Logo
Logo

प्रज्ञामा गुञ्जियो ‘सीमारहित भाषाहरु’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ फागुन । यो साता नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर र पे्रक्षालय मातृभाषा कवितामय बन्यो । जहाँ देशका मात्र नभएर अन्तर्राष्ट्रिय मातृभाषका कविता र सिर्जनाहरु गुञ्जिए ।

प्रशंग ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०७६’को हो । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित उक्त महोत्सवमा ५३ भाषाका १५६ कविताहरुमध्ये ६४ ओटा वाचन गरिएका थिए । मातृभाषाका कविता र सिर्जना वाचन गर्न प्रज्ञा परिसर पुगेका सर्जकहरुलाई जातीय भेषभूषा र गरगहनामा सजिएका कलाकारले स्वागत गरेका थिए ।

उक्त महोत्सवमा प्रमुख अतिथि बनेका थिए, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । उनले महोत्सवलाई सम्बोधन गर्दै नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको सम्पत्ति भएको बताए । नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै उनले भने, ‘समानता र सद्भावलाई हामीले व्यवहारमा लागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यही कुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताए । उनले देशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गरेका थिए भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रुपमा रहेको उल्लेख गरे ।

यस्तै, भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेष ध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा व्यक्त गरेका थिए ।

महोत्सवमा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रय मातृभाषा दिवस बंगाली भाषाका निम्ति सन् १९५२ मा भएको स्पष्ट पार्दै भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बंगलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको जनाए । उनले भाषा नै देश र जातिको पहिचान भएको बताउँदै भाषाको कुनै सिमाना नहुने आफ्नो धारणा सुनाए । भाषाले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने उनको भनाइ थियो ।

बंगलादेशकै प्रस्तावमा युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा २१ फ्रेबु्रअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसकारुपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघले समेत सन् २००० मा उक्त दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउन आव्हान गरेपछि विश्वभर २१ फ्रेबु्रअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानका निम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दैआएको बताए । प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) प्रमुख एवं कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि उत्साहजनक महोत्सवमा कविता सहभागी भएको बताइन् ।

महोत्सवको आरम्भ आफ्नो वाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले गरेका थिए । कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरुले आआफ्ना कविता वाचन गरेका थिए । महोत्सवमा अतिथि कविका रुपमा भारतको असमबाट आएकी असमिया भाषी कवि रुमी लस्कर बोराले असमिया भाषाको कविता वाचन गरेकी थिइन् । युनेस्कोले यस वर्ष ‘सीमारहित भाषाहरु’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्