Logo
Logo

परदेश गइरहेको गाउँ




गाउँ भन्न साथ दिमागमा चित्र बन्छ– सुन्दर । हराभरा । स्वच्छ हावापानी । खरले छाएका घर । कलकल बग्ने खोला । छाँगाछहरा । देउराली । भञ्ज्याङ । भारी बिसाउने चौतारी । बेलीचमेलीको सुगन्ध । अविचल पहाड । सूर्य उदाउने र अस्ताउने हिमाल । बादलको अमूर्त बुट्टामा रमाउने क्षितिज । एक अनुपम सौन्दर्य ।

थुप्रै छन्, गाउँसँग गाँसिएका साइनो । मनभित्र गाउँका अन्त्यहीन सम्झना । स्कुले जीवन । बाल्यकालका साथीभाइ । प्रियजनको सम्झनाको तरेली । खेतबारी । मेलापात । अर्मपर्म । नीरव आकाशमा उडिरहने गौँथली । त्यसैले गाउँ खास लाग्ने ।

गाउँ छाडेको एक दशक पुग्यो । तर, गाउँ नपुगेको साल छैन । गाउँ फर्कने एउटै मात्र बहाना– दशैँ । किरात राई समुदायमा दशैँ त्यस्तो खास हुँदैन । तर, दशैँ आउँदा चाहिँ बेग्लै उमंग । कारण– गाउँ जाने बहाना ।

तर, अब त गाउँ पनि शून्य लाग्ने । बिरानो लाग्ने । गाउँ पनि हेर्दाहेर्दै बिरानो भयो । जाँदा जाँदै हरायो ! गाउँ र गाउँले फेरिए । देशकै प्रदेशि भइएछ । गाउँ पनि अपरिचित ! गाउँलेले चिन्न छाडे । गाउँलेलाई चिन्न छाडेँ । छिमेकीले नै सोध्न थाले– ‘घर कहाँ हो बाबु ?’

गाउँमा छैनन्, साथीसंगी । छैनन्, युवा । नयाँ पुस्ता सहरमै रमाउने । कोही विदेश पलायन । सुनसान छन् बाटो, दोबाटो र चौबाटा । देउराली र चौतारीमा सन्नटा । एक्लो घर । एक्लो आँगन । गाउँ ‘अपग्रेड’ भयो । तर, गाउँ न गाउँ रह्यो, न त सहरै बन्यो ।

अहिले गाउँ, गाउँ जस्तो छैन । गाउँ मासियो । मासिए चौतारा, पार्टी–पैवा, कुवा, पधेरो, खेल्ने चौर, ढिकीजाँतो । हराए डन्डीबियो, बाघचाल, चुङ्गि र गट्टा । सबैको हातहातमा स्मार्ट फोन । त्यसैमा मस्त । हट्यो, दौँतरीहरूसँग रमाउने चलन । छैनन्, पँधेरामा दुःखका सुस्केरा छोडाउने भाउजू–बुहारी ।

गाउँमा सबै फेरियो । फेरियो स्वाद । फेरियो तिर्खा । कुवा र धाराको पानीले मेटिँदैन प्यास । रेडबुल र कोकाकोलाको घुड्की लगाउनुपर्छ । करेसाबारीमा छैन तिहुन–तरकारी । हाटबजार बन्यो करेसाबारी । रातो भाले सेतो बन्यो !

गाउँमा छैनन्, साथी । छैनन्, युवा । बूढापाका र केटाकेटी ओगटेको छ । कस्तो खल्लो गाउँ ! गाउँका सुन्दर मुहार भ्याकुले चिथोर्यो । चौतारा र कुवाहरू पर पु¥याइदियो । कतिलाई मेटाइदियो । बाँकी रहेका चौतारोमा पनि गफिन्दैनन् कोही ।

हिँड्न छाड्यो गाँउ । गाउँ त ट्याक्टर र गाडी चढ्न थाल्यो । कोदालोले फोर्दैन डल्ला । भ्याकुले फोरेको पाखा हेरेर रमाउँछ । खनजोत गर्दैनन्, खेतबारी । बोराको चामल ओसार्छन् । छैन गोठमा गाईबस्तु । भट्भटेले ओगट्यो ।

घरको न्यानो छानो चिसियो । हरायो खर । छायो जस्तापाता । ढल्यो धुरी । बन्यो छत । छैन, रातो माटो र कमेरोले पोतेर चिटिक्क पारिएका घर । छैन, कौसीमा पाकेका राता फर्सी । घुरेनमा झुण्डिएको पहेलो काँक्रा ।

गाउँ ‘अपग्रेड’ भयो । तर, के–के नमिले जस्तो । गाउँ न गाउँ रहेछ, न त सहरै बन्यो । बेमैसमी फलजस्तो कच्रक्क परेको । अझ भनौं, ठेकेदारले अलपत्र पारेर छाडेको भवनजस्तो । कासन नपुगेको सेलरोटीजस्तो ।

मासियो रैथाने खाना । अँगेनामा बल्दैन आगो । दाउरामा पाक्दैन भात । बाँसको ढुंग्राले फुँ फुँ गर्ने जमाना हरायो । घरघरमा ग्यास । दाउरामा पकाएको खानाको स्वाद जिब्रोले भुल्यो ! सहर छिर्यो ढिँडो ! तारे होटेलमा बन्यो बास । गाउँका रोधि पनि बजारै छिर्यो । बन्यो दोहोरी साँझ । पैसा कमाउने अस्त्र ।

गाउँमा बाँझै छन्, लटरम्म धान फल्ने खेतहरू । गह्राहरू घडेरी बने । धान फल्ने खेतमा ठडियो भवन । खाजा बजारबाट खरीद गर्नुपर्छ । डल्ले खुर्सानीलाई रामेन चाउचाउले विस्थापित गरिसक्यो ।

गाउँमा सुविधाहरू बढे । पहिला एक घर एक हल गोरु हुन्थ्यो । अहिले एक घर एक भटभटे ! धुलाम्मे मोटर बाटो । कतै कतै होमस्टे । नाम ‘टिपिकल’ गाउँले । तर, तिनले दिने खाना र सुविधा सहरीया !

