Logo
Logo

मेलमिलाप दिवस मनाउने कांग्रेसमा सँधै बेमेल 


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ । 

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद (वीपी) कोइराला लगायतका नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ । कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाएको छ । 

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो ।  २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरू जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

तर, २०३३ साल पुस १६ गते राजासँग नै मिल्नुपर्छ भन्दै उनी स्वदेश फर्किए । अहिले गणतन्त्र स्थापनाको डेढ दशक बढी भइसक्दा पनि कांग्रेसले राजासँग मिल्नुपर्छ भन्ने वीपीको नीतिलाई नै आदर्श मानेर हरेक वर्ष पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ । 

यद्यपि मेलमिलाप दिवस मनाउँदै गर्दा कांग्रेसभित्रको आन्तरिक मिलाप भने देखिँदैन । पार्टीमा संस्थापन पक्ष र इतर पक्ष बनेर गुट मात्र चलाइरहेका छैनन्, लाभको पदमा बिलो छुट्याउने गरेका छन् ।

कांग्रेसमा संस्थापन पक्ष र इतर पक्ष भन्ने गुट उपगुट मात्र छैन, युवाहरूको अर्को जमात जबर्जस्त पार्टी नेतृत्व हत्याउने प्रयासमा छ । त्यो प्रयासमा महामन्त्री गगन थापा  छन् । तर उनी पार्टीका पाका नेताहरूको घेरा तोड्न सकिरहेका छैनन् । 

त्यसैले पार्टीकै कार्यक्रममा आक्रोश मात्र पोखिरहेका हुन्छन् । सत्तामा रहेर बदनामी कमाउनेदेखि भ्रष्टाचारीको ताँती पनि कांग्रेसमा छ । पार्टीभित्रका अनैतिक नेताहरूकै हालीमुहाली छ, जसलाई कांग्रेस नेताहरूले चिर्न सकिरहेका छैनन् । वीपीलाई आदर्श मान्ने नेपाली कांग्रेसका कतिपय नेताहरू पार्टी रूपान्तरणको आवाज भने बेलाबेला ओकलिरहन्छन् । 

दशकौंदेखि राष्ट्रिय मेलमिलाप दिवस भनेर मनाउँदै आएको कांग्रेसभित्रैको आन्तरिक मेलमिलाप भने कहिलै देखिँदैन । ८ लाख बढी क्रियाशील सदस्य रहेको दाबी गर्दै आएको कांग्रेसभित्रै पार्टी एकता नहुँदा अन्य दलहरुसँग गठबन्धन कायम गर्दै चुनावमा जानुपर्ने अवस्था छ ।

कांग्रेसबाट छुटिएर केहीले नेपाली कांग्रेस (वीपी) पार्टी नै खेलेका छन् । यसको नेतृत्व अध्यक्ष हरिबोल भट्टराईले गरिरहेका छन् । कांग्रेस वीपीले आज पनि (सोमबार) छुट्टै मेलमिलाप दिवस पनि मनाएको छ । 

राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा पनि नेपाली कांग्रेसभित्र गुटको टकराव थियो । तर, चुनावी राजनीतिमा आएपछि २००७, २०१७ र २०४७ यता भने गुटबीच खुलेआम द्वन्द्व भए । 

नेपाली कांग्रेस स्थापनापछि अहिलेसम्म दुई पटक पार्टीमा ठूला विभाजन भएका छन् । विभाजन हुँदा ताका दुवै पटक कांग्रेस नेतृत्वको सरकार थियो । पहिलो पटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । बीपी कोइराला पार्टी सभापति । दोस्रो पटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । सभापति गिरिजाप्रसाद कोइराला थिए । 

सरकारको नेतृत्व गरेका देउवालाई २०५९ सालमा संकटकाल नथप्न पार्टीले निर्देशन दियो । त्यसबेला माओवादी द्वन्द्व चरम अवस्थामा थियो । देउवाले पार्टी निर्देशन अवज्ञा गर्दै संकटकाल लम्ब्याए । केन्द्रीय समितिमा कोइराला बहुमतमा थिए । उनले पार्टी बैठक राखेर देउवालाई कारबाही गरे । 

देउवाले ४ असार २०५९ मा बानेश्वरमा आफू पक्षीय कार्यकर्ताको भेला गरेर नयाँ पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनको घोषणा गरे । त्यतिबेला देउवालाई गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का लगायत नेताले साथ दिएका थिए। पार्टी फुटेको पाँच वर्षपछि फेरि दुवै कांग्रेसबीच एकता भयो र कोइराला नै सभापति कायम रहे ।

त्यसअघि २००९ सालमा कांग्रेसमा सबैभन्दा ठूलो फुट हुँदा पार्टी सभापति बीपी कोइराला थिए भने प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । निवर्तमान पार्टी सभापतिसमेत रहेका मातृकालाई बीपी गुटले कारबाही गरेपछि कांग्रेस विभाजनतर्फ गयो । त्यसबेला कांग्रेस एकैपटक चार चिरा भएको थियो । 

कांग्रेस स्थापनादेखि नै पार्टीमा मातृका र बीपी गुट जन्मिएका थिए । अहिले पनि कांग्रेसमा त्यसैको निरन्तरता छ । स्थापनादेखि नै गुट सुरु भएको कांग्रेसका अहिले गुट उपगुट झ्यागिँदै गएको छ । 

कांग्रेसभित्रका विभिन्न गुटले पार्टी संगठन कमजोर बन्दै गएको छ । गुटले गर्दा विभिन्न बैठकहरू विधानअनुसार बस्ने सकिरहेको हुँदैन । सरकार सञ्चालन र अरू पार्टीसँग गठबन्धन गर्दा समेत कांग्रेस दुई धारमा बाँडिने गरेको छ । 
१४औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, डा। शेखर कोइरालाले  आ–आफ्नो समूह बनाएर नेतृत्वमा भिडेका थिए ।

गुटबन्दी मौलाएर गएको निष्कर्ष पार्टीकै नेताहरूको छ । पार्टीको नयाँ विधानसमेत गुटगत चलखेलकै कारण कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्