Logo
Logo
कोरिया सिजनल भिसाको नाममा ठगी धन्दा–१

करोडौँ रकम दलालको कब्जामा, ‘सिजनल भिसा’मा कोरिया पुग्ने सपना चकनाचुर


3.8k
Shares

काठमाडौं । नेपाली युवामा ‘कोरिया सपना’को नाप जाँच नै गर्न सकिन्न । सँगैका साथी कोरिया पुगेर पाँच वर्षको अवधिमा गरेको आर्थिक प्रगतिले लाखौँ युवालाई लोभ्याएको छ ।

चरम रोजगारी समस्या भोगिरहेका नेपाली युवाका लागि दक्षिण कोरिया त्यसै सपना बनेको होइन । कम लागतमा आकर्षक कमाइ हुने भएकाले लाखौँ युवा कोरिया जान चाहन्छन् । कोरिया पुग्न जस्तोसुकै मूल्य चुकाउन तयार छन् ।

कोरियामा रोजगारीका लागि इपीएस प्रणाली लागु भएपछि सयौँ युवा कोरिया पुगिसकेका छन् । कोरिया पुगेका सबै युवाले आकर्षक कमाइ गरेका छन्, गरिरहेका छन् । पाँच वर्षकै अवधिमा उनीको आर्थिक अवस्थामा कायापलट भएको छ । त्यो प्रगति सँगैका साथीले देखेका छन् ।

तर, कोरिया सपना साकार पार्न पनि सजिलो त कहाँ हुन्थ्यो र ? भाषा सिक्नै पर्‍यो । भाषा सिकेर, जानेर मात्र नहुने । परीक्षामा उत्तीर्ण हुनै पर्‍यो । भाषा परीक्षा पास गरेर मात्र नहुने, रोजगारदाताले बोलाउनै पर्‍यो । स्वथोक पूरा गरेर पनि धेरै युवा त जानै पाएका छैनन् । तर, पनि लाखौँ युवा ‘कोरिया सपना’ पालेर बसेका छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएका सयौँ युवा त कोरिया जानै पनि पाएनन् । कोरियाको दुःख आफ्नै ठाउँमा छ । तर, जो जान पाए उनीहरूले जिन्दगी बनाए । कोरिया पुगेकाहरूको जिन्दगीमा आएको परिवर्तन देखेका लाखौँ युवालाई यस्तै लागिरहेको छ । त्यसैले, कोरिया सपनाले पछ्याइरहन्छ । त्यसैले त जसरी पनि कोरिया जान चाहन्छन् ।

कोरिया सपनाले लाखौँ युवालाई धपेटिरहेको छ । दलालहरूले युवाको अधिक कोरिया चाहना बुझेका छन् । र, युवाको सोही मर्ममा प्रहार गरिरहेका छन् । उनै दलालहरूले युवाहरूको सपना चकनाचुर पारिरहेका छन् ।

इपीएसमार्फत युवा कोरिया गइरहेकै बेला केही दलालले कोरियाबाट सिजनल भिसा (मौसमी कामदार)को बाटो खुलाए । सुरुवाती चरणमा लाखौँ रकम लिएर केही युवालाई ६ महिनाका लागि कोरिया पठाए । त्यसपछि युवाको सपना सिजनल भिसातर्फ मोडियो ।

दुई देशका स्थानीय सरकारहरूलाई मोहडा बनाएर दलालहरूले सुरु गरेको ‘सिजनल भिसा’को धन्दा लामो समयसम्म टिक्न सकेन । सरकारले नै यो प्रक्रिया रोकिदियो । त्यसयता कोरियाका लागि सिजनल भिसामा कोही नेपाली उडेका छैनन् ।

दुवैतर्फको सरकारले सिजनल भिसा त रोक्यो तर दलालहरूको धन्दा झनै मौलायो । दलालहरूले ३–५ लाख रुपैयाँसहित गाउँ–गाउँबाट प्रत्येक युवाबाट अग्रिम रकम असुलेका छन् । यसरी रकम असुलेको कम्तीमा ३ वर्ष पुगिसक्यो । तर, ती युवा कोरिया पुग्ने सम्भावना छैन ।

गाउँ–गाउँमा कोरियन दलाल

पछिल्लो तीन वर्षदेखि गाउँ–गाउँमा कोरियन दलाल पुगेका छन् । तीन महिनामा कोरिया पठाउने भन्दै गाउँका युवाबाट उनीहरूले लाखौँ रकम संकलन गरेका छन् ।

लाखौँ रकम बुझाएर बसेका युवालाई दलालहरू हरेक आश्वासन देखाएर थुमभुमाइ रहेका छन् । ‘उड्ने बेला हुनै लाग्यो, झोला तयार पार्नु’ भन्दै उनीहरूबाट थप रकम असुलिरहेका छन् । युवा पनि कोरिया पुग्ने सपनाले पैसा थपिरहेका छन् । तर, उनीहरूको कोरिया यात्रा सुनिश्चित छैन ।

