
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको बुवासँग भेट गरेका छन् । आज धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन शुदुरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले धनगढी विमानस्थलमा जोशीको बुवासँग भेटघाट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।
प्रधानमन्त्री प्रचण्ड अहिले कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका छन् । सोपश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।














