
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएका हुन् ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । ईपीएस कोरिया शाखाले सिप बिल्डिङ परीक्षामा अनुर्तीण भएका १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।
सिप बिल्डिङमा परीक्षा दिएकाहरुले उत्पादन क्षेत्रको कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भएपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।
तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य युवाहरू आक्रोशित भएका हुन् ।














