Logo
Logo
बालकुमारी घटना

मृतकका परिवारलाई १०-१० लाख दिइने, घाइतेको उपचार सरकारले गर्ने



काठमाडौं । मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई दस/दस लाख रूपैयाँ दिने र घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय भएको छ । उनका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।

घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने भन्ने पनि निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको मन्त्री शर्माले जानकारी दिए ।

बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाले घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गरेको छ ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले बिहान गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र अन्य अधिकारीहरूसँग छलफल गरेका थिए ।

शनिबार बिहानकै बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्