राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जीवनीमा कम चर्चा हुने एउटा पाटो हो, उनको सैन्य जीवन । महागुरु फाल्गुनन्दलाई आध्यात्मिक व्यक्तित्व, धर्मगुरु, योग साधक र समाज सुधारकको रूपमा चर्चा गरिन्छ । तर, उनी एक लडाकु ‘लाहुरे’समेत थिए । महागुरु फाल्गुनन्दले १२ वर्ष ब्रिटिस गोर्खा फौजमा सहभागी भएर प्रथम विश्वयुद्ध लडेका थिए ।
महागुरु फाल्गुनन्दको ऊर्जाशील समय पल्टनमा बित्यो । जीवनको उत्तरार्धमा उनले शान्ति, अहिंसा, मानवता, समानता र प्रकृति संरक्षणका पक्षमा लागिपरे । महागुरु फाल्गुनन्दको पल्टने जीवन खण्डबाट तत्कालीन नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवेशलाई चिहाउन सकिन्छ ।
त्यसपछि फाल्गुनन्दले बन्दुक उठाए
महागुरु फाल्गुनन्दको जन्म इलामको माङसेबुङ गाउँपालिका २ चुक्चिनाम्बामा भएको थियो । उनी बुबा हंसवन्त (जगुनवाज) लिङदेन र आमा हंसमती बेघाको कोखमा वि.सं. १९४२ कात्तिक २५ गते जन्मिएका थिए । गरिब किसान परिवारमा जन्मिएका फाल्गुनन्दको बाल्यकाल र किशोरावस्था कठिन आर्थिक परिवेशमा गुज्रेको थियो । त्यस बेला विश्व राजनीति प्रथम विश्वको पूर्व सन्ध्यामा थियो ।
महागुरु फाल्गुनन्दका साइला दाइ राजवन्त लिङदेन ब्रिटिस गोर्खा सेनाका रूपमा बर्मामा कार्यरत थिए । राजवन्तका छिमेकी बलबधु योङहाङ पनि गोर्खा पल्टनमा कार्यरत थिए । वि.स. १९६४ बलबधु छुट्टीमा घर (चुक्चिनाम्बा) आएका थिए । बलबधुलाई राजवन्तले आफ्ना भाइ फलामसिं (फाल्गुनन्दको चिनाको नाम)लाई पनि लिएर आउन भनेको थिए । पछि बलबधुका साथ महागुरु फाल्गुनन्द बर्मा पुगे ।
महागुरु फाल्गुनन्दलाई आध्यात्मिक व्यक्तित्व, धर्मगुरु, योग साधक र समाज सुधारकको रूपमा चर्चा गरिन्छ । तर, उनी ‘लाहुरे’समेत थिए । उनले ब्रिटिस गोर्खा फौजमा भर्ती भएर प्रथम विश्वयुद्ध लडेका थिए ।
बर्मामा पुगेपछि पल्टनमा सैन्य पोसाक लगाउन उर्दी भएपछि मात्र आफू ब्रिटिस सेनामा भर्ती भएको थाहा पाए । बलबधुले दार्जिलिङको ‘गोर्खा रिक्रुटिङ डिपो घुम’मा नै गोर्खाली सेनाका निम्ति उनको नाम टिपाएका रहेछन् । सुरुमा उनले सैन्य तालिममा सहभागी हुन मानेनन् । सो कुरा रमेश तुम्बापो र मनकुमार फेजङले लेखेको ‘निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’मा उल्लेख छ ।
फाल्गुनन्दले ब्रिटिस गोर्खाली अफिसरलाई भने ‘यहाँ म त मेरो दाजु राजवन्तलाई भेट्न मात्र आएको हुँ । मलाई लडाइँ–झगडा हत्या, हिंसा मन पर्दैन (तुम्बापो र नेम्वाङ, २०८०, २०) ।’
तर, त्यहाँ पुगिसकेका उनलाई फिर्ने कुनै मौका थिएन । अन्ततः, उनी सैन्य तालिममा सहभागी भए । युद्ध कौसल, हतियार चलाउने तालिम लिए । त्यसपछि प्रथम विश्वयुद्धमा ब्रिटिस पक्षमा बन्दुक उठाए ।
फाल्गुनन्द ‘सेभेन गोर्खा राइफल्स’का एक सिपाहीका रूपमा तीन वर्ष काम गरेपछि हवलदार पदमा पदोन्नति पाए । उनी भर्ती भएको तीन वर्षपछि स्वदेश फिर्न चाहेका थिए । तर, पहिलो विश्वयुद्धको पूर्व सन्ध्यामा ब्रिटिस सरकारले फाल्गुनन्दलाई सेवाबाट कटौती गर्ने कुरै भएन ।
ब्रिटिस गोर्खा सेनामा भर्ना हुनुपर्ने नियति
पहिलो विश्वयुद्धमा नेपालका पहाडी क्षेत्रबाट दुई लाख युवा ब्रिटिस सेनामा भर्ती भएको झलक सुवेदीले ‘ब्रिटिस साम्राज्यको नेपाली मोहरा, गोर्खा भर्तीको नालीबेली’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।
महागुरु फाल्गुनन्दलाई भर्ती लिइएको ‘गोर्खा रिक्रुटिङ डिपो घुम’ दार्जिलिङमा सन् १८९० मा स्थापना भएको थियो । सो रिक्रुटिङ डिपोबाट नेपालका पूर्वी पहाडी गाउँबाट दसौँ हजार युवालाई भर्ना लिइन्थ्यो ।
