लेटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबारे सडकको शिलान्यास गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार पूर्वाधार विकास कार्यालयद्वारा लेटाङमा आयोजित कार्यक्रममा २९.६० लम्बाइको लेटाङ ६ नं सडक शिलान्यास गरेका हुन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए ।

उनले भने, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन श्रोतलाई किसानसम्म पु¥याउनका लागि महत्त्वपूर्ण हुन्छ ।’
अब अन्य आयोजनाको छनौट गरेर आवस्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टी सहित योजना छनौट हुने बताए । कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निमार्णको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए ।
उक्त सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताए ।
भौतिक पूर्वाधार विकाश मन्त्रालय कोशी प्रदेशका सचिव रमेशकुमार सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।














