Logo
Logo

साहित्यकार–राजनीतिज्ञ भट्टको अभिनन्दन फागुन २३ मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २४ माघ । प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन आगामी फागुन २३ गते यहाँ हुने भएको छ । वरिष्ठ माक्र्सवादी चिन्तक भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा व्यवस्थापन र आरएम डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । अभिनन्दनका अवसरमा प्रलेसका पूर्वअध्यक्ष भट्टको जीवनी, व्यक्तित्व र कृतित्वसम्बन्धी लेखरचना समेटेर अभिनन्दन ग्रन्थ र परिचय पुस्तिका पनि प्रकाशन गरिने छ । कृतिका लागि फागुन १० गतेसम्म लेखरचना पठाउन आयोजक समितिले लेखकहरुलाई आग्रह गरेको छ ।

विसं १९९३ असोज २५ गते पिता जयदेव र माता हीरादेवीको कोखबाट जुम्लामा जन्मनुभएका भट्टका काव्य, समालोचना एवं समीक्षा, निबन्ध, दर्शन, भाषा र राजनीतिसम्बन्धी कृति र अनुवाद गरी १६ कृति प्रकाशन हुनाका साथै उहाँले केही साहित्यिक पत्रिकाको सम्पादन पनि गर्नुभएको छ । उहाँले करीब ३५ वर्ष त्रिविअन्तर्गतका धनकुटा, सुनसरी, चितवनका कलेज, अङ्ग्रेजी केन्द्रीय विभागमा अध्यापन, त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपनिर्देशक रही सेवा गर्नुभएको थियो । विसं २००९ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका उहाँ नेकपा (एमाले)का बैतडी जिल्ला र सेती अञ्चल सचिव तथा संस्कृति विभाग सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष रही सक्रिय हुनुभएको थियो । दलीय गतिविधि र राजनीतिक–साहित्यिक आन्दोलनका क्रममा उहाँ पटकपटक गिरफ्तारमा परी कारागारमा रहनुभएको थियो । नेपाल प्राध्यापक सङ्घका अध्यक्षसमेत रहनुभएका भट्टले केही पुरस्कारका लागि आर्थिक सहयोग पनि गर्नुभएको छ ।

प्रलेसका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक गिरीले आफ्नो सक्रिय जीवनमा राष्ट्रका लागि निकै योगदान दिनुभएका प्रगतिशील व्यक्तित्वको जीवनकालमै अभिनन्दन गर्ने प्रलेसको नीति भएको जानकारी दिनुभयो । प्रलेसका पूर्वअध्यक्ष मातृका पोखरेलले भट्टले विसं २०२८ माघ १७ गते भरतपुर दियालो बङ्गलामा राजा महेन्द्रसँगको भेटमा (सोही दिन महेन्द्रको निधन) जनताको नासो प्रजातन्त्र जनतालाई नै सुम्पन आग्रह गर्नुभएको जानकारी दिनुभयो । प्रा केशव सुवेदीले भट्टसँग राजनीति, प्राध्यापन, साहित्य र दर्शनका अनेक ज्ञान र अनुभव भएको बताउनुभयो ।

भट्ट अभिनन्दन प्रचारप्रसार उपसमितिका संयोजक डङ्गोलको अध्यक्षतामा बिहीबार बसेको उपसमितिको बैठकले छापा र विद्युतीय माध्यम खासगरी सामाजिक सञ्जालमा भट्टको व्यक्तित्व र कृतिको व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्