काठमाडौं । रुस–युद्धमा स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । उनले भने, ‘मलाई आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो ।’

वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको तीन वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
रुस–युक्रेन जारी युद्धमा अर्का नेपालीको पनि मृत्यु भएको । स्याङ्जाका हरिसँगै धादिङका राजकुमार गिरीको पनि मृत्यु भएको छ ।
रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप दुई जनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ९ पुगेको छ ।
कैलालीका भरत शाहको पनि रुस–युक्रेन युद्धमा मृत्यु भएको परिवारले जनाएको छ । तर, परराष्ट्रले भने भरतको बारेमा अहिलेसम्म केही जानकारी दिएको छैन ।














