Logo
Logo

यात्रामा छुटेका भीम रावल



काठमाडौं । नेकपा एमालेले ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सुरु गरेको छ ।

बिहीबार बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरे । १ हजार ८७९ किलोमिटर लामो १९ दिने यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ ।

अभियानका लागि पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, सविच योगेश भट्टराईलगायतका पदाधिकारी र केन्द्रीय नेताहरु बैतडी पुगेका थिए ।

एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ सुदूरपश्चिमबाट थालेपनि सुदूरपश्चिमकै नेता भीम रावल भने छुटेका छन् । उनलाई एमालेले फेरि एकपटक उपेक्षा गरेको छ । एमालेका पूर्वउपाध्यक्ष रावल यो अभियानमा संलग्न छैनन् । कुनैबेलाको प्रभावशाली नेता रावल ‘बाइटक’मा परेका छन् ।

प्रदेश अध्यक्षले फोन सम्पर्क गरेर कार्यक्रममा सहभागी हुन रावललाई आग्रह गरेका थिए । रावलले पार्टीले जानकारी नदिएको भन्दै अध्यक्षको निम्तो खोजे । तर, ओलीको सचिवालयले महासचिवलाई अगाडि सार्याे । महासचिव शंकर पोखरेलले निम्ता आवश्यक ठानेनन् ।

नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्रदेश अध्यक्ष कृष्ण जैसीले फोनमा पत्र पठाऊँ कि भन्नुभयो । मैले भने अभियान प्रदेशको भए तपाईँले भन्दा आइहाल्थे तर केन्द्रको भएकोले तपाईँ अध्यक्ष (ओली)लाई फोन गरी मेरो सहभागीताबारे कुरा गर्नुहोस् । उहाँले मलाई भन्नुभयो भने म सहभागी हुन्छु । केही समयपछि उहाँले फोनमा भन्नुभयो, अध्यक्षको स्वकीयसँग कुरा गर्दा महासचिवसँग कुरा गर्न भनियो । महासचिवसँग कुरा गर्दा इच्छा हुनेले जाँदा हुन्छ भन्ने जवाफ आएकाले तपाईँ झुलाघाट जानु परेन, अछाम आफ्नै किसिमले गए हुन्छ । अब विवेकशील व्यक्तिले सोचौँ । यही हो त अभियानमा निम्ता गरिने काइदा ?’

नेता रावललाई एमालेले यसरी बाइकट गरेको पहिलोपटक भने होइन । हालै सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पनि रावल बाइकट भएका थिए ।

अधिवेशनमा रावललाई नबोलाइएको भन्दै उद्घाटन सत्रमा अध्यक्ष ओलीले बोलिरहँदा रावल समर्थक कार्यकर्ताले ‘भीम रावल खै ?’ भन्दै नारा लगाएका थिए । तर, ओलीले त्यसको जवाफ दिएनन् । उल्टै प्रतिप्रश्न गरे– ‘किन भीम रावलका पछि लाग्नुहुन्छ, अरु रावल छैनन् ?’ त्यसपछि एमालेभित्र असन्तुष्टि चुलिएको थियो ।

तत्कालीन नेकपा विभाजन र अदालतको आदेशपछि २०७७ सालमा एमाले र माओवादी केन्द्र अलग बन्न पुगे । त्यसबेला नेता रावल वरिष्ठ नेता माधवकुमार नेपाल खेमामा थिए । तर, माधवले पार्टी विभाजन गर्दा रावलसहित घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगायतका १० नेताले साथ दिएनन् । उनीहरु एमालेमै रहे ।

‘१० भाइ’ १० बुँदे सहमतिको आधारमा एमालेमै रहे । १० भाइमा रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोर्कण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।

उनीहरुमध्ये रावल र भुसाल ओलीको इच्छाविपरीत पार्टीको आन्तरिक निर्वाचनमा होमिए । ओलीसँगै अध्यक्ष पदका लागि भिडेका रावल पराजित भए । भुसाल भने महासचिवमा शंकर पोखरेलसँग पराजित भए । त्यसपछि उनीहरु कर्नरमा पर्न थाले ।

गएको संसदीय निर्वाचनमा १० भाइमध्ये योगेश भट्टराई, गोर्कण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीम आचार्यले मात्र टिकट पाए । टिकट नपाएपछि घनश्यामले स्वतन्त्र उम्मेदवार दिए । त्यसपछि भुसाललाई एमालेले कारबाही गर्यो । कारबाहीमा परेपछि उनी नेकपा एकीकृत समाजवादी गए । र, अहिले भुसाल सो पार्टीको महासचिव छन् ।

टिकट नपाएपनि रावल भने एमालेमै रहे । र, अहिलेसम्म पनि एमालेमै छन् । तर, उनी घर न घाटको बनेका छन् । एमालेको औपचारिक कार्यक्रममा आफूलाई सहभागी गराउने विषयमा सामाजिक सञ्जालमा दुःख पोख्दै बसेका छन् ।

ओलीले सुदूरपश्चिमको इन्चार्ज रावलबाट खोसेर माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई दिएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा आफूविरुद्ध नउठ्ने अरु १० बुँदेवालासँग भने ओली केही लचिलो बन्दै आएका छन् ।

गत निर्वाचनलगत्तै एमालेले ‘ग्रासरुट अभियान’ चलायो । त्यसबेला उपाध्यक्ष विष्णु पौडेल सुदूरपश्चिम जाने क्रममा रावलको गृहजिल्ला अछाम पुगे । अछाम पुगेर पौडेलले रावलमाथि ‘पार्टी अनुशासन र निर्देशन नमानेको’ तथा निर्वाचनमा टिकटसमेत नेतृत्वसँग नमागेकाले टिकट नदिइएको बताएका थिए ।

एमालेमै संघर्ष गर्ने निष्कर्ष निकालेका रावल उपेक्षा सहँदै बसिरहेका छन् । पार्टीमा कुनै हैसियत पाउन नसकेका उनी ‘न एमाले बन्न सकेका छन्, न अन्य दलको सदस्य’ नै । गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भएपनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन । यसरी एमालेको उपेक्षामा परिरहेका बेला अब रावलले के गर्लान् ?

प्रतिक्रिया दिनुहोस्