घुम रिक्रुटिङ डिपोले नेपालको इलाम, धनकुटा, भोजपुर क्षेत्रका युवालाई ब्रिटिस गोर्खा र आसाम राइफलमा भर्ती गराउने गरेको मिङमा पाख्रिनले आफ्नो लेख ‘घुम रिक्रुटिङ डिपो र गोर्खा स्टोरिज’मा चर्चा गरेका छन् ।
प्रथम विश्वयुद्धताका नेपालमा जम्मा ५०–५५ लाख मानिस र सरदर आयु २९ वर्ष थियो । देशमा गरिबी, रोग व्याधि र बेरोजगारी व्याप्त थियो । कृषिमा आश्रित तत्कालीन समाजका निम्ति ज्यान बन्दुकको नालअघि उभ्याएर पल्टन लाग्नु नेपाली नियति थियो ।
बेलायतको हाउस अफ कमन्सको डिफेन्स कमिटीले सन् १९८९ मार्च २ मा पेस गरेका एक रिपोर्टअनुसार पहिलो विश्वयुद्धमा २० हजार गोर्खालीहरू मारिएका थिए ।
महागुरु फाल्गुनन्द पल्टन भर्ती हुँदा नेपाली ब्रिटिस गोर्खाली पल्टन सुरु भएको एक सय वर्ष नाघीसकेको थियो । उनी आवद्ध पल्ट ‘सेभेन्थ गोर्खा राइफल्स’ (सेभेन्थ जि आर) सन् १९०२ मा गठन गरिएको थियो (सुबेदी, २०७५, ५३) ।
सो पल्टनमा खास गरेर लिम्बू र राई युवालाई भर्ती गरिन्थ्यो । सन् १८१५ देखि नै अंग्रेज–नेपाल युद्ध (सन् १८१४–१६) का बन्दी नेपाली युवालाई समेटेर गोर्खा पल्टन सुरु गरेको सुबेदी उल्लेख गर्छन् ।
महागुरु पल्टनमा रहँदा हिंसा, हत्या र मारकाटमा जोड गरेनन् । पल्टनमा पनि उनले ध्यान, जप र माङसेवा गरिरहन्थे । पल्टनमा रहँदा फाल्गुनन्दको नाम ‘ध्यानी हवलदार’ (तुम्बापो र नेम्वाङ, २०८०, २६) रहेको थियो ।
वि.सं. १९७१ देखि प्रथम विश्वयुद्ध सुरु भयो । उनी थुप्रै युद्ध र मुठभेटमा सहभागी थिए । तर, उनले ‘शत्रुलाई मार्छु भनेर कहिल्यै नसोच्नु’ भनेर आफ्ना सिपाहीहरूलाई सम्झाउने गरेको उल्लेख भएको पाइन्छ ।
वि.सं. १९७५ कात्तिक २६ मा प्रथम विश्वयुद्ध समाप्त भयो । त्यसपछि ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएका हजारौँ युवा नाम काटेर घर फर्किए । सोही क्रममा महागुरु फाल्गुनन्द १९७६ पुसमा स्वदेश फर्केका थिए ।
योद्धा बने शान्तिका अभियन्ता
पल्टनबाट फर्केपछि महागुरु फाल्गुनन्दले शान्ति र अहिंसाको सन्देश छर्दै नेपाल, भारत र भुटानको यात्रा गरे । विश्वयुद्धको त्रासदी, हिंसा र नरसंहार भोगेर फर्केका महागुरु फाल्गुनन्दले युद्धले मानव समुदायमा पारेको चोटको पीडबाट परिचित थिए ।
पल्टने जीवनपछि उनको अधिकांश समय पान्थरको लब्रे र सिलौटीमा बितेको थियो । पान्थर लब्रेमा वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुचुल्का निर्माण गरेर अहिंसा, शान्ति, शिक्षा, समानता र मानवतामा जोड दिएका थिए ।
भौतिकवादीहरू ‘शान्तिका लागि युद्ध’ पनि भन्ने गर्छन् । तर, युद्ध र शान्ति विपरीत हुन् । भौतिकवादी दृष्टिकोणले हेर्दा युद्धबाट समस्याहरू समाधान त होलान् तर शान्ति मिल्दैन । युद्धको समाप्ति पछि शान्तिको वातावरण त बन्ला तर युद्धका घाउहरू युगौँ युगसम्म रहन्छ ।
चाहनाहरूबाट अपवाद युद्धहरू भएका छन् । मूलतः युद्ध परिस्थितिको उपज हो । विश्वयुद्ध पनि परिस्थितिकै परिणाम थियो । जुन युद्धमा महागुरु फाग्लुनन्द सामेल भए । विभिन्न पुस्तक तथा लेखहरूमा ‘युद्धमा महागुरुबाट हिंसा भएन’ भन्ने नै उल्लेख छ । तर, योद्धा पनि युद्धहरूबाट सिर्जित सम्पूर्ण परिस्थितिको भागीदार हुन्छ ।
युद्ध र शान्तिको यात्रा बिलकुल मिल्दैन । तर, यहाँ अहिंसा र शान्तिको कर्मबाट युद्धको बाटो रोजिएको छैन । युद्ध अगाडि पनि अहिंसा र शान्तिको पक्षधर महागुरुले युद्धपछि पनि युद्ध अघिकै बाटो रोजेका छन् । र, युद्ध पछि महागुरुले लिएको शान्तिको यात्राले विश्वलाई एउटा सन्देश दिएको छ ।
शान्ति पक्षधरताको आलोकमा उभिएर क्रूर युद्धको वर्तमानमा बाच्नु महागुरुलाई पक्कै सहज थिएन । तर, परिस्थितिको सामना गर्नु नै वर्तमानमा बाच्नु हो । त्यसैले युद्ध सहे । तर, रम्न सकेनन् । र, पुनः आफ्नै धरातलमा फर्केर अहिंसा र शान्तिको सन्देश छरे ।