Logo
Logo

नेपाल भ्रमण वर्ष : भूटानबाट सिकौं


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


बडो उत्साह र हर्षोल्लासका साथ उद्घाटन गरिएको नेपाल भ्रमण वर्ष २०२० चीनमा फैलिएको कोरोना भाइरसले संक्रमित हुन पुगेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट चिनियाँ पर्यटकहरु नेपाल भित्रने ठूलो आशा गरिएको थियो । त्यसै अनुरुप हिमालयन एयरलाइन्स र नेपाल वायुसेवा निगमले चीनको विभिन्न गन्तव्य तय गरेका थिए । तर दुर्भाग्य, कोरोना भाइरसका कारण ती उडानहरु स्थगित गरिनुप¥यो । चीनले सन् २००९ देखि नै नेपाललाई आफ्नो देशको प्राथमिकतामा राखेको छ । तर, चिनियाँ पर्यटकहरु नेपालमा भन्दा बढी थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुबईलगायत युरोपियन देशमा आकर्षित भएका छन् । धेरै खर्च गर्न सक्ने चिनियाँ पर्यटक परिवारसहित ती मुलुक पुग्छन् । नेपालले चीनबाट धेरै खर्च गर्ने पर्यटक ल्याउन नसक्नुको कारण र रणनीति बनाउनु आवश्यक छ ।

उता भूटानले संख्यामा कम तर धनाढ्य पर्यटक भित्र्याउने आफ्नो नीतिअनुसार आउँदो जुलाई महिनादेखि लागू हुने गरी भूटानसँग ‘विशेष’ सम्बन्ध भएको भनिएको भारत र बंगलादेश तथा माल्दिभ्सका पर्यटकलाई प्रतिदिन सत्र अमेरिकी डलर ‘दिगो विकास शुल्क’ लगाउने निर्णय गरेको छ । भूटानले अन्य मुलुकका पर्यटकलाई पहिल्यैदेखि नै प्रतिदिन न्यूनतम २५० अमेरिकी डलर अनिवार्यरुपमा खर्च गर्नुपर्ने नियम लगाई आएको छ । लगभग साढे सात लाख जनसंख्या भएको भूटानमा सन् २०१८ मा दुई लाख ७४ हजार ९७ पर्यटक भित्रिएका थिए । जसमध्ये दुई लाख भारत, बंगलादेश र माल्दिभ्सका पर्यटक थिए । तीन करोड जनसंख्या भएको नेपालमा सन् २०१७ मा लगभग आठ लाख पर्यटक भित्रिएका थिए । तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकको औषत बसाई १३ दिन र औषत प्रतिदिन खर्च ५४ देखि ६० डलर हो ।

जसरी भूटानले आफ्नो राष्ट्रको हितअनुकूल मौलिक पर्यटन नीतिका माध्यमबाट आफ्नो संस्कृति र पर्यावरणको सुरक्षा गर्दै आफूले धान्न सक्ने मात्र गुणस्तरीय पर्यटक भित्र्याएर देश र जनताको आय वृद्धि गरेको छ, त्यसैगरी हामी (नेपाल) चाहिँ संख्यामा मात्र सीमित भएर पर्यटकलाई नेपाल भित्र्याउन खोजिरहेका छौँ । यस्तो नीतिले न त राष्ट्रिय आयमा वृद्धि हुनेछ, न त रोजगारीकै सिर्जना हुनेछ । यहाँ त पर्यटक भिषाको दुरुपयोग गरेर विदेशी नागरिकहरुले काम गर्ने, आपराधिक क्रियाकलाप संलग्न हुने गरेको पाइएको छ । तसर्थ, नेपालमा जबसम्म खर्चालु र गुणस्तरीय पर्यटकको आगमन हुँदैन तबसम्म पर्यटनको माध्यमबाट राष्ट्रलाई समृद्ध बनाउने कुरा कोराकल्पनामै सीमित हुनेछ । विदेशी नागरिकको आर्थिक अवस्था नहेरी जुन खुलारुपमा ‘अनअराइभल’ भिषा दिने नीति छ, त्यसले मुलुकको आयमा वृद्धि हुनेछैन । नेपाल आउने पर्यटकको संख्या वृद्धि भएता पनि यहाँका तारे होटलका कोठा खाली नै रहिरहनेछन् र ठमेलजस्ता क्षेत्रमा बस्न आउने दरिद्र पर्यटकको मात्र संख्या वृद्धि हुनेछ ।

