन् । कम्युनिष्ट पार्टी भनेको त्यसका संस्थापक तथा कम्युनिष्ट पार्टीको घोषणापत्र– १८४८ मा आधारित पार्टी भएकाले त्यसको भिजन पनि त्यही हो । त्यो घोषणापत्रको प्रकाशन उप्रान्त जति देशमा कम्युनिष्ट क्रान्ति भएर सरकार गठन भएका छन्, उनीहरुले पनि त्यसैबाट भिजन प्राप्त गरेका हुन् । सर्वहारा वर्गको अधिनायकवादको आवश्यकता र औचित्य पनि त्यही घोषणापत्रले स्थापित गरेकाले संसारभरिका कम्युनिष्टको गीता भने पनि बाइबल भने पनि मार्गदर्शक दस्तावेज, त्यही घोषणापत्र हो । त्यसैले कम्युनिष्ट पार्टी र त्यसको प्रत्येक र हरेक सदस्यले ग्रहण गर्ने भिजनको अजश्र स्रोत पनि त्यही हो ।

नेपाली कांग्रेसले अंगालेको उदार प्रजातन्त्रको आदर्श भने ग्रिक दन्त्यकथामा वर्णित कथाबाट अनुप्राणित भने पनि वास्तवमा त्यसको आधुनिक संस्करणको उद्गमस्थल भने बेलायत नै हो । त्यसको स्रोतचाहिँ सन् १२१५ को म्याग्नाकार्टा हो । राजाको निरंकुशतामाथि सामन्तहरुको शक्तिले अंकुश लगाएर अब उप्रान्त राजाले राज्य गरे पनि जनताका उपर हुने शासन भने जनताकै प्रतिनिधिले मात्र गर्नुपर्छ भन्ने मान्यतामा राजा र शामन्तका बीचमा सम्झौता भएकाले संसदीय पद्धतिको जग त्यसैलाई मानिएको हो । संवैधानिक राजतन्त्र र प्रजातन्त्रको सहयात्राका क्रममा अनेक पटक राजा र संसदको आमनेसामने भयो तर, प्रत्येक पटक जीत संसदकै भयो । त्यही कारण आधुनिक विश्व इतिहासमा त्योे घटनालाई प्रजातान्त्रिक आदर्शको मूल श्रोत मानिएको छ । कालान्तरमा त्यही मान्यता, फ्रान्सको राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामबाट थप विकसित, परिस्कृत एवं परिपक्वहुँदै वर्तमान अवस्थासम्म आइपुगेको हो । त्यही प्रजातन्त्र, सम्पूर्ण प्रजातन्त्रवादीको आदर्श र सिद्धान्त हो । त्यही उसको भिजन हो ।

विश्वको इतिहास भनेको मानव समाजमा निरन्तर भइरहेको वर्गसंघर्षको इतिहास हो । राजतन्त्रको निरंकुशताका विरुद्ध संघर्ष गरेर स्थापित प्रजातन्त्रले पनि वर्ग संघर्षअघि शोषणको शिकार बनेका वर्गको शोषणको अन्त्य गरेन, उल्टो निर्वाचनका माध्यमबाट जनताकै शोषण गर्ने अर्काे वर्ग उत्पन्न ग¥यो । अर्को शब्दमा भन्ने हो भने त्यो व्यवस्थाले पनि पूँजीपतिको पैसा र गरीव जनताको भोटले सत्तामा पुगेको वर्गले आफ्नै वर्गको हित गर्छ, शोषित र पीडित वर्गको हितमा काम गर्दैन । तसर्थ मजदूर वर्गले संगठित भएर त्यस्ता प्रतिक्रियावादी सत्तालाई बलपूर्वक हटाएर कम्युनिष्ट क्रान्ति गर्नुपर्छ र सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नु पर्छ भनेर कार्ल माक्र्सले कम्युनिष्टलाई प्रजातन्त्रको वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गरेका थिए । त्यसैले आज पनि प्रजातन्त्रको विकल्प कम्युनिष्ट अधिनायकवाद हो र अधिनायकवादको विकल्प प्रजातन्त्र नै हो भन्ने मान्यता विश्वव्यापी बनेको हो । प्रजातन्त्रवादी कम्युनिष्ट र कम्युनिष्ट प्रजातन्त्रवादी कुनै हालतमा हुन सक्तैनन् । भएको अभिनय गरे भने तिनलाई पाखण्डी हुन्छन् । त्यसरी भिजन गुमाएर आफैं कुहिराको काग बनेका उनीहरुले राष्ट्रलाई अन्योलबाट निकालेर दिशाबोध गराउन सक्ने कल्पना गर्न सकिन्न ।

देशले झेल्नु परेको १० वर्ष लामो कथित् जनयुद्धको लक्ष थियो, प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त पारेर त्यही ध्वंसमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने । त्यसैका निम्ति नेपालको लिखित इतिहासमा पहिले कहिलै नभएको १७ हजार नेपालीले बलिदान दिए । त्यसबाट देश र जनताले के पाए ? १२ बुँदे दिल्ली सम्झौता र त्यसले प्रदान गरेका राजनीतिक एजेन्डा । त्यो भनेको (१) संविधानसभाले बनाएको संविधान (२) गणतन्त्र (३) संघीयता (४) धर्म निरपेक्षता र (५) समानुपातिक निर्वाचन प्रणाली । यद्यपि माओवादीले ल्याउने भनेको नयाँ जनवाद आएन, आयो, दिल्लीको जस्तो लोकतन्त्र, तैपनि नेपाली नेताहरु चुँक्क बोलेनन् । कथित् बुद्धिजीवीले पनि त्यो सवाल उठाएनन् । नयाँ संविधानले माथि उल्लेखित दिल्ली सम्झौताका सबै एजेन्डालाई संस्थागत गरिसकेको छ र त्यसका सबै अंग प्रत्यंगले काम पनि थालिसकेका छन् । तैपनि देशबाट अन्योल र अस्थिरताको अन्त्य भएको छैन । किन ? किनभने नेपालको नेतृत्व प्रदान गर्ने कांग्रेस र कम्युनिष्टले भिजन हराए । दूरदृष्टि हराएपछि जे हुन्छ, अहिले देशमा त्यही भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्