काठमाडौं : उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । तर्कबहादुर पलसमेतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले शुक्रबार यस्तो आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
‘..यी निवेदकहरुलाई आवेदन फारम भर्नबाट बंचित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ अदालतको आदेशमा भनिएको छ।
अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले परीक्षाका लागि आवेदन दिन पाउनेछन् । यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरुले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो।
त्यसका विरुद्धमा सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए । अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आधारमा १८ जनाले शुक्रबार आवेदन फारम भरेका थिए ।
अरूले फारम भर्न नपाएपछि आन्दोलनमा उत्रिँदा ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्र दिनभर तनावग्रस्त भयो । प्रहरीसँगको झडपमा परी दुई युवाले ज्यान गुमाएका छन्।