तसर्थ, हामी (नेपाली) जसरी विदेश घुम्न जाँदा होटल बुकिङ र आफूसँग सम्बन्धित देशको कानूनअनुसार हुनुपर्ने न्यूनतम रकम भएमा मात्र भिषा दिइन्छ, कमसेकम त्यस्तो नीति नेपालमा ल्याउनु पर्दछ । उदाहरणका लागि विश्व आर्थिक महाशक्ति राष्ट्र चीनका नागरिकलाई कुनै शुल्क नलिई नेपालले आगमन भिषा दिएता पनि चीनका नागरिकको रोजाइमा नेपाल पर्न सकेको छैन । सोही सुविधा पनि भिषामा चीनले नेपाली नागरिकलाई दिएको छैन ।

विमान भाडाबाहेक विश्वकै सस्तो पर्यटकीय गन्तव्यमा नेपाल पर्दछ । तापनि चाहे जति संख्यामा किन पर्यटकहरु भित्रिरहेका छैनन् त ? हाम्रो स्पष्ट पर्यटन–नीति र अझै पूर्वाधारको कमीको कारणले गर्दा हो ।

त्रिभुवन विमानस्थलको भित्री अवस्थामा केही सुधार आएता पनि बाहिरी अवस्थामा खासै सुधार हुनसकेको छैन । एयरपोर्ट ट्याक्सीका नाममा मिटरमा सय रुपैयाँ लाग्ने ठाउँमा न्यूनतम सात सय लिने ब्रम्हलुट चलेकै छ । अरु ट्याक्सीवालाको पनि त्यही गति छ । एयरपोर्टबाट ट्याक्सीमा मिटरमा आफ्नो गन्तव्य पुग्नु असम्भव छ । त्यसमाथि होटल एजेन्टहरुले पर्यटकलाई गर्ने लुछाचुडी आफ्नो ठाउँमा छँदैछ ।

माथिको विश्लेषणबाट के कुरा स्पष्ट हुन्छ भने जबसम्म मुलुकमा गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउन सकिँदैन, तबसम्म पर्यटनको माध्यमबाट देशको कूल आयमा वृद्धि हुन्छ भन्ने कुरा भाषणमा मात्र सीमित हुनेछ । साढे सात लाख जनसंख्या भएको भूटानले पौने तीन लाख गुणस्तरीय पर्यटक भित्र्याउन सक्छ भने हामीले के कारणले पर्यटक भित्र्याउन सकिरहेका छैनौं ? सरकारले गम्भीर रुपमा सोच्नु आवश्यक छ । अझ उसले (भूटान) आफूले धान्न सक्नेभन्दा बढी पर्यटक आए भनेर नयाँ शुल्कको घोषणा ग¥यो । त्यसकारण अबको हाम्रो प्राथमिकता ‘गुणस्तरीय र खर्चालु पर्यटक नै हुनुपर्दछ, अनि मात्र मुलुकले आर्थिकरुपमा कोल्टे फेर्नेछ ।

भूटानबाट नेपालले सिक्नु आवश्यक छ, के नेपालले भारतीय पर्यटकलाई भूटानले लगाएजस्तै प्रतिदिन वातावरण शुल्क लगाउन सक्छ ? प्रश्न गम्भीर छ ।

अन्त्यमा, भर्खरै नेपाल भ्रमण वर्ष सुरु भएको छ । यो भ्रमण वर्षलाई सफल बनाउन अझै पर्याप्त समय छ । सरोकारवालाहरुले यसमा गम्भीरतापूर्वक ध्यान दिने हो भने भ्रमण वर्ष सफल हुने कुरामा दुईमत छैन ।

twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्