Logo
Logo
समाचार टिप्पणी

प्रसाईंले राजा ल्याउने, ओलीले गणतन्त्र जोगाउने



केही विद्यार्थी संगठनहरूले मेडिकल माफियाको रूपमा चित्रण गरिरहेकै बेला प्रचण्ड–केपी ओलीले दुर्गा प्रसाईंसँग ‘मार्सी लञ्च’ सेयर गरेका थिए । मेडिकल कलेजको लाइसेन्स प्राप्त गर्न प्रसाईंले ओलीको कित्ता रोजेको स्पष्ट थियो । तर, केही कारणवश उनले उक्त उद्देश्य पूरा गर्न सकेनन् ।

ओलीलाई हजुरबुवाको नाता लगाउने उनै प्रसाईं पछिल्लो समय राष्ट्र, राष्ट्रियता, राजा र हिन्दू धर्मको नारा बोकेर सडक संघर्षमा उत्रेका छन् । दुर्गाको राजा फर्काउने आन्दोलन र एमालेको गणतन्त्र जोगाउने नाराको सारत्व के हो ? आजका दिनमा यसबारे मन्थन गर्न र स्पष्ट हुन जरूरी छ ।

सचेत मान्छेहरूले सोच्ने बेला
भारतीय हिन्दूवादी प्रभावको धार नेपालमा दुर्गा प्रसाईंले बोकिरहेका छन् । यो कुरा घामजस्तै छ । यसमा घ्यू थप्ने काम नेपाली कांग्रेसका केही नेताहरूले गरिरहेका छन् । यो कुरा आम मानिसहरूले बुझ्नुपर्छ ।

त्यस्तै प्रसाईंले मिटरब्याजबाट पीडित बनेकाहरूको आवाजलाई आवरण बनाएर राजा फर्काउनेजस्तो कुर्तक अघि सारिरहेका छन् । यस्तो बेला पूर्वराजा, राप्रपाजस्ता राजावादी दलहरूको दुर्गालाई साथ छैन ।

दुर्गाको अराजक र अवसरवादप्रति यथास्थितिवादीहरू सचेत देखिन्छन् । तर, यता एमाले भने सचेत देखिएन । गणतन्त्र जोगाउने नारा लिएर एमाले प्रसाईंविरुद्ध परिचालन भइरहेको छ । कतै केपी र दुर्गाको मिलीभगतमा बाहिर जनता भिडाउने र भित्र आफ्नो दुनो सोझ्याउने चाल त हुँदै छैन ? सचेत मान्छेहरूले सोच्ने बेला आएको छ ।

कुनै बेला पञ्चायत जोगाउन मण्डेलहरू जसरी रक्षाकवज बन्थे सोही झल्को दिनेगरी एमालेका युवाहरू गणतन्त्र जोगाउने नारा लिएर सडकमा ओर्लेका छन् । यो सरासर झुट र पाखण्ड काम हो । एमालेले शक्ति परिचालन गरेर दुर्गालाई प्रोत्साहन गर्ने काम गरिरहेको छ । सत्य के हो भने, एमाले वर्तमान गठबन्धन भत्काएर कुनै पनि हालतमा सत्तामा जान चाहन्छ । दुर्गा प्रसाईंलाई देखाएर एमाले सडक र सदन अवरूद्ध पार्ने अवसरको खोजीमा छ ।

अर्कोतर्फ पालैपालो प्रचण्ड–ओलीको नाडी नशा छामेर शक्ति आर्जन गरेका, एमालेका केन्द्रीय सदस्यसमेत बनेर सडकमा पुगेका र पुनः शक्ति सञ्चय गर्न राजतन्त्रको मुद्दा उठाइरहेका प्रसाईं एमालेका केही नेताहरूविरुद्ध तीतो बोल्ने र मिडियामुखी बन्नेमा केन्द्रित छन् ।

सारमा भन्नुपर्दा ओली भर्सेज दुर्गाहरूको लडाइँ लोकतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने हो । खतरा उत्पन्न गराउने नै हो । यत्ति भन्दैमा लोतकन्त्रवादीहरू डराउनुपर्ने अवस्था भने छैन । बरू सचेत बन्नुपर्ने देखिन्छ । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर संविधानको कार्यान्वयनलाई एकमात्र लक्ष्य बनाउन सक्नुपर्छ ।