गाउँ पुगेका दलालहरू ‘कोरिया पुगेर ६ महिना काम गर्ने हो । त्यसपछि नेपाल फर्कने होइन, उतै लुकेर जिन्दगी बनाउने हो । लुक्ने व्यवस्था हामी मिलाउँछौँ, ढुक्क हुनु’ भन्दै युवाबाट पैसा असुली रहेका छन् ।

एक अध्ययन रिपोर्ट अनुसार पछिल्लो तीन वर्षमा लगभग १० हजार युवासँग दलालहरूले कोरिया सपना बेचेर रकम असुलेका छन् । युवाबाट करोडौँ रकम उठाएर दलालहरू आनन्दले बसेका छन् ।

युवा अलमलाउन अनेक फन्डा

हजारौँ युवाको पैसा कुम्ल्याएका दलालहरू अनेक फन्डा लिएर गाउँ पुग्छन् । सिजनल भिसाको आश्वासनको पैसा असुलेका दलालहरूले पछिल्लो समय ‘सीप बिल्डिङ’ अर्थात् पानी जहाज निर्माणका लागि पठाउने स्किम फ्याले ।

दलालहरूले सीप बिल्डिङको फन्डा चलाएको पनि वर्ष पुगिसक्यो । तर, अहिलेसम्म यो क्षेत्रमा एक जना कामदार पनि पठाउन सकेका छैनन् ।

सीप बिल्डिङको फन्डा काम नलागेपछि सीपयुक्त कामदार लैजाने भन्दै युवालाई जिल्ला जिल्लामा ‘वल्डिङ’को तालिम गराए । स्थानीय दलालहरूले वल्डिङको तालिमको नाममा पनि प्रत्येक युवाबाट कम्तीमा एक–एक लाख असुलेका छन् । तर, यो कामका लागि पनि एक जना युवा कोरिया पुगेका छैनन् ।

त्यसपछि इ–सेभेन भिसाको फन्डा

मौसमी कामदार, सीप बिल्डिङ र वलल्डिङको फन्डा कामयाबी नभएपछि दलालहरूले ‘इ–सेभेन भिसा’को फन्डा चलाएका थिए । यसलाई प्रोफेसनल भिसा मानिन्छ ।

दलालहरूले पछिल्लो समय युवालाई इ–सेभेन भिसामा कोरिया पठाउने भन्दै रकम असुली गरिरहेका छन् । ‘इ–सेभेन भिसा झरेको छ । अब यसमा जाने हो । यो भिसामा गयो भने चाहे जति समय बस्न मिल्छ’ भन्दै ठगीको राज चलाइरहेका छन् ।

सामान्य तालिम लिएका व्यक्तिहरूलाई इ–सेभेन भिसाको प्रलोभनमा पारेर दलालहरूले कम्तीमा १५ लाख रुपैयाँसम्मको डिल गरेका छन् । यो भिसामा कोरिया जान तयार युवाले कम्तीमा ७ लाख रुपैयाँका दलले रकम बुझाइसकेका छन् ।

दलालहरूले आकर्षक रुपमा चलाइरहेको इ–सेभेन भिसा फन्डामा जो कोही कामदार जानै पाउँदैनन् । त्यसमा पनि दुई देशबिचको सरकारबिच सम्झौता भएर इपीएस माध्यमबाट कामदार पठाइरहेको नेपालले यो भिसामा थप कामदार पठाउने कुनै सहमति वा सम्झौता भएको छैन ।

सीआइबीमा उजुरीको तयारी

रकम बुझाएको ३ वर्ष बितिसक्दा पनि दलाले कोरिया नपठाएपछि पीडित युवाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उजुरी दिने तयारी गरेका छन् ।

उजुरी नै नपरे पनि प्रहरीले यस विषयलाई गम्भीरतापूर्वक हेरिरहेको छ । प्रहरी स्रोतका अनुसार ठूलो संख्यामा युवा ठगिएको गुनासोहरूको आधारमा प्रहरी आफैले आन्तरिक रुपमा आफ्नो संरचनाहरूमार्फत अनुसन्धान सुरु गरिसकेको छ ।

प्रहरीले ‘कोरिया सिजनल भिसा’को विषयलाई नक्कली भुटानी शरणार्थी काण्ड जस्तै ठूलो मानव तस्करी र अपराधको रुपमा लिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

उनले भने– ‘कोरिया पठाउने नाममा भइरहेको ठगी सामान्य देखिएको छैन । प्रकृति फरक भए पनि यो प्रकरण नक्कली शरणार्थी प्रकरणभन्दा ठूलो तस्करीको खेलो देखिएको छ । हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ ।’

प्रहरी आफैले पनि अनुसन्धान गरिरहेको विषय भएकाले सीआइबीले उजुरी पर्नसाथ कारबाही थाल्ने अवस्था बुझिएको छ ।

(नोट– ‘कोरिया सिजनल भिसाको नाममा ठगी धन्दा–२’ मा यो धन्दामा संलग्नहरूको विशेष खुलासा गरिने छ ।)

प्रतिक्रिया दिनुहोस्