
काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ साधारणसभा सम्पन्न भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारी–व्यवसायीले संचालन गर्दै आएको तरकारी फलपूmल सहकारीले साधारणसभामार्फत १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
२१ माघ २०५६ मा ३० जना सेयर सदस्यहरूले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु गरेको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । ६ करोड ९५ लाख पाँच हजार तीन सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीमा हाल ४४ करोड ६५ लाख लाख ३२ हजार तीन सय ३४ रुपैयाँ सेयर सदस्य बचत रकम रहेको छ ।
संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९–०८० को अन्त्यसम्मा सो सहकारीले ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, सोही अवधिमा तीन करोड ५४ लाख ६ हजार दुई सय ५४ रुपैयाँ सञ्चालन मुनाफा छ भने १० करोड, ९३ लाख, ३४ हजार दुई सय ५९ रुपैयाँ जगेडा तथा अन्य कोषमा छुट्याइएको छ । सो संस्थाको ६६ करोड, ११ लाख, ९२ हजार, तीन सय ५७ रुपैयाँको वासलात देखिन्छ ।
तरकारी फलपूmल साकोसले प्रत्येक सदस्यको जीवनसँग सहकारीलाई प्रत्यक्ष जोड्ने उद्देश्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सचिव हरिकृष्ण धेकेले बताए । उनका अनुसार नवजातलाई लक्षित गरी बाल शैक्षिक बचत योजना, बालबालिकालाई लक्षित गरी खुत्रुके बचत योजना संचालित छ ।
यस्तै, सुत्केरी भत्ता, जेष्ठ सदस्य र एकल महिला भत्ता वितरण, अपांगता भएकाहरू बालबालिकालाई लक्षित गरी छात्रवृत्ति योजना सञ्चालनमा छ भने सदस्यलाई दुर्घटना बिमा, प्राणघातक रोगको उपचार खर्च दिँदै आएको छ ।
बालबालिकाको मानसिक, शारीरिक र सामाजिक विकासका निम्ति प्रत्येक वर्ष सिर्जनशील कार्यक्रमहरू समावेश गरी रमाइलो वनभोज कार्यक्रम चलाउँदै आएको तथा जेष्ठ सदस्य र एकल महिलाहरूलाई सम्मान गर्दै आएको संचालक समिति सदस्य राजन पराजुलीले जानकारी दिए । उनका अनुसार सेयर सदस्यका छोराछोरीमध्ये एसइई परीक्षणमा उत्कृष्ट अंक ल्याउनेहरूलाई प्रत्येक वर्ष एसइई अवार्ड वितरण गर्ने गरिएको छ । २४औँ साधारणसभामा पनि २२ जना बालबालिकालाई एसईई अवार्ड वितरण गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिइन् ।
प्रतिनिधिसभाकी उपाध्यक्ष इन्दिरा रानाले साधारणसभाको उद्घाटन गरेकी थिइन् ।














