Logo
Logo

ऋणमा विमान किनेर कमिशन खाने खेल



काठमाडौं । यतिबेला देशमा जनता चुस्ने र ऋणको भारी बोकाउने धन्दा चलिरहेको छ । त्यो हो विना कुनै अध्ययन र लागत विश्लेषणबिना नयाँ–नयाँ एयरपोर्ट बनाउने र बढीभन्दा बढी विमान थप्ने । देशमा अर्बौ ऋण बोकेर बनाइएका विमानस्थलहरु चल्न सकेका छैनन् । तिनले ऋणको भारी थपिरहेका छन् ।

अर्कोतर्फ, पहाडको टाकुरादेखि तराईका मैदानसम्म जङ्गल माँसेर, जमिन तासेर भएपनि विमानस्थल बनाउने होडबाजी चलिरहेको छ । धरानदेखि ४० किलोमिटरको दूरीमा विराटनगर विमानस्थल छ । तर मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण गर्न अध्ययन टोली बनाएका छन् ।

नेपालमा आन्तरिक उडानको लागि विमान नभएर पहाडी क्षेत्रमा उडान नभएको होइन । यात्रुको अभावका कारण दुर्गम पहाडी क्षेत्रमा नियमित उडान भर्दा आर्थिक नोक्सानी पर्छ भनेर निजी क्षेत्रका विमानहरु दुर्गममा नगएका हुन् । तर, पर्यटनमन्त्री किरातीले यात्रु नै नभए पनि ती ठाउँमा नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको तीनवटा ट्वीनअटर विमान किनेर नियमित उडान गर्ने हावादारी भाषण गर्दै आएका छन् ।

आजभन्दा ३०–४० वर्ष अगाडि दुर्गम पहाडी क्षेत्रमा मोटरबाटो थिएन । त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न गाह्रो हुन्थ्यो । कतिपय जिल्लामा खाद्यान्न ढुवानीको समस्या थियो । कतिपय बिरामी बोक्न गाह्रो थियो । त्यस्तो बेला पञ्चायती सरकारले दुर्गम पहाडी जिल्लालाई नजिकको सहरसँग जोड्न विमानस्थल बनाएको थियो । तर आज हिजो दुर्गम भनिएका जिल्ला मोटरबाटोको सुविधाले सुगम बन्दै गएको छ । जसका कारण महँगो हवाईभाडा तिरेर आवातजावत गर्नेभन्दा सार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् ।

कमिशन आउने वित्तिकै वर्तमान र भविष्य नसोची विमान खरिद गर्न हतारिने प्रवृत्तिका कारण चिनियाँ विमानले निगमलाई ऋणको भारी नै बोकायो । अहिले ती विमानहरु कौडीको भाउमा विक्री गर्ने तयारी बढिरहेको छ ।

अब फेरि निगमले आन्तरिक उडानका लागि भन्दै नयाँ विमान खरिद गर्ने प्रक्रिया बढाएको छ । यसमा पनि ठूलै कमिशनको चलखेल चलेको छ । कमिशनको चक्करमा निगमलाई डुबाउँदै लगेका कार्यकारी प्रमुख युवराज अधिकारी साना विमान खरिद गरेर ऋणको भारी बोकाउने योजनामा लागेका छन् । यसै पनि निगमको विमान दुर्गममा चल्ने नाममा नेताहरुको स्वार्थमा चल्ने गरेको विषय उठ्दै गएको छ ।

दुर्गमका जनताको सेवामा भन्दा शक्तिशाली नेता र तिनका कार्यकर्ताको स्वार्थमा उड्ने र अवतरण गर्ने गरेको छ । अब नयाँ विमान ल्याएमा त्यस्तै नेताको चाकडी गर्नमै खटिनुपर्ने अवस्था आउने नै छ ।

कुनै पनि विमान खरिदमा विस्तृत अध्ययन विश्लेषण हुनेगर्छ । रुटको अवस्था, यात्रुको चाप, आर्थिक लाभ हानी, बजार आकर्षण, सेवामा लचकता, ग्राउन्डेड विमानको अवस्था, विमान उडानको सुरक्षा देखि भ्रष्टाचार र राजनीतिक हस्तक्षेपको गहिरो विश्लेषण हुनुपर्छ ।

खरिद गर्ने विमानले आर्थिक लाभ कति समयमा दिनसक्छ, यात्रुको माग, विमान मर्मतको लागत, तालिम र क्लियरेन्स, क्षमता र उडानको उपयोगिता, प्रतिष्पर्धाको अवस्था, उडानसम्बन्धी दुरगामी रणनीति उत्तिकै महत्वपूर्ण हुन्छ ।

तर, निगमले विमान खरिद गर्न लाग्दा यसको ठोस विश्लेषण गरेको देखिँदैन । देशमा भ्रष्टाचार यसै पनि बढी छ । त्यसमाथि निगमलाई दुहुनो भैंसी बनाउने गतिविधि माओवादीकालमा बढ्दो छ । देशमा सडक यातायात विकास हुँदा महँगो विमानको यात्रा गर्ने घटिसकेका छन् । यस्तो अवस्थाबीच निगमले आन्तरिक उडानका लागि भन्दै विमान खरिद गर्नु करोडौं कमिशन खानेबाहेक अर्को नियत देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्