काठमाडौं । नेकपा एमाले अध्यक्ष केशी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच जुहारी चलेको छ । आज (सोमबार) कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ कार्यक्रममा ओली र शर्माबीच जुहारी चलेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले ठूलाठूला सपना बाँड्ने नेताहरूले जनताको सानसाना काम नगरेको बताएका थिए । उनले ओलीलाई लक्षित गर्दै जनताको घरघरमा पानीको धारा नआउँदै हिन्द महासागरमा पानीजहाजमाथि झन्डा फहराउने सपना राखेको बताएका थिए ।
उनले भनेको थिए- ‘हामीले स्विट्जरल्यान्ड बनाउने सपना राख्यौँ । सिंगापुर बनाउने सपना राख्यौँ । गाउँमा सबैको घरमा पानीको धारा आइसकेको थिएन, हिन्द महासागरमा पानीजहाजमाथि झन्डा फहराउने सपना राख्यौँ । भूकम्प आउँदै गर्दा मान्छे नमरोस् भनेर बलियो घर बनाउने सपना हामीले कार्यान्वयन गर्न सकेनौँ । अग्ला अग्ला टावरहरू खडा गर्न लाग्यौँ ।’
त्यसपछि सम्बोधन गरेका ओलीले कांग्रेस महामन्त्री शर्माले आफूलाई ‘भाटे कारबाही’ गरेको गुनासो गरे ।
ओलीले भने- ‘विश्वप्रकाश जीले मेलमिलाप दिवसमा आउनेबित्तिकै भाटे कारबाही गर्नुभयो । अग्लो घर किन बनाइस् ? कलकत्ता जान गङ्गाको बाटो किन बनाइस् ? ट्रक कुदाउनु पर्ने ठाउँमा अमलेखगञ्जमा पाइपलाइन किन ल्याइस् ? बयलगाढा चलाइरहेको हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो आठ लाख साढे आठ लाख किन पुननिर्मित घरहरू त्यति छोटो अवधिमा बनाएर ती पीडितहरूलाई किन हस्तान्तरण गरिस् ? ठूला कुरा गर्ने उहाँले आफ्नो प्रचलित शैली लल्कार्नु भयो ।’














