Logo
Logo

अख्तियारको दबाबमा अवैध सामान बरामद



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शोभाकान्त पौडेललाई भन्सार विभागको महानिर्देशक बनाएर पठाएलगत्तै भन्सार जाँचपास गरेर बाहिरिएको ब्रेकसुमा ६१ किलो सुन फेला प¥यो । उक्त सुन भन्सार जाँच पास गरी बाहिरिएपछि राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कर्मचारीहरुको सेटिङमा सुन भित्रने क्रम जारी छ ।

महानिर्देशक शोभाकान्त पौडेल

त्यसैगरी वीरगञ्ज सुक्खा बन्दरगाहमा ३८० कन्टेनरमा अवैध सामान फेला परेको छ । वीरगञ्ज सुक्खा बन्दरगाहको यार्ड र गोदाममा भन्सार विभागले अप्रेशन गरेर ती सामान बरामद भएको बताए पनि दृष्टिलाई प्राप्त जानकारीअनुसार उक्त सामान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष पहलमा पक्राउ परेको हो । यस विषयमा दृष्टिले गत अंकमा ‘अख्तियारको निगरानीमा भन्सारका डिजी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार स्रोतका अनुसार भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङमा वीरगञ्ज सुक्खा बन्दरगाहमा अवैध सामान आएको उजुरी अख्तियारमा परेपछि अख्तियारले ती सामान जफत गर्न भन्सारलाई निर्देशन दिएको थियो । अख्तियारले निर्देशन दिएको कुरा बाहिरिएपछि ती सामान आयात गर्नेहरुलाई सूचना दिएर भन्सारका कर्मचारीहरुले भगाएका छन् । यदि, अख्तियारले निर्देशन नदिएको भए ती सामान सजिलै भन्सारबाट पास हुने थियो ।

भन्सारका कर्मचारीहरुसँग सेटिङ गरेर वर्षौँदेखि तस्करहरुले भारतमा तस्करी गर्ने उद्देश्यले विदेशी मदिरा, ठूला परिमाणमा सुपारी, पोस्तादाना, छोकडा, केराउलगायतका सामान आयात गरेका थिए । अख्तियारको बुझाईमा भन्सारका कर्मचारीसँगको सेटिङबिना करोडौं मूल्य पर्ने सामानहरु भित्र्याउने सम्भावना छैन ।

यो प्रकरणमा अख्तियारले महानिर्देशक पौडेललाई निगरानीमा राखेको छ । पौडेल यस अगाडि आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय, अर्थ मन्त्रालयमा कार्यरत भएकोले तस्करहरुसँग उनको सम्बन्ध भएको आशंका गरिएको छ ।

सर्च अभियानको नेतृत्व विभागका शाखा अधिकृत मधु खनालले गरेका छन् । हालसम्म १८३ कन्टेनरको चेकजाँच सम्पन्न भइसकेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिबन्धित र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराउ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल, जनावरका सिङलगायत फेला परेको छ ।

चेकजाँच गरिएका अधिकांश कन्टेनरमा अवैध रूपमा भित्र्याइएका मालवस्तु फेला परेका छन् । विगतदेखि नै तस्करहरूले बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनी भन्सारबाट छुटाउने गरेका छन् ।

भन्सारको सेटिङमा देशैभरि तस्करी मौलाउन थालेकोले प्रधानमन्त्री कार्यालयले राजस्व अनुसन्धान विभागलाई देशैभरि विशेष अभियान थाल्न निर्देशन दिएको बुझिएको छ । भन्सारका कर्मचारीहरुसँगको सेटिङमा तस्करी मौलाउन थालेपछि त्यसको असर राजस्वमा परेको छ ।

अर्थमन्त्री डा. महतले राजस्व बढाउन जतिसुकै प्रयास गरे पनि भन्सारबाटै तस्करी मौलाउन थालेपछि कहाँको राजस्व उठ्छ ? भन्सारबाट यति ठूलो परिमाणमा तस्करीको सामान भित्रिदा पनि अर्थमन्त्री महत मौन बसेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन पटक–पटक अर्थसचिव परिवर्तन गरेका अर्थमन्त्री महतले भन्सार महानिर्देशक पौडेललाई भने रहस्यमय तरिकाले काखी च्यापेका छन् ।

प्रतिक्रिया दिनुहोस्