गाउँमा बजेट, सहरमा मान्छे । अधिकांश परिवारको नयाँ पुस्ता सहरमै रमाउने । कोही विदेश पलायन । श्रीमान् विदेशमा । श्रीमती सहरमा । असीमित चाहना । गाउँ वृद्धा बाआमाको खातामा ।

सहर छिरेकालाई गाउँ सम्झने बहाना थियो– दशैँ । तर दशैँमा पनि गाउँ फर्कन छाडे, युवा । पहिले घरमा दशैँ आउँथ्यो । अचेल परदेश जान्छ । सहर जान्छ । त्यस्तै गाउँ सुनसान छ । सुनसान छन्, बाटो, दोबाटो चौबाटा, मेलापात, देउराली, चौतारी, भञ्ज्याङ । घर एक्लो । आँगन एक्लो ।

भेटिन छाडे स्कुले साथीभाइ । भेटिहाले पनि ससुराली जाँदै गरेका । माइती आउँदै गरेका । प्याट्ट पेट लागेका । कोही विदेशबाट भिडियो कल गर्छन् । सोध्छन्– ‘दशैँमा गाउँ गयौँ ? कस्तो भयो दशैँ ? गाउँका दुई÷चार थान तस्बिर पठाउन ।’

एक दशक अगाडिसम्म गाउँको रमाइलो बेग्लै थियो । बजार झर्नेको संख्या न्यून थियो । विदेशिने लहड थिएन । दुःख गरेर पनि गाउँमै बस्थे । तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ । गाउँ–गाउँमा विकास पुगेको छ । तर, मान्छे छैनन् ।

गाउँले थप सेवा सुविधा खोज्दै सहर छिरे । विदेश जना थलेपछि महत्वकांक्ष बढ्यो । गाउँले अघायो । सहर भासिए । ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तियो । खेतीयोग्य जमिन वनमाराले ढाकिन थाले । एक घर एक वैदेशिक रोजगार ! कमाए पैसा । रमाए सहरतिरै ।

गाउँ बजारमा आश्रित बन्यो । वैदेशिक रोजगारी र सहर मोहले गाउँ रित्तियो । सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले सन्नाटा छायो । दक्ष जनशक्तिले भित्र्याएकोे विप्रेषणले बलेको छ चुलो ।

देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगारमुलक व्यवसायमा समेत सन्तुष्ट छैनन् । खाँडी नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन ! विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किँदैन । त्यसैले गाउँ रित्तिएका छन् ।

शहर र परदेशले गाउँलाई परनिर्भरतातर्फ धकेलिरहेको छ । गाउँमा सहरिया भौतिक विकास र सुविधा पुगेको छ । तर, गाउँको अभौतिक पहिचान, सभ्यता र सम्पदा गुम्दै गएको छ । गाउँलाई सहरको सुख सुविधा भोग्न पाउँछौ कि पाउँदैनौ भन्ने चिन्ता छ ! सहरकै कपी गर्ने व्यस्त छ ।

हुर्के बढेका छोराछोरीको नजर सहर र विदेशमा छ । समाज पुरै पैसामुखी बनेको छ । मान्छेको इज्जत सम्पत्तिमा अल्झिएको छ । पैसा नहुने या नकमाउनेलाई मान्छे नै नमान्ला भन्ने भय छ !

गाउँमै कमाउनको लागि अनगिन्ती सम्भावना छन् । तर, धेरै दुःख नगरी धेरै कमाउनु छ । छिटो धन कमाउने लालसा छ । त्यसैले त गाउँबाट शहर र परदेश पलायनको लहड तीब्र छ । बाजेले खोस्रेको पाखोबारी र बाउले जोडेको खेत बेचेर सहर हानिएका छन् ।

भन्नालाई त भन्छन्– चरा उडेर जहाँ पुगे पनि थाकेपछि गुड नै फर्कन्छ । तर, उक्त भावमा जीर्ण भइसक्यो । गुँडै भत्काएर उडेको बचेरा फर्कन्छ भन्ने आशा पनि छैन ।

गाउँमा विकास नहोस् भन्ने होइन । तर, गाउँ र गाउँलेको जीवन बदलिइरहँदा गाउँका त्यस्ता केही खास आदर्श र विशेषता नास नभइदिए हुन्थ्यो भन्ने लाग्छ । गाउँ मासिँदा नमासियोस् स्वच्छ मुस्कान । स्वाभिमानी भाव । लोक–सांस्कृतिक परम्परा । सामूहिकताको भाव । मानवीयता । गाउँ गाउँकै रुपमा विकास होस् ।

प्रतिक्रिया दिनुहोस्