दुर्गा प्रसाईंसँग किन भयातुर ?
मुखले खासमा दुईवटा काम गर्छ । एउटा खाने, अर्को बोल्ने । खाने बारेमा (ज.क) उपाय छ । जः जोसँग पनि खाने, जति पनि खाने, जहाँ पायो त्यही खाने, जे पनि खाने । अर्को कः कोसँग खाने ? कहाँ खाने ? किन खाने ? कति खाने ? हाम्रो सामाजिक र व्यक्तिगत परिचयको गरिमा खाने र बोल्ने कुरामा निर्भर रहन्छ । केपी–प्रचण्डले हिजो कोसँग खाए ? कोसँग उठबस गरे ? ती कस्ता मान्छे र व्यक्ति थिए ? भनिरहनु पर्दैन ।

माथि भनिएजस्तै बाजे–नाति (केपी–दुर्गा) बीचको लडाइँको चेपुवामा परेका प्रचण्ड यतिबेला सरकारको नेतृत्वमा छन् । उनी प्रसाईंसँग यति भयातुर देखिन्छन् कि भनीसाध्य छैन । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री निवास वरपर ६ महिनासम्म निषेधाज्ञा जारी गर्न बाध्य छन् । यसरी प्रचण्ड र ओलीलाई दुर्गा एक्लै भारी पर्नुको कारण उनीहरूको उठबस जिम्मेवार देखिन्छ ।

अर्को कुरा, यदि बाजे–नातीबीच साँच्चै पानी बाराबारको अवस्थामा पुगेकै हो र यिनीहरूले सरकारविरूद्ध सडक नौटङ्की गरेका होइनन् भने ओलीले सिङ्गो पार्टी परिचालन गर्नुलाई राजनीतिक अर्थ दिन सकिन्छ ।

माओवादी, एमाले हुँदै राजावादी बनेका दुर्गाले जनजीविकाका मुद्दालाई आवरण बनाएर वर्तमान व्यवस्थालाई कुरूप देखाउन जुन खालका चेष्टा गरिरहेका छन्, ती चेष्टामाथि चिन्तन गरेर सरकारले जनतालाई सत्य कुराका बारेमा जानकारी दिनुपर्छ ।

साथै, कुनैबेला भारतीय आर्थिक नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका ओली गणतन्त्र रक्षामा उभिएर आफूलाई गणतन्त्रवादी नेता पुष्टि गर्ने दाउमा देखिन्छन् । संसद् विघटनपछि संविधान विरोधी नेताका रूपमा चिनिएका ओली संविधानबारे सत्तामा रहेका दलहरू मौन बनेको फाइदा उठाउँदै आफूलाई संविधानको रक्षकका रूपमा उभ्याउने प्रयास गरिरहेका छन् ।

दुर्गालाई नेता बनाउने ओली
दुर्गा प्रसाईंजस्ता सामान्य व्यक्तिलाई व्यापारीबाट नेता बनाउने ओली हुन् । २०७८ असोजमा ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनमा भएको थियो ।

त्यतिबेला अचानक प्रतिनिधि बनेर विधान अधिवेशनमा प्रसाईं देखिएपछि झापाका एमाले नेताहरूले नेतृत्वसँग आवश्यक जानकारी लिने प्रयास गरेका थिए । तर, ओलीको व्यक्तिवाद सामु स्थानीय नेताहरूको केही चलेन ।

विधान अधिवेशनको दुई महिनापछि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा प्रसाईं वैधानिकरूपमै प्रतिनिधि भए । झापाको कुनै कमिटीले प्रतिनिधि बन्न नदिएपछि अध्यक्ष ओलीले आफ्नो जोडबलबाट केन्द्रीय कमिटीबाटै मनोनित गरेका थिए ।

ओलीले बाचन गरेको केन्द्रीय सदस्यको सूचीमा नपरेका प्रसाईंलाई काठमाडौँ फर्किएको दश दिनभित्र ओलीले केन्द्रीय सदस्य मनोनित गरेपछि उनी राजनीतिमा जबर्जस्त उदाएका थिए । यसरी हेर्दा प्रसाईं ओलीका मानसपुत्र हुन् ।

प्रसाईंलाई सिङ्गो एमालेभन्दा प्रियपात्र र नेता बनाएका पनि ओलीले नै हुन् । हजुरबुवाको नाताले सम्बोधन गर्दै ओलीलाई विष्णुप्रसाद विमली र धर्मप्रसाद ढकालको हत्या गरेर १४ वर्ष जेल बसेकोदेखि कम्बोडियाको टेलिकममा लगानी गरेको जस्ता गम्भीर अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्