
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको हो।
उक्त समीक्षामा विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ ।
यस्तै, नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ५ दशमलब५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४ दशमलव ४ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरिएको छ । यसैगरी अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चरलाई २०८० पुससम्मका लागि स्रोतकारुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सो पश्चात् उक्त डिबेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि स्रोतका रुपमा गणना गर्न पाउने व्यवस्था मिलाउने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले गत कात्तिक १७ गते जाजरकोको कारेकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने भएको छ।
त्यस्तै सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।
५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ ।














