Logo
Logo

कांग्रेसमा कलह फस्टाउँदै, दुई लाख सदस्य थपेर आजीवन सभापति बन्ने देउवाको दाउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एकपछि अर्को विवादले आन्तरिक कलहमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नयाँ विवाद देखिएको छ । साढे दुई लाख नयाँ क्रियाशील सदस्यता वितरण गर्ने गरी पार्टी सभापति शेरबहादुर देउवा अघि बढेपछि विवाद सुरु भएको हो । १४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गराएर देउवाले कांग्रेसभित्र आफूलाई थप मजबुद बनाउन चाहेका छन् । नयाँ क्रियाशील सदस्य थपपछि कांग्रेसमा क्रियाशील सदस्यको संख्या सात लाख ५० हजार पुग्ने बताइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टीमा हाल चार लाख ९८ हजार क्रियाशील सदस्य छन् । ‘थपिएको संख्यासमेत जोड्दा देउवा निकै बलियो छन् । उनको प्रभाव महाधिवेशनमा थप बढ्नेछ,’ एक केन्द्रीय सदस्यले दृष्टिसँग भने ।

गत बुधबार बसेको केन्द्रीय समिति बैठकले विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको हो । तर, यो निर्णयपछि असन्तुष्टि पनि बढेको छ । पार्टीमा आफूलाई बलियो बनाइराख्न सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता बढाउने नयाँ फन्डा ल्याएको दावी असन्तुष्टहरूको छ । महाधिवेशनमा नेतृत्व हत्याउने भोटको राजनीतिका साथ क्रियाशील सदस्यता वितरण गरिने हँुदा प्रायः विवाद आउने गरेको छ । यस्तो विवाद १३औं महाधिवेशनमा पनि भएको थियो । विवादले उग्र रूप लिएपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति नै गठन गरिएको थियो । तर, सो समितिले देउवाकै चाहनाअनुसार प्रतिवेदन दिएपछि आचार्य पनि विवादमा आएका थिए । कांग्रेसले अहिले पनि क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेसले नगरसम्मको कार्यसमिति क्रियाशील सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट बन्ने गर्छ । वडाबाट प्रदेश र प्रतिनिधिसभाका लागि क्षेत्रीय प्रतिनिधि छनोट गर्ने काम पनि क्रियाशील सदस्यहरूबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनोट हुन्छ । यसले पनि क्रियाशील सदस्यता बाँड्दा आफ्नो पक्ष बलियो बनाउन लडाइँ चल्दै आएको छ । महाधिवेशन प्रतिनिधि क्रियाशील सदस्यहरूले नै छान्ने भएकाले नेताहरू केन्द्रीय सभापति तथा पदाधिकारी र केन्द्रीय सदस्य बन्न आफ्नोलाई मात्र क्रियाशील सदस्य दिन चाहने भएकाले विवाद हुने गरेको कांग्रेस नेता रामहरि खतिवडाको भनाइ छ । कांग्रेसमा क्रियाशील सदस्यको नवीकरण जिल्लाबाटै हुन्छ भने नयाँ क्रियाशील सदस्य वितरण केन्द्रबाट हुन्छ ।

डुबेको कांग्रेसलाई गच्छदारले झन् डुबाए

कांग्रेसले गत निर्वाचनमा फोरम लोकतान्त्रिकसँग पार्टी एकीकरण गरेको थियो । थ्रेसहोल्डको चिन्ताले सताइरहेका बेला गच्छदारले पनि पार्टीलाई कांग्रेससँग मिसाएर आफूलाई डुब्नबाट जोगाउने काम गरेका थिए । तर, तिनै गच्छदारले अहिले कांग्रेस डुबाइरहेका छन् । त्यसोतः कांग्रेस आफँै डुब्दै गएको छ । झन् बालुवाटार प्रकरणमा गच्छदार जोडिएपछि कांग्रेस झन् डुबेको छ । गच्छदारसँगको पार्टी एकताले कांग्रेसभित्र विवाद सिर्जना गरेकै थियो । एकतापछि देउवाले गच्छदारलाई उपसभापति बनाइदिएर विवादको बिउ रोपेका थिए । उनलाई गच्छदारको पार्टीबाट आउने सबैको भोट तानेर आगामी महाधिवेशनमा जित्नु थियो । तर, गच्छदार बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचारमा फसेपछि देउवाको टाउको दुखाइ बनेको छ । अझ, गच्छदारको पार्टीबाट आएका भन्दै सयौँलाई क्रियाशील सदस्यता दिलाउने र त्यसको बलमा आफू बलियो हुने देउवाको रणनीति बुझेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतको गुटले देउवालाई अप्ठेरोमा पारिरहेको छ । देउवाले फोरमबाट र अन्य पार्टी परित्याग गरी आउनेलाई क्रियाशील सदस्यता दिने नाममा क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा नै निलम्बन गरेका छन् । केन्द्रीय समितिले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी निलम्बन गरिएको धारामा क्रियाशील सदस्यता प्राप्त गर्ने विभिन्न मापदण्ड थियो ।

महाधिवेशन अनिश्चित बन्दै

महाधिवेशनको मिति नै निक्र्यौल गरे पनि कांग्रेसले तोकिएको मितिमा महाधिवेशन गर्न सक्ने देखिँदैन । पार्टीभित्रको चर्को विवाद समाधानको लागि भन्दै १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरे पनि कार्यतालिकाअनुसार प्रगति भएको छैन । पार्टीका आन्तरिक संरचना र कांग्रेससँग एकीकरण गरेको फोरम लोकतान्त्रिकसँगको समायोजन माघभित्रै सक्ने भनिए पनि आधाजसो जिल्लामा समायोजन बाँकी छ । त्यसले महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चितजस्तै बनेको छ । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच केन्द्रीय कार्यसमितिबाट पुस ११ गते १४औँ महाधिवेशनको कार्यतालिका पास गराएका थिए । तर, पौडेल र सिटौला पक्षले लगातार बैठक बहिस्कार गरी त्यसलाई अस्वीकार गरेपछि समाधान खोज्न भन्दै गत माघ १३ गते नयाँ कार्यतालिका ल्याए । तर, महाधिवेशन कार्यतालिका लागू हुनेमा कांग्रेसकै नेता आशंका व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्